कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खुल्दैन वाचनालय

नवीन पौडेल

परासी — वाचनालय भन्नासाथ प्रशस्त पुस्तक भएको, आफ्नो अनुकूल पुस्तक तथा पत्रपत्रिका अध्ययन गर्ने स्थलका रूपमा बुझिन्छ । पश्चिम नवलपरासीको सुनवलस्थित सहिद स्मृति वाचनालयको अवस्था भिन्नै छ । त्यसको ढोकासमेत खुल्दैन ।

करिब ७ वर्षदेखि वाचनालय बन्द रहेको छ । सञ्चालनका लागि कसैले चासो दिएका छैनन् । मुख्य बजारमा रहेको वाचनालयको भवन पनि जीर्ण भएको छ ।


वाचनालय २०५० सालमा स्थापना भएको थियो । अहिले वाचनालयभित्रको अवस्था के छ भन्ने कसैलाई जानकारी छैन । पुस्तक धमिराले खाएर नष्ट गरेको छ । स्थानीयका अनुसार सुरुवातमा त्यहाँ पाठकको भीड लाग्ने गरेको थियो । फुर्सदको समय वाचनालयमा अध्ययन र छलफल गर्नेको घुइँचो लाग्ने गरेको स्थानीयले बताए । सञ्चालनमा आएको केही वर्षपछि समस्या देखियो । सडक विभागले आफ्नो जग्गामा वाचनालयको भवन पर्ने भन्दै भत्काउन र खाली गर्न निर्देशन दियो । त्यसपछि यसलाई स्थानान्तरण गर्नेतर्फ कसैले ध्यान दिएनन् ।


द्वन्द्वकाल सुरु भएपछि पुस्तकालयमा आउने पाठकको संख्या घट्न थाल्यो । व्यवस्थित स्थान्तरण र प्रविधिको प्रयोग नगर्दा नयाँ पुस्ताको आकर्षण घट्दो छ । त्यसभित्र पुराना ऐतिहासिक पुस्तक रहेको बताइन्छ । ती अध्ययन गर्न रुचाउने पुस्ताले भने वाचनालयलाई नयाँ रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।


वाचनालयका संस्थापक अध्यक्ष सुदर्शन पहारीका अनुसार कुनै समय नमुना वाचनालयका रूपमा स्थापित थियो । वर्षौंदेखि बन्द भएकाले यसलाई नयाँ स्थानमा स्तानान्तरण गरेर पुन: सञ्चालन गर्ने तर्फ लागिपरेको बताए । ‘सुरुमा नमुना वाचनालयको रूपमा स्थापित थियो, घरमा पुस्तक लैजान नपाउने, वाचनालय कक्षमा बसेर अध्ययन गर्ने र छलफल गर्ने बानीको विकास भएको थियो,’उनले भने, ‘पछि कसैको पनि ध्यान यसमा जान सकेन । अहिले पुन: सञ्चालन गर्नका लागि पहल भइरहेको छ ।’


सडक विभागले भवन भत्काउने जनाएपछि ७ वर्षदेखि अलपत्र परेको वाचनालय अहिलेसम्म सञ्चालन हुन नसकेको हो । पछिल्लो समय इन्टरनेटमा पहुँच बढेको र अधिकांश सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेपछि यसमा चासो कम भएको हो ।


वाचनालयका वर्तमान अध्यक्ष कृष्ण पौडेलले स्थानान्तरणका लागि जग्गा प्राप्त भएकाले भवन निमार्ण गरेर नयाँ प्रविधिअनुसार सञ्चालन गर्ने तयारी भइरहेकने बताए । ‘पुरानो शैलीको वाचनालय र पुस्तकालयमा पाठकको रुचि पनि घटेको छ ।

सबैजना सामाजिक सञ्जाल र अनलाइनमा झुम्मिन थाले,’ उनले भने, ‘अब आफ्नै भवनमा आगामी वर्षदेखि इन्टरनेट सेवासहितको वाचनालय सञ्चालन गर्ने तयारीमा छौं । यसमा सबैको सहयोगको खाँचो छ ।’

प्रकाशित : पुस २७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?