शुल्क बढ्दा सेवा मुस्किल

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्यधिक शुल्क वृद्धि भएको छ । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व हस्तान्तरण भएको ३ महिनामा सर्वसाधारणले सेवा लिनै नसक्ने गरी शुल्क बढाएको हो । सबै सेवामा मंगलबार शुल्क वृद्धि गरिएको छ । 

शुल्क बढ्दा सेवा मुस्किल

हालसम्म २५ रुपैयाँ रहेको ओपीडी शुल्क १ सय र ३० बनाइएको छ । यस्तै इमर्जेन्सी शुल्क २ सय रुपैयाँ कायम गरिएको छ । नि:शुल्क हुँदै आएको प्रसूति सेवामा समेत शुल्क बढाइएको छ । यसबाट प्रसूति सेवा लिनेहरू समस्यामा पर्ने देखिएको छ । अहिले सबैतिर सुत्केरी हुँदा लाग्ने सम्पूर्ण खर्च नि:शुल्क गरिएको छ । सुत्केरीले यातायात तथा गर्भजाँच खर्चसमेत पाउने गरेका छन् तर प्रतिष्ठानमा सामान्य सुत्केरी हुँदा अब ३ हजारभन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । जटिल प्रकृतिको सुत्केरीका लागि ५ हजार र शल्यक्रियाबाट सुत्केरी गराउँदा १२ हजार लाग्ने सूची जारी गरिएको छ ।


यसैगरी कुनै पनि शुल्क नलिई भर्ना भएका बिरामीले शय्याका लागि अब प्रतिदिन २ सय २० रुपैयाँ तिर्नुपर्ने छ । भिडियो एक्सरे ५ सयबाट ६ सय, मुख्य शल्यक्रिया ५ बाट १२ हजार, मध्यम खालको १ हजार ५ सयबाट ६ हजार ५ सय र सामान्य शल्यक्रिया १ हजारबाट २ हजार ५ सय पुर्‍याइएको छ । प्रयोगशाला शल्यक्रियाको १५ हजार, जनरल एनेस्थेसियाको ३ हजार ५ सय र स्पाइनल एनेस्थेसियाको २ हजार ५ सय तोकिएको छ ।


प्रतिष्ठान आफंै कमाएर खर्च गर्ने संस्था भएकाले शुल्क बढाउनुपरेको उपकुलपति डा. संगीता भण्डारीले बताइन् । यसअघि सुत्केरी महिलाले पाउँदै आएको आमा सुरक्षा कार्यक्रमको बजेट पनि प्रदेश सरकारले राखेर प्रतिष्ठानमा दिन नमिल्ने बताएकाले शुल्क लिन बाध्य भएको उनले जनाइन् । यसअघि सरकारले सामान्य सुत्केरी गराउँदा १ हजार ५ सय, जटिल प्रसूतिको ३ हजार र शल्यक्रियाको ७ हजार दिँदै आएको थियो । यसैगरी गर्भजाँचको प्रतिव्यक्ति ८ सय र भाडा खर्च १ हजार आउने गरेकामा प्रतिष्ठान बनेपछि रोकिएको भण्डारीले जनाइन् ।


फिर्ता गर्न माग

प्रतिष्ठानले उपचार सेवाको शुल्क वृद्धि गरेपछि यसको सर्वत्र विरोध भएको छ । सदरमुकाममा अर्को सरकारी अस्पताल नभएको अवस्थामा अत्यधिक शुल्क वृद्धि गर्दा सर्वसाधारण स्वास्थ्य सेवा लिन नसक्ने अवस्थामा पुग्ने नागरिक अगुवाले बताए ।


नागरिक समाज, प्रतिष्ठान सरोकार समिति र राजनीतिक दलले प्रतिष्ठानले मंगलबारदेखि सेवा शुल्क वृद्धि गरेकामा आपत्ति जनाई तत्काल फिर्ता लिन माग गरेका छन् । नागरिक समाजको मंगलबार घोराहीमा बसेको बैठकले ४ गुणासम्म स्वास्थ्य सेवा बढाएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।


यसैगरी, प्रतिष्ठान सरोकार समितिको बैठकले शुल्क वृद्धि नगर्न माग गरेको छ । प्रतिष्ठानले गरेको वृद्धिले सर्वसाधारणको उपचार प्रभावित हुने समितिका संयोजक नारायणप्रसाद भुसालले बताए । यसैगरी राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत शुल्क बढाएकामा आपत्ति जनाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा जारी विज्ञप्तिमा अस्पतालले दिँदै आएको सेवासुविधाको कटौती गरी शुल्क वृद्धि गर्नु दु:खद भएको जनाएका छन् ।


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि शुल्क वृद्धि नगर्न आग्रह गरेका छन् । पोखरेललाई भेट्न पुगेको प्रतिष्ठान पदाधिकारी टोलीलाई उनले जनतालाई सेवा लिनै कठिन हुने खालको शुल्क नतोक्न आग्रह गरे । रोकिएको बजेट निकासा गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले तत्काल जनतालाई सुविधा हुने गरी सेवा दिन सुझाव दिए ।


सेवा वृद्धिको दाबी

प्रतिष्ठानले शुल्कसँगै सेवा पनि वृद्धि गरेको दाबी गरेको छ । सेवा विस्तार गरी शुल्क लिन थालिएको अस्पतालका निर्देशक डा. ऋतु शर्मा बरालले बताइन् । विभिन्न प्राविधिक जाँचमा उच्च प्रविधि प्रयोग गर्न थालिएको उनले जनाइन् । एकसाथ धेरै परीक्षण गर्न सकिने यन्त्र जडान गर्न थालिएको उनी बताउँछिन् ।


आफ्नै फार्मेसी सञ्चालन, डायलासिस सेवा प्रभावकारी, नवजात शिशुका लागि ६ बेडको व्यवस्था, एक महिनासम्मका शिशुको उपचार विशेषज्ञ चिकित्सकबाट र ४ शल्यक्रिया कक्ष थपजस्ता काम गर्न थालिएको बरालले बताइन् । मंगलवारदेखि ओपीडी काउन्टरको समय बिहान ८ देखि १२ बजेसम्म कायम गरिएको छ । शुक्रबार भने ८ देखि ११ बजेसम्म टिकट काटन सकिनेछ ।

प्रकाशित : पुस १८, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?