२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सीमा क्षेत्रमा पार्किङ रोक

जमुनाहा–रुपैडिहा सीमादेखि करिब २ सय मिटर उत्तर नेपालतर्फ नै सवारी साधन राख्न थालिएपछि नाका खुला देखिएको छ
ठाकुरसिंह थारू

नेपालगन्ज — भीडभाडका कारण सुरक्षा जाँचमा समस्या भएको भन्दै नेपाल–भारत सीमा जमुनाहामा सवारी साधन राख्न रोक लगाइएको छ ।

सीमा क्षेत्रमा पार्किङ रोक

सीमावर्ती भारतीय बजार रुपैडिहा आउजाउ गर्न पैदल हिँड्ने सर्वसाधारण र सयाैं ई–रिक्साका भीडका कारण सीमामा सुरक्षा जाँच गर्न समस्या भएको हो । भीडभाडको फाइदा उठाउँदै रुपैडिहाबाट साइकल र पोकापोकीमा थोरै मात्रामा भए पनि क्यारिङबाट तस्करी हुँदै आएको छ ।


नेपाल प्रहरी र नेपालगन्ज भन्सारस्थित सशस्त्र प्रहरीले सीमामा सुरक्षा गर्दै आएका छन् । ठूला तथा साना चारपांग्रे सवारी साधन, रिक्सा, मोटरसाइकल, टाँगा र पैदल यात्रुका कारण जमुनाहा नाकामा निकै ठूलो भीड लाग्ने गरेको हो । जसका कारण सीमाजस्तो संवेदनशील स्थानमा पनि सुरक्षा जाँचमा समस्या हुने गरेको थियो ।


जमुनाहा–रुपैडिहा सीमादेखि करिब २ सय मिटर उत्तर नेपालतर्फ नै सवारी साधन राख्न थालिएपछि नाका खुला देखिएको छ । सुरक्षाकर्मीलाई सुरक्षा जाँच गर्न निकै सहज भएको छ । भारतबाट आउने सवारी साधनलाई एक लाइनमा र सर्वसाधारणलाई अर्को रोहमा राखेर जाँच गर्न थालिएको हो ।


सीमामा देखिने भद्रगोल सुरक्षा व्यवस्था केही हदसम्म चुस्त देखिएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले सीमामा सुरक्षा सतर्कता अपनाउन दशगजा नजिकै राख्ने गरिएको सवारी साधनलाई सशस्त्र प्रहरी जाँच गर्ने स्थानमा रोक्न थालिएको बताए । उनका अनुसार यसअघि रिक्सालगायतका सवारी साधन दशगजामा रोकिंदा निकै भीडभाड हुने गरेको थियो ।


‘सीमानजिक सवारी साधन राख्न रोक लगाएपछि सुरक्षा जाँचमा केही सहज भएको छ । भीडभाड हटेपछि निगरानी गर्न पनि सजिलो भएको हो,’ उनले कान्तिपुरसँग भने, ‘सुरक्षा जाँचलाई व्यवस्थित गर्न पहल गरिएको हो ।’ भीडभाड हटेपछि फुटकर हुने तस्करीमा पनि कमी आएको प्रहरीको दाबी छ ।


नेपालगन्जको जमुनाहा नाकामा एकीकृत सुरक्षा जाँच लागू हुन नसक्दा समस्या हुने गरेको छ । भन्सार, सशस्त्र प्रहरी, नेपाल प्रहरीको छुट्टाछुट्टै जाँचका कारण सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । त्यस्तै विभिन्न वस्तुहरू नेपाल–भारत आयात/निर्यात गर्दा व्यवसायीहरूलाई पनि समस्या हुने गरेको छ ।


यसअघि एकीकृत सुरक्षा जाँचको प्रयास सुरु गरिएको थियो । तर, कार्यान्वयनमा भने समस्या देखिँदै आएको छ । नाकाबाट सवारी साधन हटाइएपछि सशस्त्र प्रहरी जाँच पोस्टमा ट्राफिक जाम हुन थालेको छ । रिक्सा, टाँगा र म्याजिक गाडीका कारण सर्वसाधारणलाई आउजाउमा समस्या हुन थालेको छ ।


पार्किङस्थल नभएका कारण यात्रु पाउने आशाले सवारी साधन सडकमै राख्न थालिएको हो । नेपाली रिक्साका कारण रुपैडिहा बजारमा ट्राफिक जाम हुने गरेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामै रोकिन थालेपछि भीडभाड बढी हुने गरेको थियो । यसअघि रुपैडिहासम्म हल्का सवारी साधन जान्थे । नेपालगन्ज नाकामा एसएसबीले आधुनिक एक्सरे मेसिनबाट सुरक्षा जाँच गरेर भारत जान दिने गरिएको छ ।


सीमास्थित भारतीय अध्यागमन कार्यालयले नेपालगन्ज नाका भएर आउजाउ गर्ने सर्वसाधारणको अभिलेखसमेत राख्ने गरेको छ ।

प्रकाशित : पुस २४, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?