कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बुहारीलाई पढ्न हौस्याउँछन् सासू–ससुरा

वीरेन्द्र केसी

अर्घाखाँची — गाउँका बुहारीको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, मेलापात गर्ने र बालबच्चा रेखदेख गर्ने थियो । कुनै बेला यति काममा मात्रै घरका बुहारी सीमित थिए ।

अचेलका बुहारी भने घरको कामसँगै पढाइलाई पनि निरन्तरता दिइरहेका छन् । बिहे भएको घरका बाबुआमाले नै बुहारीको पढाइलाई अगाडि बढाइरहेका छन् ।


मालारानी गाउँपालिका–७ हंसपुरकी सीता अधिकारीको ११ कक्षा पढ्दै गर्दा बिहे भयो । कर्मघरमा गएको केही महिनापछि श्रीमान् रोजगारी खोज्दै कतार गए । ‘सासूआमा र बुबाले मलाई सिद्धार्थ उमाविमै लगेर भर्ना गरिदिएपछि पढाइ रोकिएन,’ उनले भनिन्, ‘पढन पाएँ, खुसी छु ।’


पछिल्लो समय बुहारीले पढाइलाई निरन्तरता दिन थालेका छन् । ‘हाम्रो जमानामा पढ्ने चलन थिएन,’ सीताकी सासूआमा धनिश्वराले भनिन्, ‘बुहारी पनि छोरीसरह हुन् । पढेपछि जागिर खानुपर्छ भन्ने छैन, घरपरिवार शिक्षित बनाउन बुहारीले पढ्नैपर्छ ।’ घरको काम मैले र बुहारीले मिलेर गर्छौं, पढेपछि जीवन चलाउन धेरै सजिलो होस् भनेर पढ्न पढाएको उनले बताइन् । ‘छिमेकमा केहीले बुहारीलाई टाढाकै सम्झन्छन्, मैले पढ्न पढाएकी छु,’ उनले भनिन् ।


विमला गौतमले बिहेपछि रोकिएको पढाइलाई निरन्तरता दिएकी छन् । बुहारी भएपछि घरधन्दाको कामले धेरैले पढ्ने मौका पाएका थिएनन् । गाउँमै क्याम्पस र उमावि खुलेपछि पढाइ छाडेका बुहारी भर्ना भएका छन् । छात्रभन्दा छोरीबुहारी धेरै छन् ।


‘छोरीबुहारी पढ्न आउने धेरै छन्,’ पोखराथोकस्थित हरिहर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रकान्त पौडेलले भने, ‘भर्ना भएका १ सय ८० विद्यार्थीमध्ये १ सय ३५ जना नियमित आउँछन्, त्यसमा ७० प्रतिशत छात्रा छन् ।’


वर्षौंदेखि पढाइ छाडेका छोरीबुहारीको यतिबेला क्याम्पसमा घुइँचो छ । यहाँ बीएड र बीबीएस पढाइ हुन्छ । बाँगीको शान्ति उमाविमा कक्षा ११ र १२ मा ७५ प्रतिशत छात्रा छन् । अहिले छात्रभन्दा छोरीबुहारीले पढाइमा बढी ध्यान दिएका छन् ।


गाउँमै उच्च मावि खुलेपछि पढाइ छाडेर बसेका बुहारीहरू पढ्न आउन थालेको प्राचार्य मानबहादुर पाण्डेले बताए । मावि तहसम्म छात्र धेरै भए पनि उच्च शिक्षातर्फ छोरीबुहारीको बाहुल्य हुने गरेको उनले बताए ।


यस उच्च माविमा ०६६ सालदेखि हालसम्म कक्षा ११ र १२ मा छात्रा धेरै छन् । कतिपय त छोराछोरी मावि पढ्ने र आमा उमावि पढ्ने पनि छन् । ‘उमावि कक्षा सुरु हुनु मेरा लागि ठूलो अवसर हो,’ सुनीता केसीले भनिन्, ‘सानै उमेरमा बिहे भयो । छोराले ८ कक्षामा पढ्छ, मैले १२ कक्षामा । हामी आमाछोरा साथीजस्तै छांै । नजानेको कुरा एक–अर्कालाई सोध्ने गर्छौं ।’ छोरा हुर्किएकाले मौका मिले सरकारी जागिर खाने सोच उनको छ ।


दुहुनो भैंसीलाई घाँसपात गर्ने, खेतबारीको काम सकेर छोरा र आफ्नो तयारी सकेर आमाछोरा पढाइमा जान्छन् । ‘विदेशमा रहेका श्रीमान् मेरो पढाइप्रति धेरै खुसी हुनुहुन्छ । परिवार र समाजलाई शिक्षित बनाउन पुरुषले भन्दा महिलाले अनिवार्य पढ्नुपर्ने उनले दाबी गरिन् ।


छोरीबुहारीलाई घरबाहिर राखेर पढाउन अझै पनि अभिभावकले अप्ठ्यारो मान्ने हुँदा घरको कामधन्दाका बाबजुद पनि गाउँका धेरैजसो छोरीबुहारीले क्याम्पस पढ्छन् । गाउँका क्याम्पस र उमावि छोरीबुहारीले पढ्ने थलो बनेको छ । सबै पालिकाका वडैपिच्छे उमावि खोलिएपछि वर्षौंदेखि पढाइ छाडेका बुहारीले पढ्ने मौका पाएका छन् ।


१० कक्षापछि धेरै युवा पैसा कमाउन विदेशिन्छन् । पछिल्लो समय उच्च शिक्षा अध्ययनपछि मात्र विवाह गर्ने लहर चलेको छ । ‘गाउँको उमावि र क्याम्पसमा छोरीबुहारीले पढ्ने लहर नै आएको छ,’ शिक्षा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले भने, ‘घरपायक भएकाले पढ्न पाएका हुन्, गाउँमा अहिले बुहारीहरू शिक्षित छन् ।’ जिल्लाका ३३ उमावि र ६ क्याम्पसमा १ हजार ४ सय १ जना विद्यार्थी रहेकामा ७० प्रतिशत छात्रा छन् ।

प्रकाशित : पुस १२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?