लुम्बिनीमा ट्राभल मार्ट

मनोज पौडेल

लुम्बिनी — लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन ट्राभल मार्ट प्रभावकारी बन्ने सरोकारवालाहरूले बताएका छन् । बिहीबारबाट सुरु भएको ३ दिने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टको शुक्रबार लुम्बिनीमा भएको उद्घाटन समारोहमा बोल्ने अधिकांशले नेपालको बुद्धिष्टस्थलको पर्यटन प्रवद्र्धन गर्न यो कोसेढुंगा साबित हुने दाबी गरे ।

लुम्बिनीमा ट्राभल मार्ट

बुद्धको जीवनकालका समग्र पुरातात्त्विक र ऐतिहासिक स्थलको उजागर गरी पर्यटनको लाभ स्थानीयदेखि मुलुकलाई दिने उनीहरूले बताए । यसले मुलुकको बुद्ध र शान्ति पर्यटनको साइनो टाढा–टाढाका मुलुकसम्म पुग्ने उनीहरूले बताए ।


‘मार्टले भारत र नेपालका बुद्धस्थल अझ नजिक हुन्छन्,’ फेडरेसन अफ एसोसिएसन इन्डिया टुरिजम एन्ड हस्पिटालिटीका अध्यक्ष आशिष गुप्ताले भने, ‘त्यसपछि नेपालको पर्यटनले फडको मार्नेछ । बुद्ध जन्मस्थल नेपाल आउन धेरै पर्यटक लालायित रहेको तर राम्रो टुर प्याकेज नहुँदा उनीहरू आउन नपाएको उनले बताए ।


मार्टले नेपालको पर्यटन व्यवसायलाई उकास्न सघाउ पुर्‍याउने अस्ट्रेलियन ट्राभल ब्लगर माइकल टटलले बताए । उनले आफूहरूले वल्र्ड हेरिटेज जर्नी : बुद्ध विषयमा बनाइरहेको वेबसाइडबारे जानकारी दिए । ‘मार्टमा यो जानकारी दिन पाउँदा निकै खुसी लाग्यो,’ उनले भने । आफूहरूको वेबसाइडमा नेपालको लुम्बिनी, भारत र बंगलादेशका ऐतिहासिक ठाउँबारे जानकारी समेटेको उनले बताए । मार्ट र वेबसाइडको सफ्ट लन्चले नेपाललाई विश्वमा चिन्ने बढदै जाने उनको भनाइ थियो । त्यसै अवसरमा युनेस्को र नेसनल जियोग्राफीले बनाउन थालेको उक्त वेबसाइडको सफ्ट लन्च गरिएको थियो ।


पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मार्टका कारण सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने योजना सार्थक बन्ने बताए । ‘पर्यटकको बसाइँ जति लम्ब्याउन सक्छौं, त्यति हामी सम्पन्न हुने हो,’ उनले भने, ‘त्यसकारण सरकारसँग निजी क्षेत्रले हातेमालो गरेर अघि बढे मात्र पर्यटक ओइरिन सक्छन् ।’


सन् २०१९ को जुनमा भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने र सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय जहाज उत्रिन थालेपछि बौद्ध देशबाट सीधै लुम्बिनी उत्रिन पाउनु बौद्ध धर्मावलम्बीलाई गर्वको अनुभूति हुने उनले बताए । उद्घाटनमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले पनि बोलेका थिए । कार्यक्रममा बुद्धको जीवनीमा आधारित नाटक देखाइएको थियो ।


उद्घाटनमा मन्त्री अधिकाकारीले नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन नाटाद्वारा प्रकाशित स्मारिका विमोचन गरेका थिए । उक्त अवसरमा मन्त्री अधिकारी हट एयर बेलुनमा पनि उडेका थिए ।


बुद्ध जन्मस्थललाई उत्कष्ट पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न ट्राभल मार्ट आयोजना गरिएको हो । ‘मार्टमा टुर अपरेटरलाई यस ठाउँको आकर्षण र महत्त्वबारे जानकारी गराउँछौं,’ नाटा प्रदेश ५ का अध्यक्ष विष्णुप्रसाद शर्माले भने, ‘त्यसपछि उनीहरूले आफ्नो मुलुकबाट यहाँ पर्यटकलाई ल्याउन आकर्षण थप्छन् ।’


पर्यटन प्रवद्र्धन गर्न मुलुकमा पहिलो पटक मार्ट भएको हो । लुम्बिनीमा उद्घाटन भएको मार्टको समापन टाइगर प्यालेस भैरहवामा शनिबार हुनेछ । नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन नाटा र नेपाल पर्यटन बोर्डको आयोजनामा मार्ट भइरहेको हो । मार्टमा बुद्धभूमि अन्वेषण : बौद्ध परिपथ प्रवेशद्वार तथा बौद्ध पर्यटन क्षेत्रको अवसर र चुनौती थिममा कार्यपत्र प्रस्तुत भएको छ । ती थिममा विभिन्न नेपाली विज्ञ, विद्वान् र भिक्षुले प्रस्तुति गरेका थिए ।


यसको मुख्य आकर्षण बिजनेस टू बिजनेस मिटिङ (बीटूबी) हो । बीटूबीमा मुख्यतया नेपाली व्यवसायीले विदेशीलाई आफ्ना टुर प्याकेजबारे जानकारी दिनेछन् । उनीहरूले आपसी सहमति गरेर प्याकेजबारे सम्झौता पनि गर्नेछन् । यसपछि दुवै मुलुकका व्यवसायीले एक–अर्काका मुलुकका पर्यटकीय गन्तव्य जोडेर कार्यक्रम बनाउनेछन् ।


मार्टमा बौद्ध पर्यटनका साथै व्यावसायिक पर्यटनको छलफल तथा अन्तक्रिया गरिनेछ । मार्टमा विदेशी पर्यटन व्यवसायी (क्रेता) र स्वदेशी पर्यटन व्यवसायी (बिक्रेता) तथा विदेशी टुर गाइड अपरेटरको सहभागिता छ । ‘ट्राभल मार्टले बौद्ध पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेताबीच सेवा तथा व्यापार राम्रो विनिमय हुन्छ’ सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष तथा मार्टका स्थानीय सहसंयोजक चन्द्रप्रकाश श्रेष्ठले भने, ‘यो काम मुलुककै लागि कोसेढुङ्गा हुन्छ ।’


मार्टमा १७ मुलुकका ट्राभल्स र टुर अपरेटर सहभागी छन् । सार्कका अतरिक्त म्यानमार, कम्बोडिया, भियतनाम र चीनका ट्राभल्स टुर अपरेटर सहभागी छन् । त्यस्तै, अस्ट्रेलिया, माल्दिभ्स, जापान, जर्मनी, क्यानाडा, ताइवान र अमेरिकाका टुर अपरेटर पनि आइपुगेका छन् । कतार, क्यानाडा, अस्ट्रेलिया, जर्मनी र ताइवानका चर्चित ब्लगर पनि यहाँ आएका छन् । उनीहरूले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउनेछन् ।

प्रकाशित : पुस २८, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?