कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

वनले रोक्यो परदेश

वीरेन्द्र केसी

अर्घाखाँची — हुर्किंदै गरेका कुन रूख कति अग्ला भए ? फेँद कति बाक्लिँदै गयो, मलजल र स्याहार पुग्यो कि पुगेन ? उपभोक्ताबीच छलफल चल्छ । सर्लक्कको रूखले दायाँ–बायाँ हाँगा फैलायो भने हाँगा काटिन्छ । रूख सीधा बढ्न मात्रै दिइन्छ ।

वनले रोक्यो परदेश

चारैतिर हाँगा हाल्यो भने रूखको मोटोपन बढ्न सक्दैन । यसले काठ उत्पादनमा घाटा हुन्छ भन्नेमा शीतगंगा नगरपालिका–१३ धिरीखोला सामुदायिक वनका उपभोक्ता सचेत छन् ।


बाह्रै महिना वन संरक्षण, रूख हुर्काउने र झाडी सफा गर्नमै काम पुग्छ । २ सय ७ मध्ये १ सय १६ हेक्टर क्षेत्रफललाई वैज्ञानिक दिगो वन व्यवस्थापन गरिएको छ । वैज्ञानिक बाहेकको क्षेत्रफलमा रहेका वनमा धेरै पुराना बूढा रूख छन् । जुन धोद्रा छन् । वर्षौंसम्म बांगा रूख छन् । वैज्ञानिक बनाएजतिको वन क्षेत्र तारबारले घेरिएको छ । सीधा रूख, वन सफा र चिटिक्क छ । त्यहाँ जिल्लाभित्र र बाहिरबाट हेर्न आउनेको घुइँचो नै लाग्छ । यसै वर्ष गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाएर नेपालकै दोस्रो भएपछि यसले थप चर्चा पाएको छ । ‘प्राय: दैनिक हेर्छौं,’ उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलले भने, ‘रेखदेख गरेपछि छिटो काठ बढ्छ ।


दिनभर यहीं काम बाँडेर गर्छौं । उचित पारिश्रमिक पाइन्छ ।’ वैज्ञानिक वन कसरी व्यवस्थापन गरिएको रहेछ भन्दै जिल्लाभित्र र बाहिरबाट डीएफओ, कर्मचारी र उपभोक्ता आउँछन् । अध्यक्षसहित पदाधिकारीले वन देखाउने गर्छन् ।


वनमा वर्षौंसम्म बूढा रूख राख्नु हुँदैन भन्ने सन्देश दिन केही धोद्रा र ढालेका रूख देखाउनलाई राखेका छन् । ‘पुरानो रूख देख्दा लाखौं मूल्यको काठ होलाजस्तो लाग्छ । तर, काटेपछि पूरै धोद्रा छन्,’ अध्यक्ष पौडेलले भने, ‘यस्तो भएपछि आम्दानी हुँदैन । काटेर नयाँ रूखलाई संरक्षण गरी हुर्काउनुपर्छ ।’


यहाँका सबै उपभोक्ताको ध्यान कुन रूख कति मोटायो भन्नेमै छ । घरमा बेलुका खाना खाँदा परिवारबीच रूखकै बारेमा गफ हुन्छ ।

‘गाउँका सबै महिला वन संरक्षणमा सक्रिय छौं,’ समूहकी पूर्वअध्यक्ष सीमा गुरुङले भनिन्, ‘दैनिक काम भएकाले गफ गरेर बस्ने फुर्सद छैन । हरियो वन, नेपालको धन भन्ने राष्ट्रिय नारा छ । यहाँ हरियो वन, गरिबको धन भएको छ ।’ बिहान–बेलुका घरको काम, घाँसपात र दिउँसो वनकै काममा व्यस्त हुन्छन् ।


‘यत्तिकै वनमा छाडेको रूखभन्दा संरक्षण गरेको, मलजल, स्याहारसुसार, हाँगाबिगाँ काटछाँट, पतल्याउँदा काठ छिटो हुर्कंदो रहेछ,’ उनले भनिन्, ‘खेतबारीमा अन्नबालीजस्तै वनमा रूख हुर्काएका छौं ।’ पुसदेखि जेठसम्म झाडी सफा गर्ने, बोटमा मल राख्ने, अग्नि नियन्त्रणका लागि ५ मिटरसम्म भुँइ बढार्ने काममा महिला र रूख कटान, चिरानमा पुरुषलाई भ्याइनभ्याइ हुन्छ । काठका गोलिया बनाउने, गाडीमा लोड गरिदिने र दाउरा चिर्नेलगायत सबै काम उपभोक्ताले गर्छन् ।


काम गरेबापत सबैले पारिश्रमिक पाउँछन् । ‘बाह्रै महिना काम पुगेको छ । दैनिक ७ सय ज्याला पाइन्छ, वैज्ञानिक वन भएपछि विदेश जान छाडेर ६ वर्षदेखि यतै काम गरेको छु,’ भंगलाका गिरबहादुर रानाले भने । ६ वर्ष मलेसिया बसेर कमाएको भन्दा यहीं काम गरेर धेरै कमाएको उनले बताए ।


उनीसहित भंगला गाउँका ३२ घरपरिवार स्वरोजगार बनेका छन् । रोजगारका लागि परदेश धाउनु परेको छैन । भंगला गाउँ वनबाटै स्वरोजगार उन्मुख छ । काठ र दाउरा बेचेको आम्दानीले उपभोक्ताले ऋण लगेर पशुपालन, तरकारी खेती गर्छन् । सबैका घर जस्तापाताले छाइएका छन् ।

प्रकाशित : माघ १, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?