बाँकेका जनप्रतिनिधि : जो रात–दिन काममै खटिन्छन्

ठाकुरसिंह थारु

नेपालगन्ज — दिन–रात नभनेर विकासका काममा खटिने वडाध्यक्ष बाँकेमा थोरै छन् । तीमध्ये एक हुन्, खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनार । उनी अहिले सडक ग्राभेल गरेर त्यसलाई रोलिङ गर्ने कार्यमा दिन–रात नभनेर खटिएका छन् ।

 बाँके खजुरा गाउँपालिका–४ मा निर्माण भइरहेको सडक । तस्बिर : ठाकुरसिंह/कान्तिपुर 

खेलकुदका लागि मैदान निमार्णदेखि विद्युत् विस्तारका काममा जुटेका छन् । विद्यालय अनुगमन गर्नुत उनको दैनिकी नै हो ।

Citizen


गाउँलेको घरदैलोमा पुगेर वडाको विकासबारे छलफल गरी नमुना वडा बनाउन लागिपरेका छन् । सर्वसाधारणलाई आउजाउमा समस्या नहोस् भन्दै सडक मर्मत गर्दै आएको उनले बताए । ‘गाउँको विकासकै लागि जनताले हामीलाई जिताएका हुन् । त्यसैले रातबिरात नभनेर उनीहरूकै सेवामा जुटेका छौं,’ वडाध्यक्ष सुनारले भने, ‘बिहान १० वजेदेखि कार्यालय समयमा वडामै बसेर सेवा दिन्छु । त्यसबाहेकको समय भनेको घरदैलो हो ।’

उनले ५ वर्षमा नमुना वडा बनाउने सपना बोकेका छन् । त्यसका लागि धेरै काम गरेर देखाउनु पर्नेछ । धार्मिक आस्थाका केन्द्रदेखि सडक, कल्भर्ट, सडक कालोपत्रको काम अगाडि बढाइएको छ । उपभोक्ता र ठेकेदारमार्फत काम अगाडि बढाइए पनि गुणस्तरका लागि आफंै निगरानी गर्दै आएको उनले बताए ।

खजुरा–१ का वडाध्यक्ष सुमन मल्ल फ्रि वाइफाइ क्षेत्र बनाउन लागिपरेका छन् । उनले वडाभरि नै वाइफाइ जडान गरिसकेका छन् । ग्राभेल सडकालाई पक्की, बर्थिङ सेन्टरको स्थापनालगायतका काम सम्पन्न गरिसकेका छन् । ‘वडाभरिका सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने लक्ष्य छ । त्यससँगै बेरोजगार युवालाई रोजगार बनाउने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘सर्वसाधारणले हामीसँग ठूलो आशा गरेका छन् । त्यो पूरा गर्न रात–दिन नखटिएर हुँदैन ।’

राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारू पनि नमुना वडा बनाउन खटिएका छन् । उनले पहिलो चरणमै बिजुलीविहीन गाउँमा विद्युत् पुर्‍याएका छन् । बाँकेकै कान्छा वडाध्यक्ष मानिएका उनले आफ्नो क्षेत्रभरिका गाउँमा बिजुली पुर्‍याइसकेका छन् । सर्री, गेडवा, भर्ता, वसन्तापुर, सैंया, खल्ला भलगडिया, उच्चा झगडिया, फरेंडा, देवपुरवा, पिप्रहवा, नन्कोपुर र लालपुर गाउँमा बिजुली पुर्‍याएका छन् ।

‘गाउँहरू अन्धकार थिए । त्यसैले बिजुलीलाई पहिलो प्राथमिकतामा पारेका हौं,’ वडामा रहेको विद्यालयको स्तरोन्नतिका लागि पहलकदमी गर्न प्रदेश ५ को राजधानी बुटवल पुगेका २९ वर्षीय चौधरीले भने, ‘वडाका सबै सडक ग्राभेल गरिसकियो । अन्य विकासका योजना कार्यान्वयन गर्न लागिपरेका छौं ।’ उनको वडा राप्ती नदीपारि पर्छ । कटान, पटान र डुबानको समस्या अधिक छ । त्यसका लागि प्रदेश तथा संघको ध्यानाकर्षण गराउँदै आएका छन् ।संघ तथा प्रदेश सांसदले कटानबाट जोगाउन प्रतिबद्धता जनाइसकेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले स्थानीयको सहकार्यबिना विकास सम्भव नहुने बुझेका छन् । त्यसैले उनी साँझ–बिहान घरदैलो गर्दै सहकार्यका लागि अनुरोध गर्छन् । उनले नमुना विकासका लागि टोलटोलमा समूह गठन गरी विकासका योजना माग्ने र कार्यान्वयन गर्दै आएका छन् । वडाका धेरैजसो टोलमा सडक कालोपत्रे भइसक्यो । केही टोलमा हुने क्रममा छ ।

‘सर्वसाधारणका गुनासा सुन्नैपर्‍यो । आएका माग पूरा गर्न बजेट खोज्नैपर्‍यो,’ उनले कान्तिपुरसँग भने, ‘समय निकाल्नै समस्या छ । रातदिन नभनेर काम गर्दा पनि समय अभाव छ ।’ बैजनाथ गाउँपालिका–१ का वडाध्यक्ष रूपबहादुर मल्लले सडकमा कमसल कालोपत्रे भएको भन्दै भत्काएर फेरि काम गराए । करिब साढे तीन सय मिटर सडकमा ठेकेदारले कालोपत्रे गरेका थिए ।

ठेकेदारलाई दोहोरो काम गर्न परे पनि सर्वसाधारणले भने गुणस्तरीय सडक पाएका छन् । ‘आफैं पुगेर अनुगमन नगरिएको भए गुणस्तरहीन काम हुन्थ्यो,’ उनले भने, ‘यसैबाट बुझ्नुस् हाम्रो दौडधुप कति छ † जनताका गुनासा सुन्नेदेखि योजना अनुगमन गर्दा दिन बितेको थाहै हुँदैन ।’

कानुनले वडाध्यक्षहरूलाई करिब पाँच दर्जन अधिकार दिएको छ । वडाका विकासका योजना छनोट, कार्यान्वन, विद्यालयलगायतका सरकारी कार्यालय तथा बजारको अनुगमन गरी सुधार गर्न निर्देशन दिनेलगायतका अर्धन्यायिक अधिकार पनि छन् । त्यस्तै वडाको जनसंख्या, सार्वजनिक जग्गा, बेरोजगारी, गरिबी, वैदेशिक रोजगारमा जाने व्यक्तिको अभिलेखीकरणदेखि लिएर सडक, शिक्षा, स्वास्थ्यको अवस्थाबारे काम गर्ने अधिकार वडा कार्यालयलाई छ । जन्म, मृत्यु दर्ता वडाबाटै हुन्छ । त्यससँगै ज्येष्ठ नागरिक, सामाजिकसुरक्षा भत्ता वितरण, छात्रवृत्ति दिने काम वडाहरूले सम्पादन गर्दै आएका छन् ।

वडा कार्यालयको कामदेखि सर्वसाधारणको माग पूरा गर्न वडाध्यक्षलाई कम्ती चुनौती छैन । सयौं काम वडाध्यक्षले गर्नुपर्ने भएका कारणले पनि उनीहरूलाई समय व्यवस्थापनमा समस्या भएको वडाध्यक्षहरूको गुनासो छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

दक्ष कामदारलाई गाउँमै अवसर

कान्तिपुर संवाददाता

परासी — कामको खोजीमा धमाधम विदेशिने युवा जनशक्तिको संख्या दिनप्रतिदिन बढ्दो छ । श्रमकै लागि भनेर जाने र विद्यार्थी भिसामा विदेश गएर श्रम गर्ने नेपाली युवाको संख्या पनि यहाँ कम छैन ।

पछिल्लो समय नेपालमै स्वदेशी तथा बहुराष्ट्रिय कम्पनी खुल्न थालेपछि भने दक्ष कामदारले यहीं कामको अवसर पाउन थालेका छन् ।

पश्चिम नवलपरासीको भुमहीदेखि रूपन्देहीको भैरहवासम्मको बाइपास सडक वरपर अहिले धमाधम कलकारखाना र उद्योग खुल्न थालेका छन् । बहुराष्ट्रिय पेप्सी, वास्र्टेनर, एसियन कंक्रिटो, हुलासजस्ता दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा आएपछि दक्ष कामदारले काम पाउन थालेका हुन् ।

रामग्राम नगरपालिकाको हकुहीमा सञ्चालनमा आएको एसियन कंक्रिटो प्रालि जर्मन प्रविधिमार्फत ब्लक उत्पादन गर्ने कम्पनी हो । तर, यहाँ आवश्यक कच्चापदार्थ संकलन गर्ने मजदुरबाहेक कम्पनीभित्र मेसिन सञ्चालन गर्ने र कम्प्युटर प्रविधिमार्फत नियन्त्रण र गुणस्तर नाप्न सक्ने नेपाली जनशक्तिको अभाव छ । उद्योगले अहिले कतार, साउदीजस्ता खाडी मुलुकमा काम गरिरहेका नेपाली र भारतीय नागरिकलाई उनीहरूले भनेअनुसारकोसुविधा दिएर काममा लगाएको छ ।

तनहुँका पूर्णबहादुर गुरुङले करिब १० वर्ष कतारमा काम गरे । नेपालमा कुनै पनि सीप नसिकेका उनी विदेश गएपछि मासा कम्पनीको प्लान्टलाई कम्प्युटर प्रविधिमार्फत नियन्त्रण गर्न सक्ने कलामा पोख्त भए । १० वर्षसम्म विदेशमा श्रम गरेपछि स्वदेशमा नै केही गराैं भन्ने सोच उनमा आयो । तर, आफूले जानेको सीपअनुसारको कम्पनी नेपालमा नै नभएकाले उनी खिन्न थिए ।

‘उद्योग नै खोलाैं भने लगानी गर्न नसक्ने, काम गरौं भने आफूले जानेको कम्पनीको उत्पादन नेपालमा थिएन,’ उनले भने, ‘नेपालमा पहिलोपटक विदेशी प्रविधिको कंक्रिटो उद्योग सञ्चालनमा आएपछि मलाई कम्पनीले नै कामका लागि नेपाल बोलायो ।’ अहिले उनी नेपालमा नै आफूले जानेको सीपअनुसारको काम गर्न पाउँदा दंग छन् । ‘विदेशमा सिकेको सीपले स्वदेशमा काम गर्न पाउँदा साह्रै खुसी लागेको छ,’ उनले भने, ‘नेपालमा पनि औद्योगिक वातावरण बनेमा सीप सिकेकामजस्तै धेरै युवाले यहीं रोजगारी पाउनेछन् ।’

जिल्लाकै सुक्रौलीमा रहेको बहुराष्ट्रिय कम्पनी वास्र्टेनर र पेप्सीजस्ता कम्पनीमा पनि दक्ष नेपाली कामदारको अभाव देखिएको छ । यहाँ भारतीय र विदेशी कामदार आएर काम गरिरहेका छन् । स्वदेशी दक्ष र सीपयुक्त जनशक्तिको अभावमा अहिले यी उद्योगमा खासगरी भारतको विहार र उत्तर प्रदेशबाट कामदार ल्याएरकाम गर्नुपरेको उद्योगहरूको भनाइ छ ।

सामान्य मजदुरीबाहेक प्राविधिक काममा विदेशी कामदार लगाउँदा खर्च बढ्नुका साथै लामो समयसम्म कर्मचारी टिकाउन पनि समस्या परिरहेको कम्पनीको दाबी छ । समय–समयमा कर्मचारी आवश्यकताको सूचना प्रकाशित गर्दासमेत दक्ष जनशक्ति पाउन नसकिएको उद्योग सञ्चालकले गुनासो गरे । ‘हामीले मुस्किलले ४/५ जना दक्ष कामदार विदेशबाट ल्याएका छौं,’ एसियन कंक्रिटोका निर्देशक राजेश अग्रवालले भने, ‘हाम्रोमा मात्रै होइन, धेरै नयाँ उद्योगलाई दक्षनेपाली कामदारको खाँचो छ ।’

प्रकाशित : पुस २७, २०७५ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्