जोडियो बाँदीकोट–ओखरकोट

प्यूठान — झिमरुक गाउँपालिकाका दुई महत्त्वपूर्ण बस्ती हुन्, ओखरकोट र बाँदीकोट । दुवै गाउँमा रहेका कोटबाट पहिले भुरेटाकुरे राजाले शासन चलाउँथे । दुवै नजिकै छन् । दुई गाउँको बीचमा रहेको कोटाको चरी लड्ने भीर गाउँलेका लागि वर्षौंदेखि विकासमा तगारो बनेर ठडिएको थियो ।

जोडियो बाँदीकोट–ओखरकोट

त्यही भीर फोरेर अहिले गाडी गुड्ने सडक निर्माण भएपछि दुवै गाउँका स्थानीय हर्षित छन् । पशु चौपाया खरिद–बिक्री गरेर ओसारपसार गर्न, आफन्त भेटघाट गर्न स्थानीयलाई घण्टौं घुमाउरो बाटो भएर हिँड्नुपथ्र्यो । त्यही कठिनाइ हटेकामा स्थानीय खुसी देखिएका हुन् ।


सडक बनेपछि स्थानीयको वर्षौंको विकासको सपना पूरा भएको झिमरुक–५ ओखरकोटका ७५ वर्षीय चेतबहादुर विकले बताए । ‘भीरको ढुंगा फोरेर दुई गाउँ जोड्ने गोरेटो बाटो भए पनि निर्माण गर्ने स्थानीयको वर्षौंको सपना हो,’ उनले भने, ‘यसपालि गाडी नै गुड्ने सडक निर्माण पूरा हुँदा गाउँले खुसी छौं ।’


पञ्चायतकालमा बाँदीकोटबाट ओखरकोटमा खानेपानी ल्याउन बिछ्याइए पाइपमाथि नै हिँडदाहिँडदै गोरेटो बाटो बनेको थियो । त्यही बाटोमा जोखिम मोलेर हिँडदा भाइ साङला विकको लडेर मृत्यु भएको चेतबहादुरले सुनाए । ‘भीरबाट लडेर पशुचौपाया त कति मरे कति ।,’ उनले भने, ‘मेरो भाइसहित दर्जनभन्दा बढी स्थानीय त यही भीरमा लडेर मरेका छन् ।’


सडक निर्माणले दुई गाउँलेबीच आवत–जावतमा सहज भएको स्थानीय थानेश्वर पोख्रेल बताउँछन् । ‘यस्तो ढुंगा फोरेर सडक बन्ला भन्ने सोचेकै थिएनौं,’ ६८ वर्षीय पोख्रेलले भने, ‘पहिले ओखरकोट र बाँदीकोटकै राजाका पालामा समेत गोरेटो बाटो निर्माण गर्न सकेका थिएनन् । अहिले भीरमा मोटर बाटो निर्माण हुँदा सबै जना दंग छौं ।’ गौंथली चरीले गुँड लगाउनसमेत नसक्ने पहरा फोरेर सडक बनाउने डोजर/जेसीबी चालकलाई स्थानीयले फूलमाला लगाएर सम्मानसमेत गरेको पोख्रेलले बताए ।


पहिले ओखरकोटबाट बाँदीकोट पुग्न २ घण्टा लाग्नेमा अचेल १०/१५ मिनेटमै बाँदीकोटको काशीपोखरा पुग्न सकिने पोख्रेलले बताए । ‘नेताले विकास गर्ने कुरा गर्थे,’ पोख्रेलले भने, ‘यो सडक खुलेपछि साँच्चैको विकासको अनुभूति गर्न पायौं ।’


सडक डिभिजन कार्यालयमार्फत ओखरकोट–बाँदीकोट सडक निर्माणको ट्रयाक खुलेको हो । सडक निर्माणका लागि ३ करोडमा टेन्डर भएर १ करोड ८१ लाख भ्याटबाहेकमा ठेक्का सम्झौता भएको डिभिजन कार्यालय प्यूठानका इन्जिनियर राजेश यादवले बताए । ‘सुरुमा सडक नाप्न जाँदा हामीले पनि सडक निर्माण होला भन्ने पत्याएका थिएनौं,’ उनले भने, ‘फिल्डमा पुग्न सक्ने अवस्थै थिएन । सर्वेसमेत अनुमानका भरमा गरेका हांै ।’ पूरै पहरो फोरेर १ किमि सडक निर्माण पूरा भएको यादवले बताए ।


सडक निर्माणको ठेक्का जोसी/लेकाली जेभीले लिएर काम गरेको हो । पत्थर फोर्न जेसीबी कम्पनीका २ मेसिनले झन्डै १० महिना लगातार ब्रेकर हान्न परेको निर्माण व्यवसायी सुनील शाही लेकालीले बताए । ‘ठेक्का पारेर फिल्डमा पुग्दा काम गर्न सकिँदैन कि भनेर निराश भएका थियौं,’ उनले भने, ‘काम गर्दै जाँदा सम्भव भयो ।’ ६० मिटरसम्म अग्लो पत्थर फोरेर सडक बनाएको लेकालीले बताए ।


‘६८ लाख रुपैयाँको त तेल मात्र सकिएको छ,’ उनले भने, ‘मेसिनको ब्रेकर नै बिग्रेर दुईपटक फेर्न पर्ने भयो ।’ लामो समयसम्म पत्थरमा मात्र काम गर्दा मेसिनका दर्जनौं सामग्री फेर्न परेको उनले सुनाए । ‘मुस्किलले पत्थर फोरेर सडक निर्माण गर्‍यौं,’ उनले भने, ‘तर, अझै १ करोड ४९ लाख भुक्तानी पाएका छैनौं ।’


स्थानीय स्तरका रणनीतिक सडक शीर्षकमा यसपालि बजेट नआएपछि भुक्तानी दिन नसकिएको सडक डिभिजन कार्यालयका लेखा अधिकृत तुल्सीराम रिजालले बताए । ‘यो शीर्षकको बजेट यसपालि प्रदेशमा गएको छ,’ उनले भने, ‘त्यसैले भुक्तानी कसरी दिने भन्ने टुंगो छैन ।’


अस्पताल लाइनको सडक अलपत्र

प्यूठान नगरपालिका–४ को बिजुवार अस्पताल लाइन दिनानुदिन अव्यवस्थित बन्दै गएको छ । बिजुवार टारीतर्फबाट आउने कुलोको पानीको हिलो र फोहोरले अस्पताल लाइन कुरूप बनेको हो । वर्षौं पहिले निर्माण गरिएको ढलमा पानीको निकास राम्रो नहुँदा समस्या भएको छ ।


स्थानीय बद्री श्रेष्ठका अनुसार अस्पताल जाने सडकको हालत बेहाल हुँदा पनि स्थानीय सरकारको ध्यान नपुग्नु दुर्भाग्य भएको बताए । टारीको कुलोबाट आउने पानी र फोहोरले पहिले निर्माण गरेको ढल थुनिएर समस्या थपिएको हो । यसले बजारभरि नै फोहोर बढेको छ ।


दिनहुँ सफा गरे पनि निकास नहुँदा समस्या भइरहेको स्थानीयले गुनासो गरे । बिरामी लिएर आउने एम्बुलेन्स, पैदल हिँडने बिरामीलाई समेत समस्या भइरहेको स्थानीय नवीन गौतमले बताए । ‘पानीको व्यवस्थापन गर्नका लागि हामीले केही रुपैयाँ चन्दा संकलन गरेर काम गर्‍यौं,’ गौतमले भने, ‘यसले पनि निकास दिएन ।’

प्रकाशित : पुस २०, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?