१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बारीमै सुके किसानका उखु

नवीन पौडेल

परासी — उखु क्रसिङ सिजन सुरु भएको एक महिना बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालनमा आएका छैनन् । बारीमा सुक्ने अवस्था आएपछि किसानले धमाधम उखु काटिरहेका छन् ।

बारीमै सुके किसानका उखु

तर, कहाँ लगेर बेच्ने भन्ने अत्तोपत्तो छैन । केही दिनभित्रै उद्योग सञ्चालन नभए खेतमा उखु सुक्ने पीर किसानलाई छ ।


ढिलो क्रसिङ गरेर किसानलाई सस्तोमा बेच्न बाध्य पार्ने दाउमा उद्योगी रहेकाले मिल नचलाएको आरोप किसानले लगाए । पाल्हीनन्दन गाउँपालिका–२ की देउती हरिजनले उखु काट्ने समय भइसकेको बताइन् ।


झट्ट काटेर कहाँ बेच्ने, उनी अन्योलमा परेकी छन् । चिनी कारखाना सञ्चालन नभएकाले काटेको उखु बारीमा सुक्ने चिन्ता छ । अहिले बिक्री नगरे रोप्दा लागेको ऋण र घरखर्च चलाउन धौ–धौ छ । ‘अघिल्लो वर्ष मंसिरमै मिल चलेको थियो,’ उनले भनिन्, ‘सबै भुक्तानी नपाए पनि घरखर्च चलाउने रकम आएको थियो ।’ यसपालि एकातिर उद्योग चलेको छैन । अर्कोतर्फ सरकारले मूल्य तय नगर्दा मर्का छ ।


यस्तो बेवास्ताले जीविका चलाउन मुस्किल भइरहेको उनले बताइन् । उनको मात्र होइन, यस क्षेत्रका सबै किसानको एउटै समस्या छ । अत्यावश्यक हुनेले भेली उद्योगलाई सरकारले अघिल्लो वर्ष तोकेको भन्दा आधा मूल्यमा बेचिरहेका छन् ।


उनीहरूले तत्काल उद्योग सञ्चालन गर्न र मूल्य तोक्न सरकारसँग माग गरेका छन् । क्रसिङ भएपछि उद्योगीले उचित मूल्य दिन आनाकानी गर्ने उनीहरूले बताए । त्यसैले तत्काल मूल्य निर्धारण गर्न माग गरेका हुन् । हरेक वर्ष मूल्य निर्धारणमा ढिलाइ हुँदा भुक्तानीको समस्या झेल्नुपरेको भन्दै काट्नुअघि नै मूल्य तोकेमा सहज हुने उनीहरूले बताए ।


गत वर्ष पुस दोस्रो साता मूल्य निर्धारण गरेको थियो । यसपालि सरकार तातेको छैन । उद्यागीले कारखाना बन्द गरेर किसानलाई दबाबमा पारेका छन् । ढिलो हुँदा क्रसर उद्योगलाई किसानले घरखर्च चलाउन सस्तोमा उखु दिनुपरेको भन्दै तत्काल किसानको समस्या समाधान गर्न उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले माग गरे ।


‘उखु काटिसकेपछि उद्योगले आफ्नो मूल्यमा मात्र खरिद गर्छ, नबेचांै सुकेर जाने, बेचौं भने लगानीसमेत नउठ्ने समस्या छ,’ उनले भने, ‘राष्ट्रिय बाली घोषणा भए पनि मूल्यको अनिश्चितताले किसान मर्कामा छन् । उद्योगीले किसानलाई मर्का पार्न उद्योग चलाएका छैनन् ।’


हरेक वर्ष मूल्य निर्धारणमा ढिलाइ हुँदा किसानले भुक्तानीको समस्या झेल्नु परेको छ । उखु काट्ने समयअगाडि नै मूल्य तोकेमा सहज हुने भन्दै उचित मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् । यहाँका किसानको वर्षौंदेखिको समस्या समाधान हुन सकेको छैन ।


उखु काटेर मुसुरो, गहुँजस्ता बाली लगाउनुपर्ने भएकाले उखु समयमा नै काटेर बेच्नुपर्ने किसानको बाध्यता छ । वाग्मती खाँडसारी चिनी मिलका म्यानेजर टंकनाथ काफ्लेले उद्योग मर्मत भइरहेकाले सञ्चालनमा ढिलाइ भएको बताए । ‘हामीले उद्योगमा नयाँ समान जडान गर्ने र पुराना सामान मर्मत गरिरहेकाले ढिलाइ भएको हो,’ उनले भने, ‘मर्मत भएपछि एक साताभित्र हामीले क्रसिङ सुरु गर्छौं ।’


केही वर्षअघिसम्म यहाँका १४ हजार परिवार उखुमा आश्रित रहेकामा अहिले ७ हजारले मात्र उखु खेती लगाउने गर्छन् । उत्पादन कम भएपछि उद्योगहरूबीच खरिद गर्ने प्रतिस्पर्धा बढेको भए पनि मूल्य निर्धारणमा भने बर्सेनि ढिला हुने गरेको छ । जिल्लामा लुम्बिनी, वाग्मती र इन्दिरा चिनी उद्योग छन् ।


उनीहरूलाई सिजनमा ४० लाख क्विन्टल उखु क्रसिङका लागि आवश्यक भए पनि उखु खेतीबाट किसान बर्सेनि विस्थापित हुन थालेपछि आवश्यकताभन्दा आधा मात्र उखु उत्पादन हुने गरेको छ । मूल्य निर्धाण नहुँदा हरेक वर्ष उखु खेतीप्रति किसानको आकर्षण घट्दो छ ।

प्रकाशित : पुस १६, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?