‘चुरे संरक्षण मुख्य चिन्ता’

दाङ — नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण आफ्नो मुख्य चिन्ताको विषय भएको बताएका छन् । घोराहीस्थित शान्तिसुधा माविको रजत जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले वन र वातावरण संरक्षणमा लाग्न सबैलाई अनुरोध पनि गरे ।

‘चुरे संरक्षण मुख्य चिन्ता’

‘वनजंगल मासिँदै गएको छ । प्रकृतिको अत्यधिक दोहन भएको छ,’ उनले भने, ‘प्राकृतिक स्रोत साधनको अव्यवस्थित निकासी भइरहेको छ । यसैगरी उत्खनन भए प्रकृति नाश हुन्छ । अब सबैले प्रकृति संरक्षणमा ध्यान दिनुपर्छ ।’ विद्यार्थीलाई पनि वातावरण संरक्षणको शिक्षा दिन आवश्यक रहेको उनले बताए । ‘बालबालिकालाई पनि वातावरण संरक्षणको ज्ञान हुनुपर्छ । सानैदेखि वन वातावरणबारे चिन्ता हुनु जरुरी छ,’ उनले भने, ‘विद्यालयले नियमित प्रकृति संरक्षणका कार्यक्रम गर्नुपर्छ । मलाई प्रकृति बचाउने चिन्ता छ । यही चिन्ताले राष्ट्रपति हुँदा चुरे संरक्षणका कार्यक्रम ल्याएको हुँ ।’


धेरै बालबालिका शिक्षाबाट वञ्चित भएकामा उनले चिन्ता व्यक्त गरे । ‘धेरै बालबालिका विद्यालय जान पाएका छैनन् । कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु हुँदैन,’ उनले भने, ‘बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउनुपर्छ । बालबालिका देशका भविष्य हुन् । उनीहरूको उचित संरक्षण हुनुपर्छ ।’


‘स्वास्थ्य क्षेत्रमा व्यापार भयो’

यसैगरी रिपोर्टस क्लब दाङले बिहीबार तुलसीपुरको टरिगाउँ विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यादवले स्वास्थ्य क्षेत्र सेवाभन्दा व्यापारमुखी भएको बताएका थिए । उनले बीपी, गणेशमान, मनमोहनजस्ता नेताका नाममा खुलेका अस्पतालमा पनि व्यापार हुनु नेताहरूको अपमान भएको बताए ।


‘उहाँजस्ता नेताहरूको लोकतन्त्रका लागि ठूलो योगदान छ । उहाँहरूको बदनाम हुने गरी व्यापार गर्ने होइन,’ उनले भने, ‘सबै अस्पताल जनताको सेवा गर्न तत्पर हुनुपर्छ । नेताको नाम जोडेर अस्पताल खोल्ने तर व्यापार गर्ने कुरा ठीक भएन ।’ अस्पतालमा अभ्यास गर्ने प्रसंगमा बोल्दै आफूले काम गर्नुपरे सरकारी अस्पतालमै गर्ने बताए । ‘म अहिले सर्वसाधारण नागरिक नै छु । अग्रज नेताहरूकै नाममा खुलेका धेरै अस्पताल छन्,’ उनले भने, ‘धेरैले मलाई अनुरोध पनि गरिरहेका छन् तर म कतै गएको छैन । जानैपरे सरकारी अस्पतालमा मात्रै जान्छु । निजीमा पैसा कमाउने हिसाबले जान्नँ ।’


बीपी, गणेशमानजस्ता नेताका नाममा खुलेका अस्पतालमा अभ्यास गर्न अनुरोध आए पनि पूर्वराष्ट्रपतिका रूपमा सीमाहरू भएकाले राजनीतिक हिसाबले अभ्यास गर्न नसकिने उनले बताए । ‘म कांग्रेसमा प्रशिक्षित भएर राष्ट्रपति हुन सफल भए पनि अहिले राजनीतिक भूमिका निर्वाह गर्न सकिँदैन । मेरा सीमा छन्,’ उनले भने, ‘मलाई बस्नै मन लागे पनि सरकारी अस्पतालमै बसेर सेवा गर्ने हो । नाफा गर्ने अस्पतालमा बस्न मिल्दैन ।’ तर, आफ्ना चाहना अहिले स्वास्थ्यभन्दा अन्य क्षेत्रमा केन्द्रित भइरहेको उनले बताए । हिमाल, पहाड र तराईको वनजंगल र वातावरण कसरी जोगाउने भन्नेमा आफू चिन्तित भइरहेको उनले बताए ।


उनले संविधानको पूर्ण कार्यान्वयनका लागि पनि दबाब सिर्जना गर्दै आएको बताए । ‘मुलुकलाई सही दिशामा अघि बढाउन संविधानको पूर्ण कार्यान्वयन जरुरी छ । सबैले आवाज उठाइरहेमा सरकारलाई दबाब पुग्छ,’ उनले भने, ‘मैले पनि दबाब पुगोस् भनेर सबैतिर यही कुरा बोलिरहेको छु । आमजनताको संविधान कार्यान्वयन हुनुपर्छ भन्ने धारणा छ । मेरो चाहना पनि त्यही हो ।’


आफ्नो सपना देशमा जातीय, क्षेत्रीय सद्भाव कायम होस् भन्ने रहेको उनले बताए । ‘देशमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम होस् भन्ने चाहना छ,’ उनले भने, ‘देशका सबै समस्या संविधान लागू भएर समाधान होऊन भन्ने चाहना छ । केही असन्तुष्टि रहे पनि संविधानमार्फत सम्बोधन गर्नुपर्छ ।’

प्रकाशित : पुस २८, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?