कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हुलाकी सडकमा काम सुस्त

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै स्थानीय र सरोकारवालाले चासो व्यक्त गरेका छन् । धूलो र खाडलका कारण दिनहुँ सवारी साधन पल्टिने र चिप्लिने भइरहेका छन् । 

हुलाकी सडकमा काम सुस्त

तराईको लाइफ लाइनका रूपमा परिचित यो सडक अहिलेसम्म ७५ प्रतिशतभन्दा बढी सम्पन्न भइसक्नुपर्ने थियो । निर्माण सामग्री लामो समयसम्म अव्यस्थित रूपमा राख्दा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।


सदरमुकाम परासीदेखि पूर्व गोपीगन्जको नारायण चोकसम्मको १३ किलोमिटर सडक निर्माण ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै समय–समयमा काम रोक्दै आएको छ ।


केही समयअगाडि नदीजन्य पदार्थको अभाव भएको कारण देखाउँदै सडक निर्माण कार्य बन्द गरेपछि जिल्ला समन्वय समितिको पहलमा आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराइएको छ ।


ठेकेदारको मागबमोजिम बुटवलस्थित डिभिजन सडक कार्यालयले जिल्ला समन्वय समिति पश्चिम नवलपरासीलाई सो बराबरको नदीजन्य पदार्थको प्रबन्ध मिलाइदिन पत्राचार गरेपछि अहिले सामान स्टक राखेर काम सुरु भइरहेको सडक डिभिजन कार्यालय बुटवलका प्राविधिक विमल गौतमले बताए । ‘कल्भर्टहरू निर्माण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘विभिन्न बहाना बनाएर ३ महिना काम रोकेको भए पनि अहिले सुरु भएको छ ।’


केही स्थानमा फराकिलो पारेर कल्भर्ट राख्ने तथा खाल्टाखुल्टी पुर्ने काम भए पनि सवारी हिँडडुल गर्दा धूलो उडेर स्थानीयको घरमा पस्दा कपडा, खाना र श्वासप्रश्वासमा समेत समस्या भएको स्थानीयको गुनासो छ । विद्यार्थीलाई विद्यालय जानसमेत असहज हुने गरेको छ । धूलोले कपडा नै धूलाम्य बनाउन थालेपछि वैकल्पिक बाटोबाट ओहोरदोहोर गर्नुपरेको स्थानीयको गुनासो छ ।


‘ठेकेदारले आफूलाई मन लाग्दा मात्र काम गर्ने गरेका छन्,’ स्थानीय अरवीन्द्र चौधरीले भने, ‘ठेकेदार कम्पनीसँग कामको प्रगति माग गरेर फागुनसम्म काम नसकेमा जरिवाना तिराउनु पर्छ ।’


०७३ फागुनमा सम्झौता भई निर्माण थालिएको यो सडक फागुन मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले हुलाकी सडक निर्माणको गति चित्तबुझ्दो नभएको बताए ।


‘हामीले गर्नुपर्ने सहयोग गरिरहेका छौं । तर, ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै पटक–पटक काम रोक्नु राम्रो होइन,’ उनले भने, ‘अब द्रुत गतिमा काम गरेर समयमा नै काम सम्पन्न गर्नुपर्छ ।’ २५ करोड १९ लाख ७० हजार रुपैयाँको लागतमा निर्माणाधीन हुलाकी यो सडकको अहिलेसम्म करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

प्रकाशित : पुस ३, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?