कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा सडक खाना महोत्सव : रैथाने स्वादले पर्यटक लोभ्यायो

मनोज पौडेल

लुम्बिनी — अस्ट्रेलियाकी पर्यटक मारिया कोमिनोले थारू परिकार घोंगी मज्जाले खाइन् । ‘पिज्जा–बर्गर त बाहिरतिर पनि पाइन्छ,’ उनले भनिन्, ‘रैथाने माछा र चामलको रोटी खाएर स्वाद फेरें ।’ यसपटकको नेपाल आगमन थारू परिकारले आनन्दपूर्ण बनेको उनले बताइन् ।

लुम्बिनीमा सडक खाना महोत्सव : रैथाने स्वादले पर्यटक लोभ्यायो

उनीजस्तै सुनवलबाट आएकी पूजा गुरुङले पनि खाना महोत्सवमा रमाएको बताइन् । ‘पहिलोचोटि हैदरावादी बिरयानीको स्वाद लिएँ,’ उनले भनिन्, ‘स्वादले कठ्यांग्रिँदो रातको जाडो पनि बिर्सायो ।’


अंग्रेजी नयाँ वर्षको अवसर पारेर लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षण थप्न खाना महोत्सव आयोजना गरिएको थियो । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार साँझ आयोजित सातौं सडक खाना महोत्सवमा थुप्रै स्वदेशी/विदेशी पर्यटक रमाए । ‘स्थानीय स्वादमा आकर्षण बढाउने र पर्यटकीय स्थलबारे जानकारी दिई पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य हो,’ सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘यसले लुम्बिनीसँगै यहाँको खानाको परिकारको पनि प्रचार भयो ।’


महोत्सवमा बर्गर–पिज्जादेखि खसी, कुखुरा, बुंगुर, हाँसका परिकार थिए । भारतीय खानाका परिकार पनि थिए । आलुका परिकारका साथै थारूदेखि अवधी परिकारले आगन्तुकको मन जितेका थिए । थारूको चिचर, सिद्रा माछा, ढिक्री, फारा र टमाटरको अचारको स्वादले बढी बजार पाएको थियो । विदेशीभन्दा स्थानीय स्वादले धेरैलाई आकर्षित गरेको थियो ।


व्यस्त महिलवार बजारमा आवागमन बन्द गरी महोत्सव गरिएको थियो । करिब १ किमि लामो सडकका दुवैतिर स्थानीयदेखि तारे होटलसम्मका स्टल थिए । साँझ ७ बजेबाट सञ्चालन भएको महोत्सव १ बजेसम्म चलेको थियो । रातिको १२ बज्नासाथ आतिशबाजी गरी खुसियाली मनाउँदै नयाँ वर्षको स्वागत गरिएको थियो । ४ ठाउँमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सुरुमा पञ्चेबाजा, त्यसपछि भाङग्रा, थारूको भुमरा नाच र अन्त्यमा स्टेज कार्यक्रम आयोजना गरिएको थियो । स्टेजमा स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए । भोजपुरी गीतमा स्टेजै उचालिने गरी नाच्नेहरू थिए ।


महोत्सवमा भैरहवा, बुटवल, तौलिहवा, जितपुर, गोरुसिंगे, सुनवल र परासीलगायत बजारका बासिन्दाको आगमन थियो । महोत्सवमा स्थानीयको पनि उल्लेख्य उपस्थिति थियो । ‘धेरैले एक छाक सडकमै खाएर रमाइलो गरे,’ स्थानीय वकिन विकले भने, ‘यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्यो ।’ यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने उनको सुझाव छ ।


सिद्धार्थ होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले विभिन्न जातजातिमा बाँडिएको नेपाली समाज आवश्यक पर्दा एक हुन पनि जानेको छ भन्ने सन्देश खाना महोत्सवले दिएको जिकिर गरे । महोत्सवले साम्प्रदायिक सद्भाव र एकता मजबुत हुने भएकाले बेलाबेलामा यस्ता कार्यक्रम भइरहनुपर्ने उनले बताए । बुद्धस्थलको खाना/खाजाको स्वाद दिएर पर्यटकलाई आकर्षित गर्न सके पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई पनि फाइदा पुग्ने पर्यटन उद्यमी किरणचन्द्र पौडेलले सुनाए ।

प्रकाशित : पुस १८, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?