१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ग्रामीण भेगमा सडक दुर्घटना बढ्दै

काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–३ जुतुङखोलामा ३ दिनअघि बस पल्टिँदा २ यात्रुको घटनास्थलमै मृत्यु भयो । बसमा यात्रारत सबै घाइते भए । 

जिल्लामा अघिल्लो वर्षदेखि सञ्चालित आशीर्वाद यातायात प्रालिको बा१ख ५५२१ नम्बरको उक्त बसमा ३० यात्रु सवार थिए । बस कच्ची सडकबाट ५० मिटर तल खस्दा चालक नवराज आलेसहित लुङ्ग्री गाउँपालिका–३ का ११ महिने बालक नितेश विकको ज्यान गयो ।


केही वर्षअघि निर्माण सम्पन्न उक्त कच्ची सडक साँघुरो भएको, बस पुरानो भएको र यात्रु बढी भएकाले उक्त बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ । घुम्तीमा बसले भार थाम्न नसकेपछि बस सोझै खोलामा खसेको थियो । खचाखच यात्रुसहितको बस नियन्त्रणमा लिन नसकेपछि प्यूठानकै स्वर्गद्वारी नगरपालिका–५ सारी गाउँका चालक आले आफंैले पनि ज्यान गुमाए । उक्त बस सुलीचौरबाट सिर्पको जुतुङखोलातर्फ जाँदै थियो ।


केही समयअघि उक्त सडकमा टिपर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा टिपर चालक दाङ निवासी वेदबहादुर बस्नेतले ज्यान गुमाएका थिए । सडक निर्माणमा लगाइएको रा१ख १६७९ नम्बरको उक्त टिपर सडकबाट उछिट्टिएर खोलामा पुग्दा चालकको मृत्यु भएको थियो ।


प्रहरीका अनुसार भर्खरै निर्माण गरिएका साँघुरा सडकमा सडक दुर्घटना हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक लीलाराम आचार्यले निकै साँघुरा सडकमा यातायात व्यवसायीले ठूला आकारका गाडी पनि जबरजस्ती चलाउन खोज्दा दुर्घटना भएको बताए । ‘जहाँसम्म सडकको पहुँच पुगेको छ, त्यहींसम्म गाडी पुर्‍याउने होडबाजी छ । सडकको मापदण्ड नपुग्दा दुर्घटना भएका उदाहरण छन्,’ प्रहरी निरीक्षक आचार्यले भने ।


सडक दुर्घटना वृद्धि भएपछि ग्रामीण भेगमा चल्ने सवारी साधन सञ्चालनमा सजगता अपनाउन सूचना गरिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए । अनुमति लिइएका र नलिइएका सडकमा सवारी साधन चलाउँदा दुर्घटना बढेको उनले बताए । ‘सडक अनुमति लिएका र नलिएका सवारी साधनबारे सोधीखोजी गर्नुपर्ने भएको छ,’ उनले भने, ‘प्रहरी र प्रशासनले पहिलेदेखि नै यसबारे चासो व्यक्त गर्दै आएको हो ।’ प्रजिअ एमसीले अति साँघुरा र निर्माण पूरा नभएका सडकमा पनि मझौला र ठूला आकारका बस चलाउने होडबाजीले दुर्घटना निम्त्याउने गरेको पाइएको बताए ।


जिल्लाभर कुन प्रकार र अवस्थाका सवारी साधन चलिरहेका छन् भन्नेबारेमा अनुसन्धान गर्दै आएको प्रशासनले जनाएको छ । धेरै पटक सवारी साधनको अवस्था र सडकको अवस्थाबारेमा सरोकारवालासँग संयुक्त बैठक भएको प्रजिअ एमसीले बताए । प्रहरीले अन्यत्र जिल्लामा चलाएर पुराना बनाइएका सवारी साधनलाई रोल्पामा चलाइएको पाइएको जनाएको छ ।


‘अन्यत्र चलाएर थोत्रा भएका सवारी साधन यहाँ चलाइएको सूचना आएको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘प्रशासन र प्रहरीबीचको सुमधुर सम्बन्ध हुन सकेमा पुराना साधन पत्ता लगाउन र तिनको सञ्चालनमा रोक लगाउन सकिन्छ ।’ यहाँका यातायात प्रालिले बस र जिप ‘सेकेन्ड ह्यान्ड’ मा खरिद गरेर रोल्पामा चलाउन थालेको उजुरी प्रशासनमा बुझाइएको बताइएको छ । यसबारेमा पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको ती ट्राफिक प्रहरी अधिकृतले बताए ।


प्रहरीले स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा सञ्चालनमा ल्याएका सवारी साधनबारे जानकारी लिनुपर्नेमा त्यसो नगरेको गुनासो गरेको छ । जनप्रतिनिधि आफैंले चासो लिन सकेमा यातायात सञ्चालनमा सहज हुने विश्वास रहेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।


यसैबीच, प्रशासनले सडकको अवस्था र सवारी साधनको अवस्थाबारे गहिरो अध्ययन गरेर मात्रै सञ्चालन अनुमति दिनुपर्ने स्थानीयको माग छ । जिल्लामा सञ्चालित यातायात सम्बद्ध समितिका पदाधिकारीसमेतको उपस्थितिमा आयोजित बैठकमा बिनाअनुमति कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिनेबारे छलफल भए पनि प्रशासनले चासो नदेखाएको स्थानीय नागरिक समुदायको गुनासो छ ।

प्रकाशित : माघ १, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?