कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काममा एकरूपता ल्याउन जनप्रतिनिधिको भेला

घनश्याम गौतम

गुल्मी — स्थानीय तह सञ्चालन निर्देशिकामा एउटै कानुनी व्यवस्था भए पनि धेरै स्थानीय तहबीच कार्यशैलीमा समस्या छ । करका दायरा तह अनुसार फरक छन् ।

काममा एकरूपता ल्याउन जनप्रतिनिधिको भेला

समस्यामा सामूहिक छलफल गर्ने, काम र कार्यविधिमा समेत एकरूपता ल्याउने गरी गुल्मीको निर्वाचन क्षेत्र नं. २ का जनप्रतिनिधि र कर्मचारीले सामूहिक भेला गर्दै कानुन र कार्यविधिमा एकरूपता कायम गर्ने निर्णय गरेका छन् ।


नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित शुक्रबार धुर्कोट गाउँपालिकामा भएको भेलाले कार्यविधि, काम र शैलीमा एकरूपता ल्याउने निर्णय गरेको हो ।


भेलाको आयोजना र संयोजन धुर्कोट गाउँपालिकाले गरेको थियो । भेलामा त्यस क्षेत्रका २ नगरपालिका र ४ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहभागी थिए । धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले स्थानीय तहको काममा एकरूपता ल्याउनका लागि गरिएको यस्तो भेला पहिलो भएको दाबी गरे । यसपछि पनि त्यस्ता भेला स्थानीय तहले पालैपालो गर्ने निर्णय गरेका छन् ।


‘पहिलोपटकको भेलाले अहिलेसम्मका अनुभव आदानप्रदान, समस्याको पहिचान र अब बन्ने कार्यविधि र गर्ने काममा एकरूपता कायम गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यो पनि पहिलो अभ्यास हो ।’


वडाध्यक्षसहितको सहभागिता रहेकाले भेलाले योजना निर्माणमा समेत विशेष महत्त्व राखेको उपाध्यक्ष शिवबहादुर खत्रीले बताए । पहिलो भेलाले करको दर र दायरामा समानता ल्याउन, मदिरा बिक्री–वितरण नियन्त्रण गर्न र कृषिजन्य उत्पादनमा समानता कायम गर्न एकै प्रकारको कार्यविधि तयार गर्ने निर्णय गरेको छ ।


करको दर, दायरा र मापदण्ड तयार गर्न रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले १ महिनाभित्रै प्रतिवेदन पेस गर्नेछ ।


स्थानीय तहको योजना छनोट गर्न, बजेट विनियोजनको मापदण्ड गराउन र सुझावका लागि रेसुंगा नगरपालिकाका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमको संयोजकत्वमा समिति बनेको छ । त्यस्तै मदिरा नियन्त्रणका लागि इस्मा गाउँपालिकाले तयार गरेको कार्यविधि र कानुनलाई सबै स्थानीय तहले अध्ययन गरी आवश्यकता अनुसार परिमार्जन गरेर कार्यान्वयन गर्ने निर्णय भएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।


‘कार्यविधि र कानुन समान हुन सकेमा काममा पनि एकरूपता आउँछ,’ उनले भने, ‘त्यसैले एक अर्काले तयार गरेका कानुन र कार्यविधि अध्ययन गर्ने, छलफल गर्ने र समानता कायम गर्ने गरी निर्णय भएका छन् ।’ सबैको सहकार्यमा कार्यान्वयन गर्दै लैजानका लागि भेलाले सहयोग गरेको उनले बताए ।


मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीका अनुसार गत वर्ष नै गर्नुपर्ने भए पनि स्थानीय तहबीच एक आपसमा समन्वय अभावले यस्तो छलफल हुन सकेको थिएन । अहिले ढिलै भए पनि भेलाले महत्त्वपूर्ण निर्णय र सहकार्यका लागि सहजता प्रदान गरेको छ ।


‘अहिलेसम्म योजना कसरी राम्रा बनाउने भन्ने भन्दा पनि कसरी चर्चा बटुल्ने भन्ने प्रतिस्पर्धा देखिएको थियो,’ उनले भने, ‘अब त्यो अवस्था अन्त्य भएर कसरी राम्रो योजना गराउने र कार्यान्वयन गर्ने भन्नेमा धेरैको ध्यान पुग्नेछ ।’


भेलामा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेत पनि पुगेका थिए । समाजमा धेरै घटना मदिराकै कारणले हुने गरेकाले त्यसलाई नियन्त्रणको कानुन गराउन उनले आग्रह गरेका थिए । भेलाले त्यसलाई पनि महत्त्वपूर्ण सुझावका रूपमा ग्रहण गर्दै कडाइ गर्न समान कानुन बनाउने निर्णय लिएको उनले बताए ।


भेलाले पछिल्ला वर्षमा कृषिमा युवाको आकर्षण बढै गएको निष्कर्ष निकाल्दै त्यसलाई टिकाउनका लागि उत्पादनको बजारीकरणमा समानता कायम गर्ने निर्णय पनि गरेको छ । उत्पादन बढिरहेको र त्यसलाई समयमै व्यवस्थापन गर्न नसके युवा किसानमा निराशा उत्पन्न हुने भन्दै बजारीकरणमा समान नीति गराउन मुसिकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक प्रकाश काफ्लेको संयोजकत्वमा समिति गठन भएको छ ।


रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले विकासका लागि आर्थिक, सामाजिक, भौतिक, पूर्वाधार, सुशासन सबैमा एकरूपता कायम गर्नुपर्ने बताए । ‘स्थानीय तहको विकासका लागि कर अनिवार्य विषय हो,’ उनले भने, ‘तर, कर लिने त्यसको प्रत्यक्ष फाइदा जनतालाई नै हो भन्ने बुझाउन नसक्दा सबैतिर अन्योल बढेको छ ।’


भेलाले त्यस्ता समस्या समाधानमा समेत छलफल गरेको उनले बताए । भेलाले बजारीकरणको चुनौतीलाई स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : पुस २२, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?