१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आर्थिक संकटमा जलजला क्याम्पस

काशीराम डाँगी

रोल्पा — जलजला बहुमुखी क्याम्पस चरम आर्थिक संकटमा देखिएको छ । आर्थिक अभाव देखाउँदै यहाँ कार्यरत शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

जसका कारण शैक्षिक गुणस्तर ज्यादै खस्किएको छ । निरन्तर आन्दोलन भइरहेकाले एकातिर शैक्षिक गुणस्तर खस्कँदो छ भने अर्कातिर राजनीतिक हस्तक्षेप बढ्दो छ । शिक्षक नियुक्त गर्दा र व्यवस्थापन समिति चयन गर्दा राजनीतिक प्रभाव पर्दै आएको आरोपबाट क्याम्पस मुक्त हुन सकेको छैन ।


पछिल्लोपटक मध्यपश्चिम विश्वविद्यालयले क्याम्पसका शिक्षक र कर्मचारीलाई नियुक्ति पत्र र तलब नदिएको भन्दै पुन: आन्दोलन सुरु भएको छ । शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएपछि क्याम्पस बन्द छ । शिक्षकले नै क्याम्पस प्रमुखको कार्यकक्षमा गत पुस १६ गतेदेखि ताला लगाइदिएपछि क्याम्पसको पठनपाठन पूर्ण ठप्प भएको हो ।


शिक्षकले तलब नपाउने अवस्था एकातिर छ भने पढाइ गुणस्तरीय नभएको भन्दै विद्यार्थीले पनि बेलाबेलामा आन्दोलन गर्दै आएका छन् । सुरुमा त्रिभुवन विश्वविद्यालयबाट पाएको सम्बन्धन रद्द गर्दै क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन लिने निर्णय गरेको छ ।


आर्थिक अभावबाट मुक्त हुन नसकेपछि क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन खोजेको हो । तर, विश्वविद्यालयले सम्बन्धन दिन ढिलाइ गरेपछि रोल्पाको जलजलासहित यस क्षेत्रका १० क्याम्पसमा कार्यरत सबै शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।


नियुक्ति पत्र र तलब नदिएको विरोध गर्दै पूर्वक्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपाने नेतृत्वमा शिक्षक र कर्मचारीले संघर्ष समिति नै बनाएका छन् । संघर्षमा अर्का पूर्वक्याम्पस प्रमुख विनोद आचार्यसमेत आबद्ध छन् ।


जलजला क्याम्पसका सबै कर्मचारीले मध्यपश्चिम विश्वविद्यालयको मुख्यालय सुर्खेतसम्मै पुगेर घेराबन्दीसमेत गरे । शिक्षकले ६ महिनादेखि तलब नपाएको गुनसो गरेका छन् । क्याम्पसमा शिक्षक र कर्मचारी गरी १८ जना कार्यरत छन् । यहाँ मानविकी, शिक्षा र वाणिज्य संकायको पढाइ हुन्छ ।


सुरुमा सम्बन्धन प्रदान गर्दा र क्याम्पस चरम आर्थिक संकटमा पर्दा त्रिभुवन विश्वविद्यालयले गम्भीर अनुसन्धान र जाँचबुझ नगरेको स्थानीयको गुनासो छ । विश्वविद्यालयले अपनत्व ग्रहण गर्न नसक्दा यो समस्या आएको उनीहरूको भनाइ छ ।


उस्तै छ, विवाद र अस्तव्यस्तता

शिक्षक छनोट र व्यवस्थापन समिति चयन गर्दा निष्पक्षता र योग्यताको कदर नगरिएको आरोप क्याम्पसमाथि लाग्दै आएको छ । बिनाप्रतिस्पर्धा, राजनीतिक शक्तिको दुरुपयोग र भनसुनका

भरमा शिक्षक र कर्मचारी नियुक्त गर्दै आएको उनीहरूको आरोप छ ।


राजनीतिक शक्तिका भरमा ‘सेटिङ’ मिलाएर क्याम्पस सञ्चालन गर्दै आएको आरोप लगाउँदै स्थानीय बुद्धिजीवी र नागरिक समुदायले रोष प्रकट गरेका छन् । क्याम्पस प्रमुख विष्णु आचार्य आर्थिक अभावका बीच क्याम्पस सञ्चालन गर्नुपर्दा सास्ती भोग्नुपरेको बताउँछन् ।


‘क्याम्पसको नियमित आर्थिक स्रोत नभएकाले भनसुन र परनिर्भर भएरै तलब जुटाउनु परेको छ,’ उनले भने, ‘क्याम्पसका तीनै संकायमा विद्यार्थी न्यून छन् । विद्यार्थी संख्या वृद्धि भए गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्न सकिने थियो ।’


आयव्यय सार्वजनिक भएन

क्याम्पसको आर्थिक अवस्था निकै कमजोर भएको निष्कर्षसहित क्याम्पसले ०७२ मा धार्मिक महोत्सव आयोजना गरेको थियो । आर्थिक संकलन गर्ने मुख्य उद्देश्यबाट उक्त महोत्सवको आयोजना गरिएको थियो ।


महोत्सवबाट अपेक्षाअनुसार नै आर्थिक संकलन भयो । महोत्सवमार्फत नगद र जिन्सी गरी २ करोड १६ लाख रकम संकलन भएको सार्वजनिक घोषणा गरिए पनि उक्त रकम अझैसम्म संकलन गर्न बाँकी नै छ ।


रोल्पा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष बालकृष्ण सुवेदीको संयोजकत्वमा महोत्सव सञ्चालन गरिएको थियो ।


संकलित रकमबाट क्याम्पसका लागि तीन मुख्य योजना अघि सारिएको थियो । क्याम्पसका लागि नियमित बलियो आर्थिक स्रोत स्थापना गर्नुका साथै स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न, आधुनिक पुस्तकालय सञ्चालन गर्न र अक्षयकोष स्थापना गर्न क्याम्पसकै आयोजनामा महोत्सव नै आयोजना गर्ने सर्वपक्षीय निर्णय गरिएको थियो ।


तर, संकलित रकम पारदर्शी नभएको र सार्वजनिक नै नगरिएकोप्रति स्थानीय आक्रोशित भएका छन् । चार वर्षसम्म पनि संकलित रकम सार्वजनिक नगर्दा क्याम्पस प्रशासन, व्यवस्थापन समिति र रोल्पा उद्योग वाणिज्य संघ आलोचित बन्दै आएका छन् ।


क्याम्पस प्रमुख आचार्यले निकट भविष्यमा क्याम्पस सभा आयोजना गर्ने योजना रहेको बताए । उनले क्याम्पस व्यवस्थापन समितिले चासो बढाएमा क्याम्पसको विकासमा सहयोग पुग्ने बताए ।


हाल क्याम्पस व्यवस्थापन समिति अध्यक्षमा अधिवक्तासमेत रहेका स्थानीय प्रेमप्रकाश हमाल छन् । जिल्लाका तीन क्याम्पसमध्ये थबाङ क्याम्पस यसअघि नै बन्द भइसकेको छ भने जुगारमा रहेको नव नेपाल क्याम्पस जसोतसो सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : पुस २२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?