२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बारी बाँझै, घर खाली

वीरेन्द्र केसी

अर्घाखाँची — यहाँका गाउँमा मोटर, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा पुगेको छ । टोलैपिच्छे टयाक्सी गुड्छन् । स्वच्छ हावापानी र अर्गानिक उत्पादन विशेषतै हुन् ।

बारी बाँझै, घर खाली

यिनले यहाँका बासिन्दालाई पुख्र्यौली घरमा टिकाउन भने सकेका छैनन् । गाउँको बारी बाँझो छाडेर सहरमा बसोबास गर्ने बढेको बढ्यै छन् । ढोकामा ताल्चा लगाएर खेतबारी बाँझो छाडेर सहर पस्ने लहरै चलेको छ ।


यहाँका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । सन्तानलाई निजी विद्यालयमा पढाउन, कम्प्युटर, सिलाइकटाइ सिक्न सहर झर्ने चलन छ । गाउँबाट सहर झरी डेरा गरी बस्ने थुप्रै छन् । गाउँका घरमा दसैंलगायत चाडपर्वका बेला पुग्छन् । रेमिटयान्सका कारण निजी स्कुलमा छोराछोरी पढाउन अभिभावकको दौडधुप छ ।


अहिले गाउँमै निजी विद्यालय खुलेका छन् । सहरका निजीभन्दा गाउँका विद्यालयको प्रगति राम्रो छ । तिनमा भने स्थानीयको विश्वास कम छ । शीतगंगा नगरपालिका १० की विमला पोखरेलको घर सुनसान छ । १० वर्षदेखि कपिलवस्तुको ४ नम्बरमा भाडामा बस्दै आएकी छन् । आफू सिलाइ पसल गर्छिन् ।


छोराछोरीलाई त्यहींकै निजी स्कुलमा पढाएकी छन् । पति कोरियामा छन् । गाउँमा बिजुली छ । गाडी चल्छन् । इन्टरनेट चलाउन पाइन्छ । ताजा तरकारीलगायत खानेकुरा खान पाइन्छ । उनी तराई झर्नुको एउटै कारण हो, सन्तानको भविष्य ।


‘हामीले धेरै पढेनौं, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन मात्रै हो यहाँ झरेको,’ विमलाले फोनमा भनिन्, उनीहरूको उज्ज्वल भविष्यका लागि हामी यहाँ आएका हौं ।’


गाउँमा जस्तो यहाँ विषादीरहित तरकारी, दूध, घ्यू र अन्न पाइँदैन । सहरमा अन्य सुविधा छन् । ‘घरमा हरेक दसैंमा सबै परिवार जान्छौं । मान्यजनबाट टीका लगाएर आशीर्वाद थापेर फर्किन्छौं,’ उनले भनिन्, ‘घरखर्च कपडा सिलाएर पुग्छ । श्रीमानको कमाइले एउटा घडेरी किनेका छौं, अब यहीं घर बनाएर बस्ने हो ।’ छोराछोरीलाई राम्रो पढाएर प्रतिस्पर्धा गर्न सक्ने बनाउन र भविष्य उज्ज्वल होस् भनेर तराई झरेको उनले सुनाइन् ।


गाउँका खेतबारी बाँझिएपछि उत्पादन घटदो छ । विमलाजस्तै जिल्लाका धेरैका घर अहिले सुनसान छन् । भूमिकास्थान नगरपालिका ठूलाखर्कका पुनाराम बेल्बासेको परिवार बुटवलमा बस्छ । ताल्चा लागेको घरको छानो भत्किएको छ । घर जीर्ण बनेको छ ।


कौसीका काठका फर्निचर धमिराले खाएको छ । १० रोपनी बारीमा घाँस उम्रिएको छ । २ रोपनी खेतमा छिमेकीले गरी खाएका छन् । ७ वर्षअघि मलेसिया गएपछि बेल्बासेले आफ्नो परिवारलाई बुटवल झारेका हुन् । सन्धिखर्कमा भेटिएका उनले रूपन्देहीको बेल्बासमा एउटा घडेरी किनेको बताए ।


‘घर बनाउन अझै केही वर्ष लाग्ला । दसैंमा टीका लगाउन मात्रै घर आउँछौं,’ उनले भने, ‘सात वर्षअघि गाउँमा खासै विकास थिएन । अहिले धेरै विकास भएछ । छोरा पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाएपछि गाउँ फर्किन पनि सकिन्छ ।’


बाबुआमाले गाउँ छोड्न नमानेपछि भीमलाल बेल्बासे वनगाईमा बसेका छन् । ‘घर बनाएपछि बाबुआमालाई लगेको थिएँ, एक सातामै फर्किनुभयो,’ उनले भने ।


गाउँमा पुराना इष्टमित्र, साथीभाइ, नातेदार छन् । रमाइलो हुन्छ । ‘छोराको घरमा त कोही चिनेको छैन, कतै जाउँला भन्ने छैन, बस्नै गाह्रो भएर फर्कियौं,’ भीमलालका बाबु डिलारामले भने, ‘गाउँमा एउटा भैंसी पालेर दूध खान पाइएको छ । सक्दासम्म यहीं बस्ने हो ।’ ‘पहिला कतै जानु थिएन, खेती गर्ने र पुख्र्यौली भूमिमै जिन्दगी बिताउने गर्थे,’ जलुकेका जुनबहादुर पुलामीले भने, ‘अहिले विदेशबाट पैसा आएपछि गाउँमा कुटो–कोदालो गरेर बस्दैनन् ।’


पहिले गाई–भैंसी, बाख्रा कसले कति धेरै पालेको छ, कसले धेरै अन्न उब्जनी गर्‍यो भन्ने प्रतिस्पर्धा हुन्थ्यो तर अहिले सहर झर्नेको तँछाडमछाड भएको उनले बताए । ‘श्रीमान् विदेश नजाँदै श्रीमतीले सहरमा डेरा लिन्छन् । घर भत्केको, बारी बाँझिएको र बूढाबूढीले दु:ख पाएको उनीहरूलाई चासै हँुदैन,’ पुलामीले भने, ‘विदेशी पैसाले गाउँ रित्तिँदै गयो । यसभन्दा दु:खद कुरा अरू के होला ?’

प्रकाशित : पुस १७, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?