१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्षतिपूर्ति माग गर्दै बाढी पीडितद्वारा प्रदर्शन

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिकाका बाढी पीडित परिवारले सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दे आइतबार प्रदर्शन गरेका छन् । करिब पाँच वर्ष अघि आएको बाढीका कारण विस्थापित उनीहरूले नगरपालिका अगाडि पुन:स्थापनको थप रकम उपलब्ध गराउन माग गर्दे प्रदर्शन गरेका हुन्  ।

बाढी पीडित संर्घष समितिका अध्यक्ष रञ्जना थारुको नेतृत्वमा गएको टोलीले नगरप्रमुख दुर्गा बहादुर थारुलाई ज्ञापनपत्र बुझाएका छन् ।

नगरप्रमुख थारुले सङ्घीय सरकारसँग सहमति भएकाले केन्द्रसँग बजेट माग गर्ने बताए । सरकारले गत आर्थिक वर्षमा पुन:स्थापना गर्ने लक्ष्य राखेको बजेट निकासा नगर्दा करिब पाँच वर्षदेखि बाढी पीडितहरू पुन:स्थापना हुन सकेका छैनन् ।


०७१ साल साउन अन्तिम साता आएको बाढीले जिल्लाका ३ हजार ८ सय ५९ को घर पूर्ण क्षति र १३ हजार आंशिक क्षति भएको थियो । बाढी पीडितमा सूचिकृत भएकालाई परिचयपत्र दिनु पर्ने, परिचयपत्रको आधारमा सहुलियत ब्याजमा ऋण दिनु पर्ने,अनुदानको रकम ३ लाख उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका छन् ।


बारबर्दियामा ९ सय बढी बाढी पीडित रहेका छन् । बाढी पीडित संर्घष समितिका अध्यक्ष बिन्तीराम थारुले आफ्ना माग सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले ०७२ साल असार ४ गते भूकम्प पीडित सरह बाढी प्रभावितलाई रकम दिने निर्णय गरेको थियो । उनले सरकारले बाढी पीडितलाई धोका दिएको गुनासो पोखे ।

०७१ सालको बाढीबाट दाङ, बाँके, बर्दिया र सुर्खेत जिल्लाका बाढी पीडितका लागि तत्कालीन सहरी विकास आयोजनाले २ अर्ब ६९ करोड ५५ लाख बजेट माग गरेको थियो । सरकारले बाढीबाट क्षति पुगेका जमिन भएकालाई ३ लाख र जग्गा नभएकालाई ३ लाख ५० हजार रकम अनुदान दिने निर्णय कागजमै सीमित भएको बाढी पीडितको गुनासो छ ।

जग्गा खरिदका लागि करिब दुई वर्ष अघि प्रति परिवार ५० हजारका दरले पहिलो किस्ता उपलब्ध गराइएको थियो । दोस्रो किस्ता जग्गा खरिद गरेपछि २ लाख दिने भनिएको थियो ।


तेस्रो किस्ता घर निर्माण भएपछि ५० हजार रुपैयाँ उपलब्ध गराउने भनिए पनि बजेट अभाव देखाउँदै रकम उपलब्ध नगराएको भन्दै बाढी पीडित आन्दोलित भएका हुन् । साताअघि ठाकुरबाबा नगरपालिकाका बाढी पीडित रिले अनशनमा बसेका थिए ।

प्रकाशित : पुस ८, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?