तराई–पहाडमा माघीको रौनक

कमल पन्थी, काशीराम डाँगी

बर्दिया/रोल्पा — पश्चिम तराई र पहाडमा माघीको रौनक सुरु भएको छ । तराईमा थारू र पहाडमा मगर समुदायमा चाडले उल्लास छाएको छ । पर्व मनाउन जताततै मेला र महोत्सव आयोजना भइरहेका छन् ।

५१ प्रतिशत थारू समुदायको बसोबास रहेको बर्दियाका धेरै ठाउँमा माघी महोत्सव सुरु भएका छन् । उद्योग वाणिज्य संघ बाँसगढी र राजापुरले औद्योगिक, कृषि पर्यटन, व्यापार मेला र माघी महोत्सवको आयोजना गरेका हुन् ।

ऐतिहासिक ठाकुरबाबा मन्दिरमा पनि महोत्सव आयोजना गरिएको छ । स्थानीय प्रचारमा जुटेका छन् । यी ठाउँमा पुस २७ देखि माघ ८ गतेसम्म महोत्सव सञ्चालन हुनेछन् । ठाकुरद्वारामा परम्परादेखि एक सातासम्म माघी मनाउने चलन छ ।

यो थारू समुदायको नयाँ वर्ष हो । त्यसैले माघी पर्वलाई मध्यनजर गर्दै महोत्सव गर्न थालेका हुन् । परम्परागत नाचदेखि थारू परिकार र संग्रहालय महोत्सवमा प्रदर्शन गरिने बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारूले बताए । महोत्सवमा मुख्यमन्त्री शंकर पोखरेल आउने तय भएको छ ।

राजापुर उद्योग वाणिज्य संघले माघी महोत्सव र मेला आयोजना गरेको छ । महोत्सवमा थारू संस्कृतिमा आधारित नाचगान, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति देखाइनेछ । राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीले महोत्सवको तयारी भइसकेको जनाए ।

ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा धार्मिक, सांस्कृतिक तथा पर्यटक प्रवद्र्धनका लागि माघी महोत्सव गर्ने भएको छ । पुस ३० देखि माघ ५ गतेसम्म महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । मेलामा नेपाललगायत छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा ठाकुरबाबाको पूजापाठ गर्न दर्शनार्थी आउने गर्छन् ।

गुलरियामा पनि माघी महोत्सव पुस २७ र २८ गते हुने भएको छ । माघी महोत्सवका नाममा हुने मेलाका लागि स्थानीय तहले सहयोगबापत बजेटसमेत छुट्याएको आयोजकले जनाएको छ । सदियौंदेखि माघीका समय ठाकुरबाबामा धार्मिक मेला लाग्ने गथ्र्याे । माघीका नाममा धेरै ठाउँमा महोत्सव हुन थालेको करिब ४ वर्ष भयो ।

गाउँमा उल्लास
बारबर्दिया–४ का फूलपाती थारू अहिले बंगुर र कुखुरा खरिद गर्न व्यस्त छन् । माघीका दिन जिता (बलि) दिने चलन भएकाले सामानको जोहो गर्न लागेका हुन् । बाँसगढी–७ की लौटी थारू माघीका परिकार बनाउन चामल पिसाउन व्यस्त छन् । यहाँका धेरै महिला यतिखेर ढिक्री बनाउन चामल पिसाउनेदेखि पात टिप्ने, घर लिपपोत गर्ने काममा व्यस्त हुन्छन् ।

माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व हो । त्यसैले यहाँका गाउँमा उमंग छाएको छ । माघीको पूर्वसन्ध्यामा घर लिपपोत गरिएका छन् । खुसी साटासाट सुरु भएको छ । मुलुक र विदेशमा रहेका आफन्त घर फर्किने क्रम बढेको छ । थारू समुदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै नुहाइधुवाइ गरेर सेतो चामलको टीका लगाउने चलन छ ।

घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्याएर दिने गरेको बढैयाताल–५ प्रगतिनगरकी सुरैया थारूले बताइन् । यस चाडमा गच्छेअनुसार ढिक्रीलगायतका परिकार सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । माघीका दिन थारू समुदायमा बिहानै उठेर नुहाइधुवाइ गरी शिवजीको पूजा गर्ने चलन छ । सोही दिन अनिवार्य रूपमा ठूलाबडा आफन्तलाई ढोगेर आशीर्वाद लिने गर्छन् । नि:सन्तानले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको स्थानीय रामशंकर चौधरीले बताए ।

थारू समुदायका केटाकेटी, युवकयुवती र महिला मघौटा नाचगान गर्दै जिल्लाका बस्ती–बस्तीमा रमाउन थालेका छन् । माघीका दिन थारू समुदाय आफ्नै पहिरनमा सजिएका हुन्छन् । काम गर्न बाहिर गएका र अध्ययन, पेसालगायत काममा रहेका पनि माघी मनाउन घर फर्कन थालेको फूलपातीले बताए ।

मगर समुदायको तयारी
रोल्पाका मगर समुदायले यसपटक माघी पर्व धुमधामले मनाउने तयारी गरेका छन् । मगर बाहुल्य गाउँमा सांस्कृतिक र खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।

रोल्पा नगरपालिकाको माडीचौरमा विभिन्न १० वटा युवा क्लबको आयोजनामा माघी महोत्सव आयोजना गरिएको छ । उक्त अवसरमा विशेष कार्यक्रम नै आयोजना हुन थालेको हो । माघ १ गतेदेखि ५ दिनसम्म चल्ने उक्त महोत्सवमा परम्परागत पोसाक प्रदर्शनी तथा मगर खेलकुद प्रतियोगिता आयोजना हुने तयारी भएको माडीचौरस्थित रम्जाबेंसी युवा क्लबका सोम बुढामगरले बताए । क्लबका सल्लाहकार सुरेन्द्र घर्तीमगरको संयोजकत्वमा महोत्सव आयोजक समिति गठन गरिएको छ ।

उनी स्थानीय मगर अगुवा हुन् । नगरपालिकाभित्रका विभिन्न १० वटा युवा क्लबले उक्त समितिमार्फत प्रतिनिधित्व गरेका छन् । ती क्लबमा रम्जाबेंसी, सनस्टार, मधुरमा, माडी जलजला, ब्राइटल्यान्ड, शुभहो, योङग हर्ट, किरण स्मृति, समाजसेवी तथा क्षितिज किरणलगायतका छन् ।

मगर समुदायको ऐतिहासिकता तथा सांस्कृतिक परम्परा जोगाउन प्रतियोगिता पनि आयोजना गरिएको संयोजक सुरेन्द्र घर्तीमगरले बताए । रोल्पा र रुकुममा विशेषगरी मगरको परम्परागत पोसाक र संस्कृति अहिले पनि छ । ती कला र संस्कृतिको प्रदर्शनी गरेर संरक्षण गर्न सकिने आयोजकको धारणा छ । ‘मगरका आफ्नै परम्परागत खेल उचाल ढुंगा र धनुषवाण (तारो हान्ने) खेल समेत आयोजना गरिएको छ,’ रम्जाबेंसी युवा क्लबका बुढामगरले भने । मगर परम्परागत पोसाक प्रदर्शन गरेर विजेता हुनेलाई १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

नेपाल मगर संघले पनि उक्त कार्यक्रम गर्न सघाएको छ । ठूलो धनराशिको पुरस्कारसहित पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । ती खेलका विजेतालाई १ लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गरिनेछ । माघीकै अवसरमा सामूहिक नाचको आयोजना गरिएको छ ।

महोत्सवमा मगरका परम्परागत खाना र रहनसहनसमेत प्रदर्शन गरिने योजना छ । महोत्सवको उद्घाटन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुन आउने कार्यक्रम छ । पुन हरेक माघी पर्वका बेला आयोजना हुने कार्यक्रममा आउने गरेका छन् । यस्तै थबाङ गाउँपालिकाले पनि माघी पर्वको आयोजना गरेको छ । माघीकै अवसरमा थबाङले मेला आयोजना गरेको हो ।

मघीको अवसरमा माघ ३ गतेबाट सुरु हुने गाउँपालिका कप पुरुष तथा महिला भलिबल खेलका विजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने योजना रहेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए । थबाङमा पनि तारो हान्ने, पोसाक प्रदर्शन तथा मगर खाम भाषामै साहित्यिक कार्यक्रम गर्ने तयारी चलेको छ ।

सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिएकाले माघी पर्व मनाउन सजिलो भएको थबाङ–२ का वडाध्यक्ष वसन्त रोकामगरले बताए । सरकारले माघी मनाउन बिदा दिएकामा मगर समुदायमा खुसी छाएको उनले बताए । रोल्पामा करिब ४५ प्रतिशत मगर जनसंख्या छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खुल्दैन वाचनालय

नवीन पौडेल

परासी — वाचनालय भन्नासाथ प्रशस्त पुस्तक भएको, आफ्नो अनुकूल पुस्तक तथा पत्रपत्रिका अध्ययन गर्ने स्थलका रूपमा बुझिन्छ । पश्चिम नवलपरासीको सुनवलस्थित सहिद स्मृति वाचनालयको अवस्था भिन्नै छ । त्यसको ढोकासमेत खुल्दैन ।

करिब ७ वर्षदेखि वाचनालय बन्द रहेको छ । सञ्चालनका लागि कसैले चासो दिएका छैनन् । मुख्य बजारमा रहेको वाचनालयको भवनपनि जीर्ण भएको छ ।

वाचनालय २०५० सालमा स्थापना भएको थियो । अहिले वाचनालयभित्रको अवस्था के छ भन्ने कसैलाई जानकारी छैन । पुस्तक धमिराले खाएर नष्ट गरेको छ । स्थानीयका अनुसार सुरुवातमा त्यहाँ पाठकको भीड लाग्ने गरेको थियो । फुर्सदको समय वाचनालयमा अध्ययन र छलफल गर्नेको घुइँचो लाग्ने गरेको स्थानीयले बताए । सञ्चालनमा आएको केही वर्षपछि समस्या देखियो । सडक विभागले आफ्नो जग्गामा वाचनालयको भवन पर्ने भन्दै भत्काउन र खाली गर्न निर्देशन दियो । त्यसपछि यसलाई स्थानान्तरण गर्नेतर्फ कसैलेध्यान दिएनन् ।

द्वन्द्वकाल सुरु भएपछि पुस्तकालयमा आउने पाठकको संख्या घट्न थाल्यो । व्यवस्थित स्थान्तरण र प्रविधिको प्रयोग नगर्दा नयाँ पुस्ताको आकर्षण घट्दो छ । त्यसभित्र पुराना ऐतिहासिक पुस्तक रहेको बताइन्छ । ती अध्ययन गर्न रुचाउने पुस्ताले भने वाचनालयलाई नयाँ रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

वाचनालयका संस्थापक अध्यक्ष सुदर्शन पहारीका अनुसार कुनै समय नमुना वाचनालयका रूपमा स्थापित थियो । वर्षौंदेखि बन्द भएकाले यसलाई नयाँ स्थानमा स्तानान्तरण गरेर पुन: सञ्चालन गर्ने तर्फ लागिपरेको बताए । ‘सुरुमा नमुना वाचनालयको रूपमा स्थापित थियो, घरमा पुस्तक लैजान नपाउने, वाचनालय कक्षमा बसेर अध्ययन गर्ने र छलफल गर्ने बानीको विकास भएको थियो,’उनले भने, ‘पछि कसैको पनि ध्यान यसमा जानसकेन । अहिले पुन: सञ्चालन गर्नका लागि पहल भइरहेको छ ।’

सडक विभागले भवन भत्काउने जनाएपछि ७ वर्षदेखि अलपत्र परेको वाचनालय अहिलेसम्म सञ्चालन हुन नसकेको हो । पछिल्लो समय इन्टरनेटमा पहुँच बढेको र अधिकांश सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेपछि यसमा चासो कम भएको हो ।

वाचनालयका वर्तमान अध्यक्ष कृष्ण पौडेलले स्थानान्तरणका लागि जग्गा प्राप्त भएकाले भवन निमार्ण गरेर नयाँ प्रविधिअनुसार सञ्चालन गर्ने तयारी भइरहेकने बताए । ‘पुरानो शैलीको वाचनालय र पुस्तकालयमा पाठकको रुचि पनि घटेको छ ।
सबैजना सामाजिक सञ्जाल र अनलाइनमा झुम्मिन थाले,’ उनले भने, ‘अब आफ्नै भवनमा आगामी वर्षदेखि इन्टरनेट सेवासहितको वाचनालय सञ्चालन गर्नेतयारीमा छौं । यसमा सबैको सहयोगको खाँचो छ ।’

प्रकाशित : पुस २७, २०७५ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्