१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यावसायिक बन्दै आरन

प्रतिकोदालो २ हजार, दाउ १ हजार २ सय र हँसिया ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री
माधव अर्याल

पाल्पा — रिब्दीकोट गाउँपालिका–१ ख्याहाका राजीन्द्र कामीले यसअघि बालीघरे प्रथामा काम गर्थे । अहिले उनले आरन सुधारेर व्यवसाय विस्तार गरेका छन् । उनले व्यावसायिक बन्दै बालीघरे प्रथा छोडे । यतिबेला उनी नगदमा काम गर्छन् ।

व्यावसायिक बन्दै आरन

‘पहिला त्यस्तै चलन थियो,’ उनले भने, ‘अहिले त्यस्तो चलन पनि कम हुँदै गएको छ । त्यसैले अब बालीघरेभन्दा पनि नगदमा काम गर्न थालियो ।’ उनलाई विगतमा साबिकको जिल्ला विकास समिति र अहिले रिब्दीकोट गाउँपालिकाले सहयोग गरेकाले पेसालाई सुधार्न सहयोग भएको छ ।


सोही गाउँकै मोहनबहादुर कामी पनि बालीघरे प्रथालाई त्यागेर व्यावसायिक बनेका छन् । कृषि औजार निर्माण गर्ने परम्परागत आरन व्यवसाय उनले सुधार गरेका छन् । परम्परागत आरनमा बालीघरे प्रथा गर्नुभन्दा अहिले सुधारेर व्यावसायिक बनेको उनले बताए ।


‘परम्परागत आरनलाई पनि व्यवस्थित गरियो,’ उनले भने, ‘अहिले सुधारेर व्यावसायिक बनेका छौं ।’ परम्परागत आरन प्राय: गाउँघरमा देखिन पनि छाडेको उनले बताए । बालीघरे प्रथा धेरैले छोडदै गएका छन् ।


स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले पनि परम्परागत आरन पेसालाई व्यावसायिक बनाउन अभियान थालेका छन् । व्यावसायिक रूपमा आरन सञ्चालनमा सहज गराउनेतर्फ सहजीकरण गरेका छन् । परम्परागत पेसाको संरक्षणसँगै आम्दानी पनि हुन्छ ।


रिब्दीकोट ख्याहाकै गोपाल सुनारले गाउँपालिकाको अनुदानपछि दैनिक २ देखि ४ हजार रुपैयाँको कारोबार हुने गरेको बताए । फलामका कोदाला, हँसिया, बन्चरो, दाउलगायत कृषि औजार आरनमा बनाउने उनले बताए ।


घरबाट नै प्रतिकोदालोलाई २ हजार रुपैयाँ, दाउलाई १ हजार २ सय, हँसियालाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । ‘व्यावसायिक बनाएपछि आफैंलाई फाइदा भएको छ,’ उनले भने, ‘त्यसैले अब बालीघरे छाडेर व्यावसायिक बनेका छौं ।’


उनले गाउँपालिकाबाट पाएको अनुदानबाट आरनका केही सामान खरिद गरेका छन् । ५० केजी फलाम किनेको उनले बताए । आरन व्यवसायबाट ५ जनाको परिवारका लागि खर्च जुटाएका छन् । पुख्र्यौली पेसाका रूपमा रहेको कृषि औजार निर्माण गर्न युवा पुस्ताको आकर्षण छैन ।


त्यसैले आरन पेसा संकटमा पर्दै गएको छ । वडा कार्यालय र गाउँपालिकाले आरन पेसा सुधारका लागि गरेको सहयोगप्रति उनीहरू खुसी छन् । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने कृषि औजार प्रयोगमा उत्साह थपेको जनाएको छ ।


कृषकलाई सेवा र आरन सञ्चालनलाई स्वरोजगार/रोजगारकारको वातावरण बनाएको वडाध्यक्ष विष्णु गैरेले बताए । स्थानीय तहबाट आरन पेसा सुधारका लागि तालिमसमेत दिइएको छ । केही अनुदानको समेत व्यवस्था गरेपछि पुख्र्यौली पेसाका रूपमा रहेको कृषि औजार निर्माण गर्न युवाको आकर्षण बढेको उनले बताए ।


अनुदानपछि आधुनिक प्रकृतिका सामान ल्याएर छिटोछरितो काम गर्छन् । ‘आम्दानी पनि बढेको छ,’ उनले भने, ‘पहिला र अहिलेमा धेरै परिवर्तन आएको छ ।’ बालीघरे प्रथामा अझै पनि काम गर्दै आएकालाई व्यावसायिक बनाउने योजना रहेको गाउँपालिका प्रमुख नारायणबहादुर जीसीले बताए ।


उनका अनुसार आरन सञ्चालनमार्फत आय आर्जनमा सहज हुने देखिएको छ । कारोबार नगदमा हुने अपेक्षा रहेको उनले बताए । ‘परम्परागत आरन पेसालाई व्यावसायिक रूपमा बदल्ने योजना हो,’ उनले भने, ‘कृषकले गाउँमै कृषि औजारको सेवा पाउने भएकाले सहज पनि हुने भयो ।’


परम्परागत ज्ञान, सीप, क्षमतालाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन तालिम र ५० प्रतिशत अनुदानमा आरन सुधार गरिएको छ । गाउँपालिकाले २७ जना युवालाई तालिम दिएको छ । उनीहरूलाई अनुदान प्रदान गरेपछि आरन पेसालाई व्यावसायिक बनाएका हुन् ।


पुरानो प्रविधिको जगेर्ना गरी स्थानीय युवालाई आय आर्जनको माध्यम बनाउन खोजेको प्रमुख प्रशासकीय अधिकृत अनील पौडेलले बताए । ‘अन्नबालीमा काम गर्दा घरघरमा जानुपर्ने बाध्यता हटाएर व्यावसायिक बनाउने योजना हो,’ उनले भने, ‘अनुदानपछि व्यावसायिक बनाउँदै, नगदमा कारोबार गर्दा श्रमको उचित किसिमले सम्मान हुनेछ ।’


८ हजार ६ सय देखि १५ हजारसम्मलाई सहयोग दिएको उनले बताए । जिल्लाको यम्घा, हुमिन, छहरा, फेक, पालुङमैनादी, कचल, भुवनपोखरी, सोमादी, सिद्धेश्वर, ख्याहा, देउराली, ताँहु, वीरकोट, बगनासलगायत स्थानमा आरन पेसाबाट गुजारा गर्ने धेरै छन् । तर, यो उनीहरूको आकर्षणको पेसा बन्न सकेको छैन ।

प्रकाशित : पुस ३, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?