कपास फिट्ने मेसिन पड्किँदा १ को मृत्यु, ४ घाइते 

काशीराम डाँगी

रोल्पा — पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको निगालपानीमा कपास फिट्ने मेसिन पड्केर १ को मृत्यु भएको छ । प्रहरीका अनुसार घटनामा परी ४ जना घाइते छन् । 

मंगलबार बिहान करिब १० बजेतिर उक्त मेसिन जडान गर्ने क्रममा अचानक विस्फोट भएपछि मेसिन जोड्दै गरेका बर्दिया राजापुर ५ निवासी २८ वर्षका जयकृष्ण न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पुख्र्यौली घर कालीकोट भएको प्रहरीले जनाएको छ । त्रिवेणी ४ निगालपानीस्थित तुलसीपुर–जुगार मोटरबाटो छेउमै उक्त मेसिन जडान गर्न थालिएको थियो ।


घाइते हुनेमा जलजला यातायात व्यवसायी समितिमा कार्यरत त्रिवेणी–६ का धनबहादुर पुन, बर्दिया जिल्ला राजापुर–५ का ४२ वर्षका विष्णुचन्द्र न्यौपाने, जनक न्यौपाने र सल्यान जिल्ला कपुरकोट–६ का ६२ वर्षका पहलमान पुन छन् । प्रहरीले मेसिन भर्खरै ल्याइएको र उक्त मेसिन हेर्न पुगेका स्थानीय समेत घाइते भएको जनाएको छ । घाइते विष्णुचन्द्र मेसिन मालिक हुन् भने मृतक जयकृष्ण आफन्त र घाइते जनक उनका दाइ हुन् ।


गम्भीर घाइते धनबहादुरको टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । पुन खतरामुक्त भएको उनका ज्वाईं ऋषिकेश डाँगीले बताए । घाइतेलाई उपचारका लागि दाङस्थित अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले बताए । घटना लगत्तै उद्धारका लागि त्रिवेणी बुढागाउस्थित प्रहरी चौकी कोइलाबाट प्रहरी सई यमनारायण श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।


जंगलमा शव फेला

यसैबीच रोल्पाको त्रिवेणी ५ सिद्धपुर गाउँ निबासी ४३ वर्षका मोटे भनी चिनिने ओमबहादुर नेपाली घर मुनिको जंगलमा मृत अवस्थामा फेला परेका छन् । तीन दिन अघिदेखि परिवारको सम्पर्कबाहिर रहेका ओमबहादुरको शब जंगलमा परिवारले भेटाएर प्रहरीलाई सम्पर्क गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले बताए ।


नेपालीको शव घरदेखि करिव ५ सय मिटर तल खोलामा सिरुवाली–लापिखोजी जंगलमा भेटिएको खबर पाएपछि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अन्तर्गतका प्रहरी टोली घटनास्थल पुगेको प्रनि आचार्यले बताए । परिवारलाई उद्धृत गर्दै प्रहरीले नेपालीले अत्यधिक मद्यपानपछि भिरबाट लडेका कारण मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । उनको शव मंगलबार विहान परिवार र आफन्तले फेला पारेका थिए । उनको घर मुनि जंगल र भिर छ ।


प्रकाशित : पुस २४, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?