१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शिला हेर्न घुइँचो

वीरेन्द्र केसी

अर्घाखाँची — शक्तिपीठ, ऐतिहासिक प्राकृतिक संरचना र अग्ला डाँडामा जान रुचाउने धेरै हुन्छन् । घुम्न जानेलाई जिल्लाका सबै पालिकामा नौला खालका पर्यटकीय संरचना छन् । मालारानी गाउँपालिका–७ वामरुकमा रहेको नरसिंहथानको महत्त्व बेग्लै छ । ढुंगैढुंगाको यस प्राकृतिक संरचनाले धेरैलाई आकर्षित गरेको छ ।

शिला हेर्न घुइँचो


यहाँ आइपुगेपछि ढुंगाको पत्थर शिलामा धेरैले दर्शन गर्ने, तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने र आनन्द लिएर बस्ने गर्छन् । चारैतिर जंगलले घेरेको छ । प्राकृतिक सुन्दरताले सबै मोहित हुन्छन् । इतिहासमा चासो राख्नेले कथा खोज्छन् । नरसिंहथानबारे जानकार भएका व्यक्तिबाट पौराणिक कथा ध्यान दिएर सुन्छन् ।


सत्ययुगमा भगवान् विष्णुले राक्षस राजा हिरण्यकशिपुलाई बध गरी आफ्नो चौथो अवतारका रूपमा नरसिंहको जन्म दिएको पौराणिक कथा छ । हिरण्यकशिपुलाई काखमा राखेर मारेको शिला रहेको छ । ढुंगाभित्र दरबारको चारकोठे प्राकृतिक गुफा, नरसिंह उत्पत्ति हँुदा फुटेको फटिकको मौलो प्रकट हुँदाका बखतको भयानक रूप स्वरूप ५२ हात अग्लो र ५२ हात फेरो भएको नरसिंहको पत्थर शिला रहेको छ ।


विसं १९९० मा वामरुकमा जन्मेका मणिराम बस्नेतले २००१ सालमा सपनामा नरसिंहको दर्शन पाएको र ००३ सालदेखि ०५६ सालसम्म ढुंगाको गुफामा बाघसँगै तपस्या, ध्यान, नित्यपूजा गरेर मृत्यु भएको नरसिंहथान संरक्षण समितिका अध्यक्ष दलबहादुर भट्टराईले बताए ।


बस्नेतले शान्तिको कामना गर्दै जीवनभर तपस्या गरेका थिए । त्यतिबेला देशमा सशस्त्र द्वन्द्व चलेको थियो । इतिहास बुझ्दा यहाँ आएका जोकोहीलाई पनि आनन्द लाग्छ । नरसिंहथानको मन्दिर दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक विश्वासले आन्तरिक पर्यटकको रोजाइमा

परेको छ । दैनिकजसो पर्यटक नरसिंहथान दर्शन गर्न आउने गर्छन् ।


ढुंगैढुंगाको वरिपरिबाट नरसिंहको विशाल शिला घुम्न आधा घण्टा लाग्ने गर्छ । ढुंगैढुंगाबीचको पत्थरभित्र बस्नेत र बाघ बस्ने गुफा र शिलाको बीचमा नरसिंहको मन्दिर निर्माण गरिएको छ ।


पत्थरको बीचमा विभिन्न प्राकृतिक संरचना हेर्न र नरसिंहथान मन्दिरमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वासले भक्तजन र पर्यटकको भीड लाग्ने उनले बताए । हरेक पञ्चमी र नवमीको दिन एवं वैशाख शुक्ल चतुर्दशीमा नरसिंह जन्मदिनमा पूजासहित मेला लाग्छ । नरसिंहथानको संरचना हेर्न पछिल्लो समय विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा आउन थालेको अध्यक्ष भट्टराईले बताए ।

आन्तरिक तथा लुम्बिनी घुमेर आएका बाह्य पर्यटकले शिला घुमेपछि झाडी जंगलभित्र रहेको नरसिंहथानको मन्दिरअगाडि ध्यान बसेर आनन्द लिन्छन् । मन्दिरको संरचना, घुम्ने बाटो, ध्यान बस्ने स्थान निर्माण गरिएको उनले बताए । नरसिंहथान पर्यटकको रोजाइमा पर्न थालेपछि संरचना र बस्ने व्यवस्था मिलाउन लागिरहेको भट्टराईले बताए ।


यहाँ दैनिकजसो आन्तरिक र सातामा एक–दुई दिन विदेशी पर्यटक आउने क्रम बढ्दै गएको छ । जंगलको बीचमा पत्थरै पत्थरको शान्त गुफा, शिलालेख र रमणीय नरसिंहथानमा आउने पर्यटकलाई बस्ने र खाने व्यवस्था गर्नुपर्ने पर्यटकको माग छ । आन्तरिक र बाह्य पर्यटकलाई बसालेर गाउँकै उत्पादन आटो, गुन्द्रुक, ढिंडो, साग, सिस्नो, मही, दूधलगायतका परिकार खुवाएर आम्दानी लिन सकिने धेरैको सुझाव छ । हरेक आइतबार, मंगलबार पूजा र दर्शन गर्न आउने भक्तजनको यहाँ भीड लाग्छ ।


पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पैदल मार्ग निर्माण भइरहेको छ । ऐतिहासिक महत्त्वलाई संरक्षण गर्न मालारानी गाउँपालिकाले आएका पाहुनालाई बासका लागि

होमस्टे बनाइरहेको छ ।


केही महिनाअघि लमजुङको घले गाउँमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यसहित वडाध्यक्ष र केही गाउँले होमस्टे हेर्न गएका थिए । ‘त्यहाँ कस्तो होमस्टे बनाएका रहेछन् भनेर बुझ्न गएका थियौं,’ अध्यक्ष आचार्यले भने, ‘अहिले यहाँ त्यही मोडेलका चारवटा होमस्टे निर्माण भइरहेका छन् ।’

प्रकाशित : पुस २५, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?