२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्वर्गद्वारीमा ओइरिए भारतीय तीर्थयात्री

प्यूठान — धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा भारतीय तीर्थयात्रीको भीड बढेको छ । स्वर्गद्वारी तीर्थ गरेर माघमा खिचडी खाने चलनअनुसार भारतको उत्तर प्रदेश राज्यको गोन्डा, बलरामपुर, सरावस्तीलगायत क्षेत्रका तीर्थयात्री स्वर्गद्वारीमा ओइरिएका हुन् । 

स्वर्गद्वारीमा ओइरिए भारतीय तीर्थयात्री

दैनिक हजारौं तीर्थयात्री आउने गरेको आश्रमका क्यान्टिन प्रमुख बाबुराम न्यौपानेले बताए । जाडोको समयमा स्वर्गद्वारी आएका तीर्थयात्रीलाई व्यवस्थापन गर्न आश्रमलाई मुस्किल परेको छ । ‘पँधेरामा नुहाएर मात्र भारतीय तीर्थयात्रीले मन्दिरमा पूजा गर्छन्,’ उनले भने, ‘जाडोमा चिसोपानीमा नुहाउँदा धेरै तीर्थयात्री कठ्यांग्रिने गरेका छन् ।’


धेरै ठाउँमा आगो बाल्ने व्यवस्था आश्रमले गरे पनि त्यसले सबैलाई सुविधा नपुग्दा समस्या भएको छ । खेतमा गहुँ छरेर पानी सिँचाइ गरी स्वर्गद्वारीमा पूजा गरेमा बाली राम्रो हुने, मृत्युपछि स्वर्ग पुगिने धार्मिक विश्वासमा भारतीय तीर्थयात्री स्वर्गद्वारी आउने गरेको आश्रमले जनाएको छ । पुस/माघमा स्वर्गद्वारी आउने तीर्थयात्रीमध्ये ७० प्रतिशत भारतीय हुन्छन् ।


भदौ, कात्तिक, वैशाख र जेठ महिनामा पनि भारतीय तीर्थयात्रीको स्वर्गद्वारीमा भीड लाग्छ । ‘यो समयमा पूजा गर्ने लाइन धेरै लामो हुने भएकाले आएकै दिन पूजा गरेर फर्कन भ्याउँदैनन्,’ न्यौपानेले भने, ‘पूजा गरेर फर्कन ५/७ घण्टा लाइन बस्नुपर्छ । चिसोमा लाइन बस्न निकै समस्या छ ।’ भीड बढी भएपछि तीर्थयात्रीलाई पालो/पालो पूजा गर्ने व्यवस्था मिलाउन आश्रम परिवारले प्रहरीको सहयोग लिने गरेको उनले बताए ।


तीर्थयात्रीले यहाँको पँधेरा (बाल तपस्वीले) नुहाएको ठाउँमा नुहाएर कपडा, नरिवल, चामल, भेटी चढाएर मन्दिरमा पूजा गर्छन् । स्वर्गद्वारीमा नुहाएर पूजा गरेमा पूण्य मिल्ने, मागेको कुरा पूरा हुने भनेर आएको भारतको बलरामपुरका भगवत यादवले बताए । आफ्नो गाउँका हरेक परिवार स्वर्गद्वारी आउने गरेको र पूजा गरेर फर्की माघमा खिचडी खाने चलन रहेको उनले सुनाए । भिंगृसम्म सार्वजनिक बसमा आएर हिँडेर स्वर्गद्वारी पुग्ने धेरै छन् । ‘हामीले स्वर्गद्वारीलाई स्वर्ग जाने ढोका भन्छौं,’ भारतको गोन्डाका राम यादवले भने, ‘उत्तर प्रदेशमा स्वर्गद्वारीको धेरै महत्त्व छ ।’


विक्रम संवत् ०१५/०१६ देखि नै भारतीय तीर्थयात्री स्वर्गद्वारी आउने गरेको आश्रम व्यवस्थापन समितिका सदस्य डा. ध्रुवश्री (रुद्र मिश्र)ले बताए । ‘भारतीय तीर्थयात्रीले चढाएको भेटीले आश्रम धानिएको छ,’ उनले भने, ‘पछिल्लो समय तीर्थयात्री बढ्दै छन् ।’ वैशाख पूर्णिमा, भदौको पितृपक्ष र खिचडी पर्व माघमा भारतीय तीर्थयात्री धेरै आउने उनले बताए ।


रोल्पाको रुम्टीगढीमा जन्मेका बाल तपस्वी नारायण गौतमले १९५२ वैशाख पूर्णिमाका दिन स्वर्गद्वारीमा महायज्ञ लगाएको इतिहास छ । त्यसपछि स्वर्गद्वारीको महिमा सुरु भएको स्थानीय बताउँछन् । यज्ञमा दर्शन गर्न आउने भक्तजनबाट संकलित भेटीले नै प्यूठान र दाङका विभिन्न स्थानमा १ हजार १ सय रोपनीभन्दा बढी जग्गा खरिद गरिएको छ । यज्ञका लागि चाहिने दुध, दही र घिउका लागि उतिबेलैबाट ५ सयभन्दा बढी गाई पालन सुरु गरिएको आश्रमले जनाएको छ ।


पछिल्लो समय स्वर्गद्वारी पुग्ने सडक सुधार हुँदै गएपछि हिन्दुबाहेक अन्य धर्मप्रति आस्था राख्नेसमेत स्वर्गद्वारीमा आउने गरेका छन् । हिन्दु धर्ममा गाईलाई लक्ष्मी र आमाका रूपमा लिइन्छ । महायज्ञमा पूजा गर्दा गाईको घिउ चढाउने चलन छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ मा पर्ने स्वर्गद्वारी आश्रम भालुबाङ–प्यूठान सडक अन्तर्गत भिंगृबाट १३ किलोमिटरको दूरीमा छ । दाङको घोराहीबाट पनि स्वर्गद्वारी पुग्न सकिन्छ । महाप्रभुको समाधिस्थल, गुप्फा, अखण्ड महायज्ञ, यहाँबाट देखिने हिमशृंखला स्वर्गद्वारीका मुख्य आकर्षण केन्द्र हुन् ।

प्रकाशित : पुस २९, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?