डेढ दशकपछि कालोपत्रे सुरु

नेपालगन्ज र बर्दिया — वर्षौंपछि बाँके र बर्दियास्थित हुलाकी राजमार्ग कालोपत्रे गर्न थालिएको छ । यी जिल्लाको मेरुदण्डका रूपमा रहेको यो मार्ग कालोपत्रे सुरु भएपछि स्थानीय खुसी छन् । डेढ दशकदेखि अलपत्र नेपालगन्ज–बघौडा हुलाकी सडक खण्ड कालोपत्रे सुरु भएको हो । 

राजमार्ग निर्माणले पूर्णता पाए जिल्लाको विकट मानिने बघौडा क्षेत्र सुगम बन्नेछ । सडक निर्माणको अभावमा सवारी साधन नचल्दा त्यस क्षेत्रका सर्वसाधारणलाई नेपालगन्ज आउजाउ गर्न दुई दिन लाग्छ । पछिल्लोपल्ट गणपति कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको छ । उसले यही वर्षमै सडक निर्माणको काम पूरा हुने बताएको छ ।

पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माणको काम पप्पु/लुम्बिनी जेभीले पाएका छन् । पप्पुले गणपति प्रालिलाई जिम्मा दिएको हो । गणपति कन्स्ट्रक्सन प्रालिका निर्देशक तुलसीराम भण्डारीले नेपालगन्जको पुरैनीबाट बघौडासम्म कालोपत्रेको काम सुरु गरिएको बताए ।

उनले सडक निर्माण र कालोपत्रेको कामलाई तीव्रता दिएको दाबी गरे । ‘यही वर्षमै निर्माणको काम सक्ने लक्ष्य छ । त्यसैले निर्माणको कामलाई तीव्रता दिएका हौं,’ उनले कान्तिपुरसँग भने, ‘कुनै अवरोध नभए भनिएकै समयमा काम सक्छौं ।’

नेपालगन्जको पुष्पलाल चोकदेखि नरैनापुरसम्मको साढे ४४ किलोमिटर सडक कालोपत्रे गरिनेछ । हुलाकी सडक ११ मिटर चौडाइ र ५.५० मिटर कालोपत्रे गरिनेछ । उक्त राजमार्गले राप्तीपारिका लाखौं सर्वसाधारणलाई नेपालगन्जसँग जोडनेछ । बाँकेमा हुलाकी राजमार्गका लागि ६६ करोड बजेट खर्च हुने अनुमान छ ।

हुलाकी राजमार्गको कामलाई तीव्रता दिइरहेको गणपति प्रालिले भने सरकारले गत जेठदेखि रकम निकासा नगरेको जनाएको छ । निर्देशक भण्डारीले सरकारले दिनुपर्ने बजेट निकासा नगर्दा समस्या भएको गुनासो गरे । ‘सरकारबाट पाउनुपर्ने रकम अझै पाएका छैनौं । त्यसले हामीलाई समस्या बनाएको छ,’ उनले भने, ‘समयमै बजेट निकासा भइदिए केही सहज हुने थियो ।’

ठेक्का लिने तर काम नगर्ने भन्दै बदनाम पप्पु कन्स्ट्रक्सनले तिर्नुपर्ने रकम सरकारले बाँकेको हुलाकी राजमार्ग आयोजनाबाट असुली गर्न खोजेपछि निर्माण कम्पनीले रकम नपाएको हो । पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माणको काम पप्पु/लुम्बिनी जेभीले पाएको हो । त्यसमध्ये नेपालगन्जको पुष्पलाल चोकदेखि नरैनापुरसम्मको साढे ४४ किलोमिटर सडक निर्माणको काम गणपतिले पाएको छ ।

पप्पु/लुम्बिनी जेभीले जनकपुरस्थित कमला नदीमा पुल निर्माण गर्ने क्रममा सरकारलाई ३ करोड रुपैयाँ तिर्नुपर्ने छ । उक्त रकम असुलीका लागि सरकारी निर्णयले बाँकेमा गति पाएको हुलाकी सडकमा असर परेको हो ।

पप्पुभन्दा अघि हुलाकी राजमार्गको काम भारतीय कम्पनी राइट्स लिमिटेड परामर्श तथा जीभीआर इन्फ्रा प्रोजेक्ट चेन्नईले पाएको थियो । उसले निर्माण गरेको राजमार्गअन्तर्गतको राप्ती पुल–फत्तेपुर सामुदायिक वनसम्मको करिब २ किलोमिटर सडक भत्किएको छ । उक्त कम्पनीले निर्माणको काममा ढिलाइ गरेपछि राजमार्ग निर्माणका लागि सरकार आफैं अग्रसर भएको हो ।

हुलाकी सडकले त्यस क्षेत्रको विकासको ढोका खोल्ने लक्ष्य छ । सडक नभएकै कारण बघौडा क्षेत्रमा राज्यको उपस्थिति कम देखिने गरेको छ । स्थानीय सीमावर्ती भारतीय बजारमा निर्भर छन् । सडक, यातायातको भरपर्दो साधन नहुँदा स्थानीय भारतीय भूमि भएर नेपालगन्ज आउजाउ गदै आएका छन् ।

त्यस्तै हुलाकी सडकमा पर्ने मटेहिया, नहरपुरवामा मुआब्जा विवाद कायमै छ । विभिन्न स्थानमा बिजुलीका पोल सार्नुपर्ने छ । स्थानीय प्रशासनले भने मुआब्जा विवाद छिट्टै समाधान हुने प्रतिबद्धता जनाएको छ ।

बर्दियाअन्तर्गत गुलरिया–भुरीगाउँ र राजापुर जोड्ने हुलाकी सडक ग्राबेल भएको ३ दशकपछि कालोपत्रे सुरु भएको छ । अहिले गुलरियादेखि बेलवा चोक जोड्ने सडकमा काम भइरहेको छ । मधुवन नगरपालिकाका–८ मा रहेको चोक हुँदै कालोपत्रे सुरु गरिएको हो ।

जिल्लाको दक्षिणी भेगको लाइफ लाइन मानिएको हुलाकी सडक कालोपत्रेको काम सुरु भएपछि ३ दशकपछि यस क्षेत्रमा विकासको आशा पलाएको मधुवन नगरपालिकाका मेयर गणेश केसीले बताए । दैनिक करिब १ किमि कालोपत्रे निर्माण भइरहेको छ ।

मधुवन–८ देखि गुलरियाको खैरापुरस्थित शिव मन्दिरसम्म पुस १५ गतेसम्म कालोपत्रे निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार कम्पनी गणपति निर्माण सेवाका निर्देशक भण्डारीको दाबी छ । गिट्टीको अभावले काम अघि बढ्ने अवस्था नरहेकाले १० किमिसम्म कालोपत्रे गर्ने काम भइरहेको उनले सुनाए ।

ठेकेदार कम्पनीले बेलवा चोकदेखि मूर्तिहा सीमासम्म करिब १८ किमि सडक निर्माण गरी कालोपत्रे गर्ने सम्झौता भएको हो । ग्रामीण क्षेत्रमा ७ किमि चौडा कालोपत्रे बन्नेछ । सहरी क्षेत्रमा भने ११ मिटर चौडा कालोपत्रे निर्माण हुनेछ ।

१८ किमि हुलाकी सडक २५ करोड ३१ लाख ८५ हजार (भ्याटबाहेक) रुपैयाँमा निर्माण भइरहेको छ । ३ प्याकेजअन्तर्गत भुरीगाउँ–बेलवासम्म राजेन्द्र जेभीले २८ करोड ३१ लाख १५ हजार रुपैयाँमा करिब १७ किमि सडक निर्माणको ठेक्का लिएको छ । बेलवा राजापुरसम्म करिब २२ किमि सडक आशिष जेभीले २६ करोड ६२ लाखमा काम गर्दै आएको छ । हालसम्म ८० प्रतिशत भौतिक संरचना निर्माण भएको हुलाकी आयोजनाले जनाएको छ ।

०७३ असार महिनाबाट सुरु भएको उक्त हुलाकी सडक ०७६ असार २२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । राजापुर र भुरीगाउँ सडक खण्डमा कालोपत्रेको काम माघबाट हुने भएको छ ।

सडकमा बेस नबनेकाले कालोपत्रे बिछ्याउन नहुने भएको छ । ती दुवै सडक खण्डमा पुस मसान्तमा काम सम्पन्न भई माघबाट कालोपत्रे बिछ्याउने काम सुरु हुने हुलाकी आयोजनाका प्रमुख कृष्णकान्त ओझाले बताए ।

प्रकाशित : पुस ३, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?