सम्बन्धविच्छेदले छोराछोरीको बिचल्ली

अमृता अनमोल

बुटवल — बाहिर प्रेमिका राखेका बुटवल देवीनगरका श्याम थापाले घरमा दिनहुँ झगडा गर्न थाले । झगडा बिस्तारै कुटपिटमा परिणत भयो ।

सम्बन्धविच्छेदले छोराछोरीको बिचल्ली

दिनहुँको यातनाले दिक्क बनेकी इन्दुले गत वर्ष जिल्ला अदालत रूपन्देहीबाट सम्बन्ध विच्छेद गरिन् । लगत्तै घरायसी कामदारका रूपमा दुबई गइन् । श्यामले पनि दोस्रो बिहे गरे ।

यसले पतिपत्नीको समस्या सल्टियो । तर, ३ छोराछोरीको भने बिचल्ली सुरु भयो । ‘बाआमा सम्बन्ध तोडेर गए,’ नातिनातिनी पालेकी हजुरआमा मनकलाले गुनासो गरिन्, ‘यी ३ चिचिलालाई अब कसले कसरी पाल्ने समस्या छ ।’

मनकलाका भनाइमा सम्बन्धविच्छेदका बेला छोराछोरीको जिम्मा लिएका श्याम दोस्रो बिहेपछि घरमै आएका छैनन् । आमाले पनि सम्झेकी छैनन् । बालबालिका भने दिनहुँ बाआमाकै सम्झनामा रुन्छन् । उनीहरूकै यादमा टोलाउँछन् । ‘लाउन खान दिएर मात्रै नपुग्दो रहेछ,’ मनकलाले भनिन्, ‘पढाइ खर्च जुटाउन नसक्दा बोर्डिङबाट छुटाएर सरकारीमा पठाएकी छु । अब पनि खर्च नदिए त्यही स्कुलबाट पनि छुटाउनुपर्नेछ ।’

पछिल्लो समयमा पति–पत्नीबीच मनमुटाव बढ्दा त्यसलाई सम्बन्धविच्छेदबाट टुंग्याउने चलन बढेको छ । धेरै वैवाहिक सम्बन्ध समन्वय र सहजीकरणको अभावमा टुटै गएका छन् । अरूको अधीनमा बस्नुभन्दा स्वतन्त्र बन्ने चाहनामा पनि वैवाहिक सम्बन्ध तोडिएका छन् । पती–पत्नीले स्वतन्त्र बस्ने चाहना पूरा गर्दा त्यसको असर बालबालिकाले चुकाउनुपरेको छ ।

बाबुआमाको मायामा बिताउने बालापन एक्लै काट्नुपरेको छ । धेरै बालबालिकाले आर्थिक, शारीरिक र मानसिक समस्या भोगेका छन् । केही बालबालिका त कुलतमा लाग्ने र सडक छाप बन्ने गरेका छन् । त्यसैमध्येका हुन्, सैनामैनाका दिनेश न्यौपाने । बाबुआमाको माया नपाएकै कारण उनी अहिले लागूऔषधको दलदलमा फसेका छन् ।

चिकित्सकले बाबुआमा दुवैको परामर्शमा मात्रै औषधि चलाउने बताएपछि हजुरबुबा हिमलाल सन्तापमा छन् । ‘कक्षा ९ मा पढ्दै कुलतमा लाग्यो । पटक–पटक स्कुल र प्रहरीकहाँ लगेर सम्झायौं, मानेन,’ हजुरबाले भने, ‘६ महिनादेखि भैरहवाको पुन:स्थापना गृहमा राखेको छु । त्यहींका डाक्टरले पनि बाआमा ल्याउन भनेपछि समस्या परेको छ ।’

हिमलालका अनुसार नियमित रक्सी खाएर मात्तिने र बुहारीलाई कुट्ने गर्न थालेपछि समस्या भएको हो । ‘बुहारीले पटक–पटक इलाका प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीले घरायसी विवाद भन्दै कार्यालयमा बोलाउने र सम्झाउनेबाहेक केही गरेन,’ उनले भने, ‘घरेलु मुद्दा लिएर अदालत गइन् । मुद्दाको झन्झटिलो प्रक्रिया देखेर सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् ।’ ०७१ चैतमा मुद्दा छिनोफानो भयो । छोराछोरी पाल्ने जिम्मा पाएका बाबुले त्यसयता वास्तै गरेनन् । परिणाम छोरा १३ वर्षमै लागूपदार्थको लतमा लाग्न पुगे ।

सम्बन्धविच्छेदपछि बाबुआमाले छोडेका मात्र होइन, बाबु वा आमासँगै भएका धेरै बालबालिकामा पनि समस्या देखिएको छ । यसमध्येका हुन्, तिलोत्तमा नगरपालिका शंकरनगरका सम्पन्न क्षत्री । १२ वर्षे यी बालकमा अहिले डिप्रेसन देखिएको छ । धेरै बोल्दैनन्, टोलाइरहन्छन् । कतिकति बेला एक्लै रुन्छन् । ‘डाक्टरले बाबुको अभावले यस्तो भयो भन्छन्,’ आमा कल्पनाले सुनाइन्, ‘एक वर्षयता नियमित चेकजाँच गराएकी छु । तर, खासै परिवर्तन देखिएको छैन ।’

कल्पनाका भनाइमा ३ वर्षअघि उनी र पति शिवबीच सम्बन्धविच्छेद भएको हो । बाआमाको सम्बन्धविच्छेदपछि सम्पन्न पनि बाबुबाट अलग भए । यसलगत्तै उनमा पनि समस्या देखिएको थियो । ‘पहिले पतिको हर्कतले घरमा बस्नै नहुने थियो । अहिले छोरा छोड्नै नहुने भएको छ,’ कल्पनाले गुनासो गरिन्, ‘एक्लो मायाले बालबालिकालाई नपुग्दो रहेछ ।’

भदौ १ गतेदेखि मुलुकमा नयाँ संहिता लागू भएको छ । नयाँ संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएको छ । नयाँ देवानीसंहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था गरिएको छ । त्यसमा यसअघि महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् ।

यसले सम्बन्धविच्छेद गर्न जाने पुरुषको संख्यासमेत रूपन्देहीमा हात्तै बढेको छ । चालु आर्थिक वर्षको ४ महिना अर्थात् साउनयता मात्रै ३ सय ४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । त्यसमध्ये १ सय ७ उजुरी पुरुषले दिएका थिए । जबकि, गत वर्ष ५ सय १० जोडीले सम्बन्धविच्छेद गरेकामा उजुरी दिने पुरुषको संख्या ७ मात्रै थियो । अदालतका स्रेस्तेदार सञ्जीव पोखरेलका अनुसार अदालतमा परेका मुद्दामा धेरै आमाबाबु बनेकै जोडीले सम्बन्ध तोडेका छन् ।

ऐनले ५ वर्षसम्मका बालबालिका आमाको जिम्मा हुने अधिकार दिएको छ । यसपछि भने बालबालिकाको इच्छामा भर पर्छ । स्वेच्छामा भनिए पनि धेरै बालबालिका बाबुकै जिम्मामा लगिने गरेको अदालतका श्रेस्तेदार पोखरेलले बताए । ‘बाबुको जिम्मामा सन्तान रहने र उमेर पुगेपछि अंश दिने कबोलमा सम्बन्धविच्छेद भएका धेरै छन्,’ उनले भने ।

अदालतमा बाबुले जिम्मा लिए पनि बाआमा छुट्टिएपछि धेरै बालबालिका आफन्तको शरणमा पनि पुग्ने गरेका छन् । जिम्मा लिएको बाबुले रेखदेख र शिक्षादीक्षामा बेवास्ता गरेपछि यस्तो हुने गरेको हो । पुन:स्थापना केन्द्र सञ्चालन गरेकी कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यले आफन्तका जिम्मा छोड्ने र नियमित रेखदेख नगर्दा त्यस्ता बालबालिकाको वृद्धि र विकासमा समस्या परेको बताइन् । ‘बाबुआमाको माया नपाउँदा केही बालबालिका देखिने गरी नै कुलतमा लाग्ने र डिप्रेसनमा पर्ने गरेका छन्,’ उनले भनिन्, ‘धेरैको आचरण, संस्कार र शिक्षादीक्षामा समस्या देखिएको छ ।’

अधिवक्ता हेमा न्यौपानेले घरेलु हिंसा र अंश मुद्दालाई प्रभावकारी नबनाउँदा धेरै जोडीले सम्बन्धविच्छेदको बाटो रोजेको बताइन् । ‘सम्बन्धविच्छेदले टुक्रिने घरपरिवार र बिचल्लीमा पर्ने बालबालिकालाई संरक्षण गर्न सम्बन्धविच्छेदलाई कडा र हिंसाविरुद्धको न्याय प्रणालीलाई कडा बनाउनुपर्छ,’ अधिवक्ता न्यौपानेले भनिन्, ‘यसले सामान्य घटनामा पनि पति–पत्नीबीच सम्बन्धविच्छेद हुने र सन्तान अलपत्र पर्ने अवस्था रोकिनेछ ।’

प्रकाशित : पुस ८, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?