१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हटाइँदै फुसका छाना

ठाकुरसिंह थारु

नेपालगन्ज — विकट नरैनापुर गाउँपालिकामा अधिकांश फुसका घर छन् । आगलागी हुँदा गाउँ खरानी हुने गरेको छ । यस्तो अवस्था हटाउन गाउँपालिकाले केही गाउँलाई फुसरहित बनाउने अभियान सुरु गरेको छ ।

हटाइँदै फुसका छाना

पहिलो चरणमा बाढीबाट विस्थापित नयाँ बस्ती र भारतीय सीमा नजिकको चमार बस्तीलाई प्राथमिकतामा राखेको छ । ती बस्तीका घरमा जस्तापाताको छानो राख्न सुरु गरिएको छ ।


यस वर्ष कम्तीमा १ हजार विपन्नको घर टिनले छाउने लक्ष्य गाउँपालिकाको छ । ‘विपन्न बस्ती प्राथमिकतामा राखेका छौं । त्यसमध्ये चमार र नयाँ बस्तीका सर्वसाधारणलाई जस्तापाता वितरण गरिरहेका छौं,’ गाउँपालिकाका प्रमुख मोहम्मद इस्तियाक अहमद शाहले भने,‘ यस वर्ष एक हजार घरका फुसका छाना हटाउने योजना छ ।’ त्यसका लागि सहरी विकास मन्त्रालयसँग छलफल गरिएको छ । गाउँपालिकाले पनि विपन्नको घरमा टिनको छानो राख्न बजेट छुट्टयाएको छ । सरोकारवाला गैरसरकारी संस्थासँग पनि गाउँपालिकाले सहकार्य गरिरहेको छ ।


विकट गाउँपालिकामा विपन्न परिवार धेरै रहेका छन् । राप्तीको डुबान र कटानले सयौं सर्वसाधारण विस्थापित छन् । उब्जाउ हुने जग्गा बगरमा परिणात भइसकेको छ । विपन्नले दैनिक मजदुरी गरेर छाक जुटाइरहेका छन् । त्यहाँ विकास हुन सकेको छैन । गाउँपालिकाका अनुसार अझै यातायात चल्ने भरपर्दो सडक छैन । २१ औं शताब्दीमा पनि बिजुलीविहीन छ ।


प्राथमिक स्वास्थ्यचौकी भए पनि चिकित्सक बस्दैनन् । गाउँपालिकाभरि उच्च मावि छैन । साक्षरता प्रतिशत एकदमै न्यून छ । करिब ३५ हजार जनसंख्या मध्ये १३ हजार सर्वसाधारणले अझै अक्षर चिन्दैनन् । आम्दानीको स्रोत छैन । भरपर्दो खानेपानीको व्यवस्था छैन । गरिबी अधिक छ । सर्वसाधारणको औसत आयु पनि कम छ ।


‘हाम्रो पालिकामा धेरै गरिब बस्छन्,’ प्रमुख शाहले भने, ‘रोजगारी नहुँदा समस्या भएको हो ।,’ गाउँपालिकामा विपन्न आवास सहयोग कार्यक्रम सुरु भएको छ । फुसरहित छाना बनाउने अभियानअन्तर्गत कार्यक्रम सुरु गरिएको हो । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा १ सय २५ विपन्न परिवारलाई जस्तापाता वितरण गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

पहिलो चरणमा वडा नम्बर ५ स्थित नयाँ बस्तीका ६० परिवारलाई जस्तापाता वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जस्ता वितरण गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, २ का अध्यक्ष मसुद अहमद शाहलगायतको उपस्थिति थियो । गाउँपालिकाकाको ३० प्रतिशत र ह्याबिट्याट नेपाल तथा महिला उपकार मञ्चको ७० प्रतिशत लगानीमा जनता आवास कार्यक्रम गरिएको हो ।

प्रकाशित : पुस २६, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?