प्रदर्शनीमा सेनाको फोटो आकर्षण

लुम्बिनी एक्स्पो
घनश्याम गौतम

रूपन्देही — बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो एवं अन्तर्राष्ट्रिय व्यापार मेलामा जिगतढी किल्लासँगै नेपाली सेनाको फोटो प्रदर्शनी धेरैको आकर्षण बनेको छ । 

प्रदर्शनीमा सेनाको फोटो आकर्षण

पुस ५ देखि सुरु भएको मेलामा नेपाली सेनाले शान्तिको समयमा कस्ता काम कसरी गर्छ भन्ने प्रतिविम्ब झल्कने गरी गरिएको कामलाई तस्बिरमा देखाइएको छ । त्यसले धेरैको मन जितेको छ ।


सेनाले लामो समयदेखि गर्दै आएको काम र ऐतिहासिक पृष्ठभूमि झल्कने अवस्थालाई मेलामा फोटो र जितगढी किल्लामार्फत जस्ताको तस्तै उतारिएको छ । प्रदर्शनीमा विसं १८७२ मा नेपाल आक्रमणमा आएका अंग्रेज सेनासँगको लडाइँमा नेपाली फौजले प्रयोग गरेका हतियार र पोसाकसमेत प्रदर्शनीमा छन् ।


सेनाका क्याप्टेन विपिन अर्यालले नेपाली सेनाले शान्तिको समयमा गर्ने काम, तालिम गर्ने तरिका, ऐतिहासिक स्थल र क्षेत्रको संरक्षणमा रहने भूमिकादेखि राहत र उद्धारका काम फोटो प्रदर्शनीमार्फत सर्वसाधरणलाई देखाउन खोजिएको बताए ।


‘नेपाली सेनाले शान्तिको समयमा विभिन्न गतिविधि गरिरहेकै हुन्छ,’ उनले भने, ‘के गर्छ र कसरी गर्छ भन्ने जान्न खोज्नेका लागि प्रदर्शनी उपयुक्त स्थल बनेको छ ।’ उनले त्यस्ता फोटा र क्रियाकलापमा सर्वसाधारणले धेरै चासो दिएको बताए ।


प्रदर्शनमा जिगतढी किल्लामा नेपाली फौजले प्रयोग गरेका हतियार र पोसाक काठमाडौंका हनुमानढोकास्थित शार्दुलजंग गुल्मबाट ल्याइएको हो । पोसाक पृथ्वीनारायण शाहकै पालाका हुन् । सैनिकले संयुक्त राष्ट्रसंघमा गर्ने कामको विवरण, बाढीपहिरो, भूकम्पलगायतमा गरेका सहयोग, उद्धार र श्रमदानका फोटा पनि प्रदर्शनीमा छन् ।


फोटो तथा पर्यटकीयस्थल प्रवद्र्धन समितिका संयोजक कृष्ण पोखरेलका अनुसार मेलामा सेनाको फोटो प्रदर्शनी, जितगढी किल्लाको ऐतिहासिक महत्त्व र अवस्थाले धेरैको ध्यान खिचेको बताए । आइतबारसम्ममा कम्तीमा ४५ हजारले फोटो र जितगढी किल्ला अवलोकन गरेको उनले बताए ।


‘सबैको ध्यान जितगढी किल्ला र नेपाली सेनाको फोटोमा छ,’ उनले भने, ‘त्यसले ओझेलमा परेको किल्लाको राम्रो प्रचारप्रसार र चासो पनि देखियो ।’ ऐतिहासिक स्थल जितगढीको संरक्षण, प्रवद्र्धन र प्रचारका लागि प्रदेश सरकार, बुटवल उपमहानगर र सेनासँग मिलेर संघले पर्यटन प्रवद्र्धनको काम अघि बढाउने उनले बताए । मेलामा अन्य पर्यटकीय र ऐतिहासिक स्थलको समेत फोटो प्रदर्शनीमा राखिएको छ ।


बुधबारसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ६ सयभन्दा बढी स्टल छन् । यस वर्षको व्यापार मेला पर्यटकीयस्थलको प्रचार र प्रवद्र्धनका लागि महत्त्वपूर्ण भएको मेला आयोजक मूलसमितिका संयोजक पदमप्रसाद श्रेष्ठले बताए ।


१३ दिनसम्म चल्ने मेला १० लाख दर्शकले अवलोकन गर्ने र ४० करोडको कारोबार हुने आयोजकको दाबी छ । यस वर्षबाट मेलाको टिकटबाट प्रतिटिकट १० रुपैयाँ छुट्याएर यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा खर्च गर्ने गरी योजना तयार भएको संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले बताए ।

प्रकाशित : पुस १७, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?