मुक्त कमलरीको माघी : दासता सम्झाउने पर्व

दुर्गालाल केसी

दाङ — माघी आयो कि सुनीता चौधरीलाई जमिनदारले मोलमोलाइ गरेको दिन याद आउँछ । माघी जमिनदारको घरमा बँधुवा मजदुर बन्न गएको दिन हो ।

मुक्त कमलरीको माघी : दासता सम्झाउने पर्व

‘माघीमा गएपछि फेरि अर्को माघीमा घर फर्कने आशा गरेर बस्नुपथ्र्यो, कहिलेकाहीं त माघीमा पनि घर जान पाइँदैनथ्यो,’ मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष चौधरीले भनिन्, ‘माघी दासता सम्झाउने पर्व हो । यसले धेरै थारू बालिकाको भविष्य बर्बाद पारेको छ ।’


विगतमा माघीलाई कमलरी पठाउने पर्वका रूपमा लिइने भएकाले अधिकांश थारू बालिका यो पर्वदेखि डराउँथे । अहिले भने स्वतन्त्रतापूर्वक मनाउन पाइरहेका छन् । कमलरी जीवनबाट मुक्त भएपछि माघीको खास रमाइलो अनुभूति गर्न पाएको चौधरीले बताइन् । अहिले मुक्त कमलरीले नै कार्यक्रम आयोजना गरी माघी मनाउने गरेको उनले बताइन् । ‘बाल्यकालमा माघीलाई रमाइलोसँग मनाउनै पाइएन । जहिले पनि दास बन्न जाने कुराले तर्साउँथ्यो,’ उनले भनिन्, ‘वर्षभरि अर्काको भाँडा र कपडा सफा गर्दैमा दिन–रात बित्थे । अहिले भने स्वतन्त्रपूर्वक मनाउन पाइएको छ ।’


मुक्त कमलरी संगठित भएर अहिले आफ्नै भवन बनाएका छन् । १२ हजारभन्दा बढी मुक्त कमलरीको योगदानबाट घोराहीमा जग्गा किनेर कार्यालय भवन बनाइरहेको उनले बताइन् । ‘आज माघी मनाइरहँदा हाम्रो घर ढलान भइरहेको छ । यसभन्दा ठूलो खुसी के हुन सक्छ ?,’ चौधरीले भनिन्, ‘अहिले कोही पनि बहिनी कमलरी गइरहेको खबर सुन्नुपरेको छैन ।’


थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने भएकाले यही समयमा कमलरी पठाउने या पहिलेकै ठाउँमा नवीकरण गर्ने चलन हुन्थ्यो । २०५७ सालसम्म थारू समुदायका अधिकांश परिवार जमिनदारको घरमा कमैया/कमलरीका रूपमा बसिरहेका हुन्थे । सरकारले ०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि कमैया दासताबाट मुक्त भए ।


त्यसयताका माघी कमैया बस्ने र नवीकरण गर्ने कामबाट मुक्त भए तर कमलरी राख्ने चलन भने रोकिएन । ‘कमैयासँगै कमलरीको भने मुक्ति हुन सकेन । बुबाआमाले उपचारका लागि लिएको ऋण तिर्न नसकेर कमलरी बस्नुपर्‍यो,’ मुक्त कमलरी उर्मिला चौधरीले भनिन्, ‘पढ्ने–लेख्ने, भविष्य बनाउने समय मालिककै घरमा बित्यो । माघी पर्व पीडाको पर्व थियो । अहिले पनि माघीले दासता सम्झाउँछ ।’


मुक्त कमलरीको लामो संघर्षपछि सरकारले ०७० असार १३ गते देशमा कमलरी मुक्तिको घोषणा गर्‍यो । हालसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट १२ हजार ८ सय ६९ कमलरी मुक्त भएका छन् । विभिन्न समस्याका कारण अहिले पनि पश्चिम तराईमा ७८ बालिकाले कमलरी जीवन बिताइरहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।


माघी विगतमा थारू समुदायका बालिकालाई दास बनाउने पर्व भए पनि अहिले परिमार्जन हुँदै आएको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘पहिले माघी आयो कि घरमा छोरीलाई कमलरी पठाउने सल्लाह हुन थाल्थ्यो । हरेक माघीमा थारू बालिका दास बन्न जान्थे,’ उनले भने, ‘अहिले समाज बदलिएको छ । थारू समुदायको चेतना र जीवनशैलीमा पनि धेरै परिवर्तन आएको छ ।

प्रकाशित : पुस ३०, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?