१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनप्रतिनिधिको ध्यान बाटोमा

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लामा कृषि, पर्यटन, पशुपालन, मौरीपालनलगायत उत्पादन क्षेत्रको प्रशस्त सम्भावना छ । पढेलेखेका युवालाई स्वरोजगारमूलक योजना ल्याउन पालिकावासीको माग छ । 

घट्दो पशुपालन र बढ्दो बसाइँसराइले चौर बन्दै छन् खेतीयोग्य जमिन । उत्पादनबाट आत्मनिर्भर र समृद्धिको सपना नारामै सीमित छन् । गाउँ युवाविहीन छ । सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिएको छ । गाउँमै अधिकार सम्पन्न स्थानीय सरकार भएपछि पढेलेखेका युवालाई लागेको थियो, ‘विदेश जानेको संख्या घट्छ । गाउँमै रोजगारी, स्वरोजगार र उत्पादनमूलक कार्यक्रमबाट आत्मनिर्भरतर्फको बाटो खुल्छ ।’ तर, सबै आशा निराशामा परिणत भएको छ ।


भूमिकास्थान नगरपालिका च्युरामाटीका नेकपा नेता प्रेमनारायण गैरेले जनप्रतिनिधिले विकासका योजना ल्याउन नसकेको बताए । धेरै नयाँ जनप्रतिनिधि भएका कारण पूर्वाभ्यास, कृषि, पर्यटक एवं उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन योजना नहुँदा जनतामा निराशा छाएको बताए । ‘डेढ वर्षमै सबै हुने त होइन तर मोडल नै ल्याएनन्,’ उनले भने, ‘नगरको बजेट बाटो र खानेपानीमै सिध्याए । उपलब्धिमूलक योजना केही भएनन् ।’


जनप्रतिनिधिले सामाजिक रूपान्तरण नै नबुझेको र सहरमा बसाइँसराइले खेतीयोग्य जमिन बाँझिदै गएको उनको अनुभव छ । ‘तरकारी, गाई, भैंसी, कुखुरा, बाख्रा, बंगुर, माछा पाल्नतर्फ धेरै बजेट र योजना अघि सार्ने हो भने विदेश नगएर युवा यहीं भुल्छन्,’ उनले भने, ‘नगरको बजेट कनिका छरेजस्तै छरेपछि उपलब्धि हात लाग्यो शून्य भएको छ । बेरोजगारका समस्या हल गर्नेतिर जनप्रतिनिधिको ध्यान नै छैन ।’ जनप्रतिनिधिलाई संघ सरकारले विज्ञबाट प्रशिक्षण दिनुपर्ने उनको तर्क छ ।


३२ हजार ६ सय ४० जनसंख्या रहेको भूमिकास्थान नगरवासीले गाउँमै स्वरोजगारका योजनामा बजेट छुटयाइदिन माग गरेका छन् । ४९ करोड ६८ लाख रुपैयाँ बजेटभित्र धेरै पूर्वाधार विकास र सडकमै छन् । यसले युवा विदेश जानेको संख्या घट्दैन । सबै अधिकार आफ्नो हातमा हुँदा पनि जनप्रतिनिधिले बजेटको सही सदुपयोग गर्न नसकेको स्थानीयको आरोप छ ।


मौरीपालनका हिसाबले अर्घाखाँची देशकै चौथो स्थानमा पर्छ । जिल्लाका सबै पालिकामा मह उत्पादन हुन्छ । धनचौर र ढिकुरा यसका पकेट क्षेत्र हुन् । यहाँ चिउरी र फूल फुल्ने प्रशस्त रूख छन् । तर, चिउरीका रूख संरक्षण र नयाँ बिरुवा रोपेर मौरीपालन क्षेत्रलाई फस्टाउने खालका दीर्घकालीन योजना नगरमा छैन । सम्बोधन मात्रै गरिएको छ ।


सन्धिखर्कका भीमबहादुर केसीले चुनावका बेला नेताका भाषण सुन्दा विदेश नजाने सोच बनाए । ‘घर–घरमै स्वरोजगारका कार्यक्रम ल्याउँछौं । कृषिमा आधुनिकीकरण गर्ने र उत्पादनमूलक कार्यक्रम ल्याउने’ भाषण सुनेपछि वर्ष दिनसम्म पर्खिए । नगरपालिकाले त्यस्तो कुनै योजना अघि सारेन । पुरानै मोडलमा बजेट बाँड्यो ।


‘बाँझिएका खेत–बारीमा पुन: खेती गर्ने वातावरण बनउने, युवालाई स्वरोजगारजस्ता कार्यक्रमतर्फ ध्यान गएको दखिनँ,’ उनले भने । किमडाँडा, मथुराबेंसीमा गाईपालन केन्द्र स्थापना गर्ने भनेका थिए, अहिले जनप्रतिनिधिले त्यसमा बजेट नै छुट्याएनन् । ‘पशु र कृषिमा बजेट सम्बोधन मात्रै गरिएको छ । दिगो कार्यक्रम केही छैनन्,’ उनले भने ।


निर्वाचित भएपछि पहिलो नगर र गाउँसभाको बजेट विनियोजनअघि जनप्रतिनिधिले कृषि, पर्यटक, पशुपालन र उत्पादनमूलक क्षेत्रमा योजना बनाउन धेरैपटक बैठक बसे । योजना बनाएरै काम गर्न सुरुवात नै गरेनन् ।


भूगोलका हिसाबले देशकै ठूलो शीतगंगा नगरपालिका अथाह सम्भावना बोकेको नगर हो । यहाँ जल, जमिन, जंगल प्रशस्त छन् । उत्पादनका लागि उर्वर भूमि छ । तराईसँग जोडिएकाले उत्पादित वस्तु, खसीबोका, बंगुर सहजै बजार पठाउन सकिन्छ । पहाडको उत्पादन स्वादिलो र मीठो मान्दै तराईमा माग गर्ने धेरै छन् तर उत्पादन छैन । जनप्रतिनिधिले नगरको बजेटलाई व्यवस्थित ढंगबाट परिचालन गर्न नसकेको पूर्वजनप्रतिनिधि वसन्त श्रेष्ठले बताए ।

प्रकाशित : पुस २८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?