ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

एक महिनायता रोल्पामा सडक दुर्घटनाबाट ४ को ज्यान गयो
काशीराम डाँगी

रोल्पा — उत्तरी रोल्पास्थित परिवर्तन गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरका सहचालक परिवर्तन–६ कर्तमका १९ वर्षीय टोपेन्द्र घर्तीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार बिहान १० बजेतिर ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको थियो । उक्त गाउँपालिकाको कर्तम गाउँबाट चामल बोकेर इरिवाङको बागमारा बजार आउने क्रममा ना ४ त ५३८४ नम्बरको ट्याक्टर ओरालो सडकमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ट्याक्टर सडकबाट २० मिटर मुनि खसेको थियो । दुर्घटनामा घाइते सहचालक घर्तीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।

एक महिनाको अवधिमा रोल्पामा मात्रै सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । यसअघि पूर्वी रोल्पामा छुट्टाछुट्टै भएका बस र टिपर दुर्घटनामा परी एक बालकसहित ३ जनाको मृत्यु भएको थियो ।

रोल्पाका ग्रामीण सडक निकै साँघुरा र कमजोर अवस्थाका भएकाले ती सडकहरुमा संचालित यातायातका साधन दुर्घटनामा पर्दै आएका छन् । व्यवसायीले मापदण्ड विपरीतका पुराना गाडी संचालन गर्दै आएकाले दुर्घटना बृद्धि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७५ १२:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वुमन्स टी–२० स्म्यास क्रिकेटः नेपालद्वारा चीन १० विकेटले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — थाइल्याण्डमा भइरहेको वुमन्स टी–२० स्म्यास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ ।  थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेकक्नोलोजी मैदानमा शनिबार भएको खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो ।

तस्बिरः क्रिकेट एसोसिएसन अफ थाइल्याण्ड

थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनायो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि चीन ४८ रनमै सीमित हुन पुग्यो । नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरी थापाले ४ ओभरमा १ ओभर मेडन राख्दै ६ रन मात्र दिइन् । उनले २ विकेट लिइन्।

चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा अविजित रहेका सीता राना मगर र काजल श्रेष्ठले क्रमशः २४ र १४ रन बनाए । सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन्।

चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चीनले आफ्नो इनिङ्सभरी जम्मा ३ वटा मात्र चौका प्रहार गर्‍यो ।

नेपालले प्रतियोगिताको दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ । खेल नेपाली समय बिहान ८:१५ बजे सुरु हुनेछ।

हेर्नुहोस् स्कोरकार्डः




प्रकाशित : पुस २८, २०७५ ११:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT