कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नयाँ गन्तव्य बन्दै झुलेनी

प्यूठान — भौतिक पूर्वाधार निर्माणमा सरोकारवाला निकायको ध्यान जान थालेको छ । वर्षौं ओझेलमा परेको झुलेनी क्षेत्र अब आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्ने संकेत देखिँदै छ । 

नयाँ गन्तव्य बन्दै झुलेनी

समुद्री सतहदेखि १ हजार ९ सय ९१ मिटर उचाइमा रहेको प्यूठान उपत्यकासहित नौबहिनी गाउँपालिका क्षेत्रलाई अवलोकन गर्न सकिने माझकोटको झुलेनीसम्म पदमार्गलगायत भौतिक पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको हो ।


डाडाँमा पुगेपछि झुलेनी क्षेत्र समथर छ । बीचमा पोखरी निर्माण गरिएको छ । यहाँबाट प्यूठानका धेरैजसो भूभागसहित विभिन्न हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ । मिलेको फोप्लीको लुप्लुङ गाउँ नजिकबाटै नियाल्न सकिन्छ । यसले गर्दा बिजुवार, बाग्दुलाबाट घुम्न, फिकनिक खान झुलेनी जानेहरू बढेका छन् ।


प्यूठान–६ माझकोटमा पर्ने झुलेनीका आफ्नै केही खास विशेषता छन् । स्थानीय बूढापाकाका अनुसार देशभर रहेका धनञ्जय गोत्रीय भण्डारीको उत्पत्ति यहींबाट भएको हो । मनोरम एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण झुलेनीको प्रवद्र्धनमा स्थानीय कस्सिएका छन् । ढाडमेला सामुदायिक वन जुम्मिलधारा क्षेत्रमा झुलेनी रहेको छ । अव्यस्थित रूपमा फैलिएको झाडीलाई स्थानीयले फँडानी गरेर चिटिक्क पारेका छन् ।


प्यूठान नगरपालिकास्थित धर्मावतीको खप्रेङखोला–खलीगाउँ हुँदै आरूगैरासम्म नियमित जिप सञ्चालनमा छ । आरूगैरा ओर्लेपछि झन्डै २ किमि पैदल हिँडेपछि झुलेनी पुगिन्छ । अर्कोतर्फ ओखरबोटको कालीपोखरीबाट झुलेनीसम्म पदमार्ग निर्माण गरिएको छ । गाडीबाट ओर्लेर करिब आधा घण्टा हिँडेपछि झुलेनी पुग्न सकिन्छ । लुकेर रहेको झुलेनीको विकास एवं प्रवद्र्धनका लागि यस वर्ष पूर्वाधार निर्माणको काम गरेको झुलेनी संरक्षण समिति अध्यक्ष माधवराज भण्डारीले बताए । झुलेनी क्षेत्रभरि रहेको झाडी सफा गर्ने, पैदल मार्ग निर्माण, वृक्षरोपण, तारजालीलगायतको काम पूरा भएको छ ।


‘प्रचार अभावले सम्भावनाले भरिपूर्ण झुलेनी ओझेलमा परेको थियो,’ स्थानीय मतिराम भण्डारीले भने, ‘नेपाल पर्यटन वोर्डबाट १० लाख रुपैयाँ बजेट आएपछि संरक्षण सुरु भएको हो ।’ यसअघि केही निकायमा झुलेनीको विकासमा बजेट माग गरे पनि सुनुवाइ नहँुदा काम गर्न नसकिएको उनले बताए । पिकनिक स्थल, भ्यु टावर निर्माण, होमस्टे, प्रतीक्षालय र खानेपानी व्यवस्थापनको योजना अघि बढाइँदै छ । यस वर्ष नौबहिनी गाउँपालिकाले झुलेनी क्षेत्रको विकासका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


प्यूठान नगरपालिकाले नगर पर्यटन गुरुयोजनामा झुलेनीलाई नगरभित्रको प्रमुख पर्यटकीय गन्तव्य मानेर गुरुयोजनामा समावेश गरेको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति बताउँछन् । ‘नगरको पर्यटन गुरुयोजनामा झुलेनीलाई विशेष प्राथमिकता दिएका छौं,’ उनले भने, ‘हरेक हिसाबले यस क्षेत्रमा सम्भावना देखिन्छ ।’ स्थानीयको आय आर्जनसँगै नगरपालिकाको समृद्धिसँग यसलाई अघि बढाउन सकिने उनले बताए । आकर्षक पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउने गरी झुलेनीको गुरुयोजना बनाइएको छ । मनोरम एवं शान्तिपूर्ण झुलेनी क्षेत्रको प्रवद्र्धन एवं विकास गर्न सके आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने आशा गरिएको कक्षपतिले बताए ।


जिल्ला वन डिभिजन कार्यालयमार्फत ५० लाख रुपैयाँमा स्वर्गद्वारी–गौमुखी पदमार्ग निर्माण गर्न थालिएको र सोही मार्ग झुलेनी क्षेत्रमा पनि पुर्‍याउने गरी योजना बनाइएको डिभिजन प्रमुख अम्मिकाप्रसाद पौडेलले बताए । ‘स्वर्गद्वारी आएका पर्यटकलाई पदमार्ग हुँदै झुलेनी भएर गौमुखी पुर्‍याउने लक्षसहित पदमार्ग निर्माण गर्दैछौं,’ उनले भने, ‘ऐतिहासिक स्थलहरूलाई पर्यटनसँग जोडेर राम्रो आम्दानी गर्न सकिन्छ ।’

प्रकाशित : पुस १८, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?