कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

तरकारीले पाखोबारी हराभरा

वर्ष दिन दु:ख गर्दा ६ महिना खान नपुग्ने पाखोबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी
वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–२ पोखराथोकका टीकाराम विश्वकर्माले युवावय भारतमा बिताए । विभिन्न कम्पनीमा काम गरे । वर्षाैंसम्म काम गरेको कम्पनीका मालिकसँग असमझदारीपछि जागिर छाडे ।

तरकारीले पाखोबारी हराभरा

५ वर्षअघि घर फर्किए । सँगै पढेका दौँतरी कोही भेटाएनन् । अन्न उब्जनी हुने खेतबारी बाँझो देखे । आफ्नो दुई रोपनीसहित बाँकी १८ रोपनी बाँझो बारी भाडामा लिएर तरकारी खेती सुरु गरे । पहिलो वर्ष लगानी उठेन । दोस्रो वर्षपछि आम्दानी हुन थाल्यो ।


बारीमा काउली, गोभी, मुला, भान्टा, लौका, तीतेकरेला, आलु, साग, बोडी, घिरौंला, गोलभेडालगायतका तरकारी फलाउन मलजल, स्याहारसुसार गरेर कसरी छिटो उत्पादन गर्न सकिन्छ भनेर पाखोबारीमै अहिले उनको ध्यान छ । ‘भारतमा जागिर गर्दा हात–खुट्टा चिल्ला थिए, अहिले खस्रा छन्,’ उनले भने, ‘वर्ष दिन दु:ख गरेर अन्न उब्जनी गर्दा ६ महिनालाई खान पुग्दैनथ्यो । तरकारी खेतीबाट मनग्य आम्दानी भएको छ ।’ पहिला तल्लो जातकाले उत्पादन गरेको वस्तु उपल्लो जातिले खाँदैनथे । अहिले त्यस्तो समस्या नरहेको उनले बताए । ‘ताजा तरकारी खोज्दै घरमै आई किनेर लैजान्छन्,’ उनले भने ।


दुई महिनादेखि उनले दैनिक ८० किलो गोलभेडा बिक्री गरिरहेका छन् । उतिबेला दाल, तरकारी, मासु र अन्य खानाका परिकारमा गोलभेडा मिसाउने चलन थिएन । अहिले कसैको भान्सामा टमाटर छुट्दैन । दैनिक २० किलो गाउँमै खपत हुन्छ । बाँकी बस र ट्रकबाट पाल्पाको तानसेन र बुटवल पठाउँछन् । ‘मालिकसँग कुरा नमिलेपछि भान्सामा पकाएको खाना यत्तिकै छाडेर घर फर्केको हुँ,’ उनले भने, ‘आफ्नै पाखोबारीमा मिहिनेत गरेको छु । दु:ख गरेअनुसार आम्दानी राम्रै छ ।’


२० वटा टनेलभित्र गोलभेडा लटरम्मै फलेका छन् । पाकेका दाना दैनिक टिप्छन् । ३ जनाले रोजगारी पाएका छन् । ‘गोलभेडाबाट वार्षिक १० लाख र तरकारीबाट ५ लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने, ‘प्याकेट गरेर टमाटर जहाँ पठाउन पनि सकिन्छ । धेरैजसो गोलभेडा खेती गरेको छु ।’ एउटा बोटमा एकपटकमा बढीमा २० किलोसम्म फल्छ ।


तीनपटकसम्म उत्पादन हुन्छ । भिरालो बारीमा गोलभेडाको बगैंचा हेर्न दैनिक टाढाटाढाबाट मानिसहरू आउने गर्छन् । श्रीमती गीताले उनलाई साथ दिएकी छन् । उनका दुई छोरीको बिहे भइसकेको छ । पाखोबारीको उत्पादनले परिवार धान्न नसकेको भन्दै बसाइँसराइ गरेर गाउँ छाड्नेको यहाँ होड थियो ।


उनले भने बाँझोबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी गरेको देख्दा सबै दंग छन् । पोखराथोकबाट तानसेन–बुटवल दैनिक गाडी चल्ने भएकाले उत्पादित वस्तु बजार पठाउन सहज भएको उनले सुनाए । ‘त्यही बारी हो, वर्ष दिन दु:ख गर्दा ६ महिनालाई खान पुग्दैनथ्यो,’ उनले भने, ‘गोबर, कम्पोस्ट मल र गाई–भैंसीको पिसाव मिलाएर राखेपछि बारीमा अहिले खेती राम्रो हुन थालेको छ । कृषिकर्मतिरै भविष्य उज्ज्वल छ । इज्जत र प्रतिष्ठा पनि यसैबाट कमाएको छु ।’


आफूहरूले उत्पादन गरेको कृषिजन्य वस्तु सरकारले व्यवस्थापन गरिदिने र भारतीय उत्पादन यहाँ आउन रोक्न सकेमा कृषिकर्ममा लाग्नेहरूको कमी नहुने उनको अनुभव छ । ‘एक किसान एक उत्पादनको नीति लागू गर्नुपर्छ,’ उनले भने, ‘यसो गर्दा सबै स्वरोजगार बन्छन् । सबैको उत्पादन बिक्री हुन्छ ।’


पढेलेखेका र कृषि बुझेका मान्छे विदेश र सहरमा रहेकाले उनीहरूलाई कृषितिर लगाउनुपर्ने सुझाव उनको छ । ‘समृद्ध देश बन्न धेरै समय लाग्दैन,’ उनले भने, ‘पैसा कृषिकर्ममै उडेको छ । बस्, खाँचो छ त टिप्नेको मात्रै ।’


५ वर्षदेखि उनी पाखोबारीमै तल्लीन छन् । यस अवधिमा गाउँका अरू कृषकलाई पनि तरकारी खेतीमै लगाएका छन् । गाउँमा जति कृषकले तरकारी, मसलाबाली उत्पादन गर्छन्, सबै वस्तु उनले खरिद गरिदिएपछि किसान उत्साहित छन् । यतिबेला छिमेकीको सुन्तला बोटबाटै खरिद गरिदिएर बजार पठाएका छन् ।


‘तरकारीसहित अदुवा, बेसार खरिद–बिक्री गरेर वर्षमा डेढ करोड रुपैयाँको कारोबार गर्छु,’ उनले भने । उनले अहिलेसम्म १२ जना कृषकलाई व्यावसायिक तरकारी खेतीमा आबद्ध गराएका छन् । पटैटीका रामप्रसाद अधिकारी, पोखराथोकका मानबहादुर नेपाली, ठाकुरप्रसाद घिमिरेसहितका कृषकले उत्पादन गरेको तरकारी विकले घरबाटै किनिदिन्छन् ।


‘विकले नै तरकारी खेती गर्न सिकाउनुभयो,’ पोखराथोकका नेपालीले भने, ‘गोलभेडा, आलु, साग, मुलालगायतको तरकारीबाट वर्षमा डेढ लाख रुपैयाँ आम्दानी भएको छ । यही पैसाले परिवार चलाउन खर्च पुगेको छ ।’ बेलाबेलामा विकको तरकारी बगैंचा हेर्न उनी पुग्छन् ।


कस्तो बीउ किन्ने, कसरी लगाउने, मलजल कसरी मिलाउने र धेरै फल्ने बनाउने तरकारी सिक्न विककहाँ नेपाली धाइरहन्छन् । घिमिरे पनि जति तरकारी उत्पादन गरे पनि विकले खरिद गरिदिएका कारण पूर्ण रूपमा व्यावसायिक तरकारी खेतीमा लाग्न उत्साह मिलेको बताउँछन् ।


‘दुई वर्षदेखि लागेको छु,’ उनले भने, ‘तरकारीबाट राम्रै कमाइ भएको छ ।’ विकको देखासिकीबाट घिमिरेले पाखोबारीमा साग, सिमी र गोलभेडा फलाइरेका छन् । विकले धेरै जग्गामा खेती गर्छन् । विकसँग सिक्दै तरकारी खेती गर्ने कृषकको संख्या पोखराथोकमा बर्सेनि थपिँदै गएको उनले बताए ।


पाणिनि गाउँपालिका अध्यक्ष अच्यूत गौतम पनि व्यावसायिक तरकारी खेती कृषक हुन् । पाणिनि धेरै उर्वरभूमि छ । यहाँबाट दूध, तरकारी, दालचिनी बाहिर निर्यात हुन्छ । तरकारी, मसलाबाली, पशुपालन र उत्पादनबाट सबैलाई स्वरोजगार बनाउन कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिएर गाउँपालिकाबाट बजेट विनियोजन गरी योजनाबद्ध रूपमा काम भइरहेको उनले बताए ।

प्रकाशित : पुस ५, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?