बाँकेका जनप्रतिनिधि : जो रात–दिन काममै खटिन्छन्

ठाकुरसिंह थारु

नेपालगन्ज — दिन–रात नभनेर विकासका काममा खटिने वडाध्यक्ष बाँकेमा थोरै छन् । तीमध्ये एक हुन्, खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनार । उनी अहिले सडक ग्राभेल गरेर त्यसलाई रोलिङ गर्ने कार्यमा दिन–रात नभनेर खटिएका छन् ।

बाँकेका जनप्रतिनिधि : जो रात–दिन काममै खटिन्छन्

खेलकुदका लागि मैदान निमार्णदेखि विद्युत् विस्तारका काममा जुटेका छन् । विद्यालय अनुगमन गर्नु त उनको दैनिकी नै हो ।


गाउँलेको घरदैलोमा पुगेर वडाको विकासबारे छलफल गरी नमुना वडा बनाउन लागिपरेका छन् । सर्वसाधारणलाई आउजाउमा समस्या नहोस् भन्दै सडक मर्मत गर्दै आएको उनले बताए । ‘गाउँको विकासकै लागि जनताले हामीलाई जिताएका हुन् । त्यसैले रातबिरात नभनेर उनीहरूकै सेवामा जुटेका छौं,’ वडाध्यक्ष सुनारले भने, ‘बिहान १० वजेदेखि कार्यालय समयमा वडामै बसेर सेवा दिन्छु । त्यसबाहेकको समय भनेको घरदैलो हो ।’


उनले ५ वर्षमा नमुना वडा बनाउने सपना बोकेका छन् । त्यसका लागि धेरै काम गरेर देखाउनु पर्नेछ । धार्मिक आस्थाका केन्द्रदेखि सडक, कल्भर्ट, सडक कालोपत्रको काम अगाडि बढाइएको छ । उपभोक्ता र ठेकेदारमार्फत काम अगाडि बढाइए पनि गुणस्तरका लागि आफंै निगरानी गर्दै आएको उनले बताए ।


खजुरा–१ का वडाध्यक्ष सुमन मल्ल फ्रि वाइफाइ क्षेत्र बनाउन लागिपरेका छन् । उनले वडाभरि नै वाइफाइ जडान गरिसकेका छन् । ग्राभेल सडकालाई पक्की, बर्थिङ सेन्टरको स्थापनालगायतका काम सम्पन्न गरिसकेका छन् । ‘वडाभरिका सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने लक्ष्य छ । त्यससँगै बेरोजगार युवालाई रोजगार बनाउने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘सर्वसाधारणले हामीसँग ठूलो आशा गरेका छन् । त्यो पूरा गर्न रात–दिन नखटिएर हुँदैन ।’


राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारू पनि नमुना वडा बनाउन खटिएका छन् । उनले पहिलो चरणमै बिजुलीविहीन गाउँमा विद्युत् पुर्‍याएका छन् । बाँकेकै कान्छा वडाध्यक्ष मानिएका उनले आफ्नो क्षेत्रभरिका गाउँमा बिजुली पुर्‍याइसकेका छन् । सर्री, गेडवा, भर्ता, वसन्तापुर, सैंया, खल्ला भलगडिया, उच्चा झगडिया, फरेंडा, देवपुरवा, पिप्रहवा, नन्कोपुर र लालपुर गाउँमा बिजुली पुर्‍याएका छन् ।


‘गाउँहरू अन्धकार थिए । त्यसैले बिजुलीलाई पहिलो प्राथमिकतामा पारेका हौं,’ वडामा रहेको विद्यालयको स्तरोन्नतिका लागि पहलकदमी गर्न प्रदेश ५ को राजधानी बुटवल पुगेका २९ वर्षीय चौधरीले भने, ‘वडाका सबै सडक ग्राभेल गरिसकियो । अन्य विकासका योजना कार्यान्वयन गर्न लागिपरेका छौं ।’ उनको वडा राप्ती नदीपारि पर्छ । कटान, पटान र डुबानको समस्या अधिक छ । त्यसका लागि प्रदेश तथा संघको ध्यानाकर्षण गराउँदै आएका छन् । संघ तथा प्रदेश सांसदले कटानबाट जोगाउन प्रतिबद्धता जनाइसकेका छन् ।


नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले स्थानीयको सहकार्यबिना विकास सम्भव नहुने बुझेका छन् । त्यसैले उनी साँझ–बिहान घरदैलो गर्दै सहकार्यका लागि अनुरोध गर्छन् । उनले नमुना विकासका लागि टोलटोलमा समूह गठन गरी विकासका योजना माग्ने र कार्यान्वयन गर्दै आएका छन् । वडाका धेरैजसो टोलमा सडक कालोपत्रे भइसक्यो । केही टोलमा हुने क्रममा छ ।


‘सर्वसाधारणका गुनासा सुन्नैपर्‍यो । आएका माग पूरा गर्न बजेट खोज्नैपर्‍यो,’ उनले कान्तिपुरसँग भने, ‘समय निकाल्नै समस्या छ । रातदिन नभनेर काम गर्दा पनि समय अभाव छ ।’ बैजनाथ गाउँपालिका–१ का वडाध्यक्ष रूपबहादुर मल्लले सडकमा कमसल कालोपत्रे भएको भन्दै भत्काएर फेरि काम गराए । करिब साढे तीन सय मिटर सडकमा ठेकेदारले कालोपत्रे गरेका थिए ।


ठेकेदारलाई दोहोरो काम गर्न परे पनि सर्वसाधारणले भने गुणस्तरीय सडक पाएका छन् । ‘आफैं पुगेर अनुगमन नगरिएको भए गुणस्तरहीन काम हुन्थ्यो,’ उनले भने, ‘यसैबाट बुझ्नुस् हाम्रो दौडधुप कति छ † जनताका गुनासा सुन्नेदेखि योजना अनुगमन गर्दा दिन बितेको थाहै हुँदैन ।’


कानुनले वडाध्यक्षहरूलाई करिब पाँच दर्जन अधिकार दिएको छ । वडाका विकासका योजना छनोट, कार्यान्वन, विद्यालयलगायतका सरकारी कार्यालय तथा बजारको अनुगमन गरी सुधार गर्न निर्देशन दिनेलगायतका अर्धन्यायिक अधिकार पनि छन् । त्यस्तै वडाको जनसंख्या, सार्वजनिक जग्गा, बेरोजगारी, गरिबी, वैदेशिक रोजगारमा जाने व्यक्तिको अभिलेखीकरणदेखि लिएर सडक, शिक्षा, स्वास्थ्यको अवस्थाबारे काम गर्ने अधिकार वडा कार्यालयलाई छ । जन्म, मृत्यु दर्ता वडाबाटै हुन्छ । त्यससँगै ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा भत्ता वितरण, छात्रवृत्ति दिने काम वडाहरूले सम्पादन गर्दै आएका छन् ।


वडा कार्यालयको कामदेखि सर्वसाधारणको माग पूरा गर्न वडाध्यक्षलाई कम्ती चुनौती छैन । सयौं काम वडाध्यक्षले गर्नुपर्ने भएका कारणले पनि उनीहरूलाई समय व्यवस्थापनमा समस्या भएको वडाध्यक्षहरूको गुनासो छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?