१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तराई–पहाडमा माघीको रौनक

बर्दिया/रोल्पा — पश्चिम तराई र पहाडमा माघीको रौनक सुरु भएको छ । तराईमा थारू र पहाडमा मगर समुदायमा चाडले उल्लास छाएको छ । पर्व मनाउन जताततै मेला र महोत्सव आयोजना भइरहेका छन् ।

५१ प्रतिशत थारू समुदायको बसोबास रहेको बर्दियाका धेरै ठाउँमा माघी महोत्सव सुरु भएका छन् । उद्योग वाणिज्य संघ बाँसगढी र राजापुरले औद्योगिक, कृषि पर्यटन, व्यापार मेला र माघी महोत्सवको आयोजना गरेका हुन् ।


ऐतिहासिक ठाकुरबाबा मन्दिरमा पनि महोत्सव आयोजना गरिएको छ । स्थानीय प्रचारमा जुटेका छन् । यी ठाउँमा पुस २७ देखि माघ ८ गतेसम्म महोत्सव सञ्चालन हुनेछन् । ठाकुरद्वारामा परम्परादेखि एक सातासम्म माघी मनाउने चलन छ ।


यो थारू समुदायको नयाँ वर्ष हो । त्यसैले माघी पर्वलाई मध्यनजर गर्दै महोत्सव गर्न थालेका हुन् । परम्परागत नाचदेखि थारू परिकार र संग्रहालय महोत्सवमा प्रदर्शन गरिने बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारूले बताए । महोत्सवमा मुख्यमन्त्री शंकर पोखरेल आउने तय भएको छ ।


राजापुर उद्योग वाणिज्य संघले माघी महोत्सव र मेला आयोजना गरेको छ । महोत्सवमा थारू संस्कृतिमा आधारित नाचगान, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति देखाइनेछ । राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीले महोत्सवको तयारी भइसकेको जनाए ।


ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा धार्मिक, सांस्कृतिक तथा पर्यटक प्रवद्र्धनका लागि माघी महोत्सव गर्ने भएको छ । पुस ३० देखि माघ ५ गतेसम्म महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । मेलामा नेपाललगायत छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा ठाकुरबाबाको पूजापाठ गर्न दर्शनार्थी आउने गर्छन् ।


गुलरियामा पनि माघी महोत्सव पुस २७ र २८ गते हुने भएको छ । माघी महोत्सवका नाममा हुने मेलाका लागि स्थानीय तहले सहयोगबापत बजेटसमेत छुट्याएको आयोजकले जनाएको छ । सदियौंदेखि माघीका समय ठाकुरबाबामा धार्मिक मेला लाग्ने गथ्र्याे । माघीका नाममा धेरै ठाउँमा महोत्सव हुन थालेको करिब ४ वर्ष भयो ।


गाउँमा उल्लास

बारबर्दिया–४ का फूलपाती थारू अहिले बंगुर र कुखुरा खरिद गर्न व्यस्त छन् । माघीका दिन जिता (बलि) दिने चलन भएकाले सामानको जोहो गर्न लागेका हुन् । बाँसगढी–७ की लौटी थारू माघीका परिकार बनाउन चामल पिसाउन व्यस्त छन् । यहाँका धेरै महिला यतिखेर ढिक्री बनाउन चामल पिसाउनेदेखि पात टिप्ने, घर लिपपोत गर्ने काममा व्यस्त हुन्छन् ।


माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व हो । त्यसैले यहाँका गाउँमा उमंग छाएको छ । माघीको पूर्वसन्ध्यामा घर लिपपोत गरिएका छन् । खुसी साटासाट सुरु भएको छ । मुलुक र विदेशमा रहेका आफन्त घर फर्किने क्रम बढेको छ । थारू समुदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै नुहाइधुवाइ गरेर सेतो चामलको टीका लगाउने चलन छ ।


घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्याएर दिने गरेको बढैयाताल–५ प्रगतिनगरकी सुरैया थारूले बताइन् । यस चाडमा गच्छेअनुसार ढिक्रीलगायतका परिकार सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । माघीका दिन थारू समुदायमा बिहानै उठेर नुहाइधुवाइ गरी शिवजीको पूजा गर्ने चलन छ । सोही दिन अनिवार्य रूपमा ठूलाबडा आफन्तलाई ढोगेर आशीर्वाद लिने गर्छन् । नि:सन्तानले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको स्थानीय रामशंकर चौधरीले बताए ।


थारू समुदायका केटाकेटी, युवकयुवती र महिला मघौटा नाचगान गर्दै जिल्लाका बस्ती–बस्तीमा रमाउन थालेका छन् । माघीका दिन थारू समुदाय आफ्नै पहिरनमा सजिएका हुन्छन् । काम गर्न बाहिर गएका र अध्ययन, पेसालगायत काममा रहेका पनि माघी मनाउन घर फर्कन थालेको फूलपातीले बताए ।


मगर समुदायको तयारी

रोल्पाका मगर समुदायले यसपटक माघी पर्व धुमधामले मनाउने तयारी गरेका छन् । मगर बाहुल्य गाउँमा सांस्कृतिक र खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।


रोल्पा नगरपालिकाको माडीचौरमा विभिन्न १० वटा युवा क्लबको आयोजनामा माघी महोत्सव आयोजना गरिएको छ । उक्त अवसरमा विशेष कार्यक्रम नै आयोजना हुन थालेको हो । माघ १ गतेदेखि ५ दिनसम्म चल्ने उक्त महोत्सवमा परम्परागत पोसाक प्रदर्शनी तथा मगर खेलकुद प्रतियोगिता आयोजना हुने तयारी भएको माडीचौरस्थित रम्जाबेंसी युवा क्लबका सोम बुढामगरले बताए । क्लबका सल्लाहकार सुरेन्द्र घर्तीमगरको संयोजकत्वमा महोत्सव आयोजक समिति गठन गरिएको छ ।


उनी स्थानीय मगर अगुवा हुन् । नगरपालिकाभित्रका विभिन्न १० वटा युवा क्लबले उक्त समितिमार्फत प्रतिनिधित्व गरेका छन् । ती क्लबमा रम्जाबेंसी, सनस्टार, मधुरमा, माडी जलजला, ब्राइटल्यान्ड, शुभहो, योङग हर्ट, किरण स्मृति, समाजसेवी तथा क्षितिज किरणलगायतका छन् ।


मगर समुदायको ऐतिहासिकता तथा सांस्कृतिक परम्परा जोगाउन प्रतियोगिता पनि आयोजना गरिएको संयोजक सुरेन्द्र घर्तीमगरले बताए । रोल्पा र रुकुममा विशेषगरी मगरको परम्परागत पोसाक र संस्कृति अहिले पनि छ । ती कला र संस्कृतिको प्रदर्शनी गरेर संरक्षण गर्न सकिने आयोजकको धारणा छ । ‘मगरका आफ्नै परम्परागत खेल उचाल ढुंगा र धनुषवाण (तारो हान्ने) खेल समेत आयोजना गरिएको छ,’ रम्जाबेंसी युवा क्लबका बुढामगरले भने । मगर परम्परागत पोसाक प्रदर्शन गरेर विजेता हुनेलाई १२ हजार पुरस्कार प्रदान गरिनेछ ।


नेपाल मगर संघले पनि उक्त कार्यक्रम गर्न सघाएको छ । ठूलो धनराशिको पुरस्कारसहित पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । ती खेलका विजेतालाई १ लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गरिनेछ । माघीकै अवसरमा सामूहिक नाचको आयोजना गरिएको छ ।


महोत्सवमा मगरका परम्परागत खाना र रहनसहनसमेत प्रदर्शन गरिने योजना छ । महोत्सवको उद्घाटन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुन आउने कार्यक्रम छ । पुन हरेक माघी पर्वका बेला आयोजना हुने कार्यक्रममा आउने गरेका छन् । यस्तै थबाङ गाउँपालिकाले पनि माघी पर्वको आयोजना गरेको छ । माघीकै अवसरमा थबाङले मेला आयोजना गरेको हो ।


मघीको अवसरमा माघ ३ गतेबाट सुरु हुने गाउँपालिका कप पुरुष तथा महिला भलिबल खेलका विजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने योजना रहेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए । थबाङमा पनि तारो हान्ने, पोसाक प्रदर्शन तथा मगर खाम भाषामै साहित्यिक कार्यक्रम गर्ने तयारी चलेको छ ।


सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिएकाले माघी पर्व मनाउन सजिलो भएको थबाङ–२ का वडाध्यक्ष वसन्त रोकामगरले बताए । सरकारले माघी मनाउन बिदा दिएकामा मगर समुदायमा खुसी छाएको उनले बताए । रोल्पामा करिब ४५ प्रतिशत मगर जनसंख्या छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?