१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सीमामा तटबन्धकै शैलीमा सडक

सीमामा सडक निर्माण भइरहँदा नेपाल सरकार बेखबर
ठाकुरसिंह थारू

नेपालगन्ज — दशगजावारि सुनसान छ । गाउँबस्ती छैन । पारि चहलपहल छ । बीचमा नेपाल–भारत सीमा छुटयाउने दशगजामा सीमास्तम्भ छ ।

सीमामा तटबन्धकै शैलीमा सडक

नेपालतर्फ सुनसान दशगजाछेउमै भारतीय पक्षले तटबन्धजस्तो सडक विस्तार गरिरहेको छ । सीमामा सडक निर्माण भइरहँदा नेपाल सरकार बेखबखर छ ।


भारतले पूर्वी क्षेत्रबाट बाँकेको सीमामा सडक विस्तार गरिरहेको हो । पूर्वी–दक्षिण नरैनापुर क्षेत्रमा तटबन्धजस्तो सीमा सडक निर्माण गरी कालोपत्रे गरिसकेको भारतीय पक्षले नेपालगन्ज सीमामा सडक विस्तारको कामलाई तीव्रता दिएको हो ।


नेपालगन्ज उपमहानगर–१५ पिप्रहवा क्षेत्रमा हाल धमाधम सडक निर्माण भइरहेको छ । भारतीय पक्षले निर्माण गरिरहेको सडकबारे स्थानीयले जानकारी दिइसकेका छन् । यसअघि पनि सीमा सडकबारे सर्वसाधारणले स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । तर, नेपाल सरकारले कुनै चासो नदिँदा सडक विस्तारको कामले निरन्तरता पाएको हो ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले भारतले निर्माण गरिरहेको सडकबारे जानकारी पाएको बताए । उनले एक/दुई दिनमै स्थलगत अध्ययन गर्ने जनाए । यसअघि पनि सीमावर्ती क्षेत्रका सर्वसाधारणले सीमा सडकबारे आपत्ति जनाउँदै आएका छन् ।


सशस्त्र प्रहरी गण ३० नम्बर बाहिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले भारतले निर्माण गरिरहेको सडकबारे बाँकेका सुरक्षा अधिकारीसँग छलफल गरिरहेको बताए । ‘उसले आफ्नो भूमिमा सडक निर्माण गर्दैछ । दशगजा मिचेर सडक निर्माण गरेको पाइए हटाउँछौं,’ उनले भने, ‘दुई मुलुकको सीमाजस्तो संवेदनशील विषय भएका कारण समस्या समाधानका लागि सरकारबाटै पहल थाल्न आवश्यक छ ।’


भारत सीमासँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रलाई जोडेर तटबन्धजस्तो सडक निर्माण भइरहेको छ । पूर्व कटकुइँयादेखि सुरु गरिएको सडक निर्माणको काम नेपालगन्जसम्म आइपुगेको छ ।


तटबन्धजस्तो सडकले बाँकेका सबै क्षेत्र डुबानमा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । डुबानमुक्त मानिने बाँकेका पश्चिमी क्षेत्रहरू पनि त्यही सडकका कारण डुबानमा पर्न थालेका छन् । सामान्य वर्षामै नेपाल–भारत सीमासँग जोडिएका नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा र उत्तरको बैजनाथ गाउँपालिका डुबानमा पर्ने गरेका हुन् ।


भारतीय पक्षले डेढ दशकअघि सीमासँगै जोडेर राप्ती नदीमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा मार्जिनल तटबन्धका कारण बाँकेका पूर्व–दक्षिणका दर्जनभन्दा बढी गाउँ डुबान, कटान र पटानमा पर्दै आएका छन् ।


सीमा सडकले पानीको बहाव छेकेपछि बाँकेका अधिकांश क्षेत्र डुबानमा पर्न थालेका हुन् । ‘यो गाउँ यसअघि कहिल्यै पनि डुबानमा परेन । तर, भारतले सीमामा सडक बनाएपछि थोरै वर्षामा पनि डुबान हुन थालेको छ,’ जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मदरजा राईले भने, ‘भारतले सीमामा सडक निर्माण गर्न सुरु गरेलगत्तै सरकारलाई जानकारी गराएका थियाैं तर केही पहल भएन ।’


भारतले सन् १९९९ देखि २००० मा नेपाली भूमिसँगै जोडेर साढे २२ किलोमिटर लम्बाइ, ५ मिटर चौडाइ र ५ मिटर उचाइ भएको कलकलवा मार्जिनल तटबन्ध होलिया क्षेत्रमा निर्माण गरेपछि नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका दर्जनौं गाउँ डुबान र कटानमा पर्दै आएका छन् ।


भारतीय पक्षले फेरि पनि बाँकेको सीमासँगै जोडेर ३० मिटर चौडाइ र ३ मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गरेपछि जिल्ला डुबानको खतरामा परेको हो । पूर्वी क्षेत्रमा निर्माण गरिएको सीमा सडकमा कालोपत्रेसमेत भइसकेको छ ।


पश्चिम क्षेत्रमा सीमा सडक निर्माण भइरहेको छ । प्राकृतिक रूपमा हुँदै आएको पानी निकासलाई सीमा सडकले छेकेपछि डुबानको खतरा झन् बढेको हो । नेपालगन्ज उपमहानगरपालिकाको पानीको निकास पनि सीमा सडकले छेकेपछि डुबान हुन थालेको हो ।


भारतीय पक्षले दशगजादेखि ५ मिटर दूरी छाडेर सीमा सडक निर्माण गर्दै आएको छ । नेपालगन्जको सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहा नजिकैबाट सडक निर्माणका लागि अतिक्रमण हटाइएका छन् । सीमावर्ती नेपालीले त्यसको विरोध गरे पनि सडक विस्तारको काम जारी छ ।


स्थानीय प्रशासनले सडक निर्माणबारे सरकारलाई पटकपटक जानकारी गराउँदै आएको छ । तर, नेपाल सरकार सीमा सडकबारे कुनै प्रतिक्रिया नजनाउँदा भारतीय पक्षले सडक विस्तारको क्रम जारी राखेको छ ।


भारतले निर्माण गरेको तटबन्धका कारण राप्ती नदीको २५ किलोमिटर लम्बाइ र ३ किलोमिटर पूर्व–पश्चिमको बीचमा पर्ने सबै खेतीयोग्य जग्गा बगरमा परिणत भइसकेको छ ।

भारतीय तटबन्धका कारण बाँकेको पूर्वी–दक्षिणमा पर्ने राप्ती सोनारी गाउँपालिकाको मटेहिया, सोनवर्षा, गंगापुरलगायतका दर्जनभन्दा बढी गाउँको करिब १० हजार बिघा बढी खेतीयोग्य जग्गा राप्ती नदीले कटान र पटान गरेको स्थानीय बताउँछन् ।


डुडवा गाउँपालिकाको होलिया क्षेत्रमा करिब २ हजार बिघा जग्गा कटान र पटानमा परेको स्थानीयको दाबी छ । भारतीय तटबन्धका कारण राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरदेखि नरैनापुरको मटेहिया, कटकुइँयासम्म पूर्वतर्फको र डुडवा गाउँपालिको होलियाको पश्चिमतर्फको दायाँ–बायाँका खेतीयोग्य जग्गा कटान भइसकेका छन् ।


त्यस्तै, फत्तेपुर र सिधन्वादेखि उत्तरतर्फको सयौं बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ । राप्ती नदीको २५ किलोमिटर लम्बाइ र ३ किलोमिटर पूर्व–पश्चिमको बीचमा पर्ने सबै खेतीयोग्य जग्गा बगरमा परिणात गरिसकेको छ ।

प्रकाशित : पुस १२, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?