कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाङमा माघी महोत्सव

‘थारु तराईका भूमिपुत्र हुन् । यो समुदायको आफ्नै पहिचान झल्किने कला–संस्कृति भएकाले संरक्षण जरुरी छ ।’

दाङ — घोराहीमा बिहीबारदेखि २ दिने प्रादेशिक माघी महोत्सव सुरु भएको छ । थारू समुदायको महत्त्वपूर्ण पर्व माघीलाई मध्यनजर गर्दै थारू कल्याणकारिणीसभाको अगुवाइमा महोत्सव आयोजना भएको हो । 

दाङमा माघी महोत्सव

महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले थारू समुदायको संस्कृति संरक्षणमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । ‘माघी थारू समुदायको महत्त्वपूर्ण पर्व हो । यसलाई उत्सवका रूपमा मनाउनुपर्छ,’ उनले भने, ‘थारू तराईका भूमिपुत्र हुन् ।

थारू समुदायको आफ्नै पहिचान झल्किने कला–संस्कृति छन् । त्यसको संरक्षण जरुरी छ ।’ महोत्सवका क्रममा विभिन्न परम्परागत झाँकी र वेशभूषासहित घोराही बजार परिक्रमा गरिएको थियो । महोत्सवमा थारू समुदायका विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो । महोत्सवमा विभिन्न थारू गाउँका कलाकार आफ्नो कलासहित सहभागी भएका थिए ।

थारू गाउँमा मात्रै सीमित माघी पर्वलाई राष्ट्रिय महत्त्वको बनाउन महोत्सव आयोजना गरिएको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘माघी पर्वसँगै हाम्रो कला संस्कृतिको पहिचान हुन जरुरी छ । महोत्सवमा हामी विभिन्न समुदायका कला प्रदर्शन गर्छौं,’ उनले भने, ‘थारू भाषा–संस्कृतिबारे पनि बहस हुन्छ । हाम्रो परम्पराबारे अरू समुदायलाई पनि जानकारी दिन चाहन्छौं ।’

थारू समुदायभित्र पनि विभिन्न क्षेत्रमा फरक–फरक संस्कृति र वेशभूषा रहेको छ । माघ १ गतेलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छ । विगतमा माघ १ थारू समुदायका लागि कमैया कमलरी राख्ने र नवीकरण गर्ने पर्वका रूपमा चिनिन्थ्यो । देशलाई कमैया कमलरी मुक्त घोषणा गरिएपछि यो चलनको अन्त्य हुँदै गएको छ ।

थारू समुदायले अहिले मुक्त रूपमा माघी पर्व मनाउँदै आएको छ । माघी महोत्सवमा नेवार समुदाय पनि आफ्नो वेशभूषामा सहभागी भएका थिए । जनजातिको कला प्रदर्शन गर्न महोत्सव महत्त्वपूर्ण अवसर ठानी नेवार समुदायले पनि कला संस्कृतिसहित सक्रिय सहभागिता जनाएका थिए ।

प्रकाशित : पुस २७, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?