सातौं राष्ट्रिय गणित सम्मेलन : प्रयोगात्मक नहुँदा विद्यार्थी कमजोर

अमृता अनमोल

बुटवल — गणित विषयलाई व्यावहारिक र दैनिक जीवनमा आइपर्ने समस्या समाधानका रूपमा नलिँदा विद्यार्थी कमजोर बन्दै गएको विज्ञहरूले बताएका छन् । 

सातौं राष्ट्रिय गणित सम्मेलन : प्रयोगात्मक नहुँदा विद्यार्थी कमजोर

पाठ्यक्रम निर्माण सरल र समस्या पहिचान गर्ने नहुँदा पनि गणितको सिकाइ उपलब्धि घट्दै गएको दाबी गरेका छन् । गणितलाई सरलीकृत गरी व्यवहार उपयोगी बनाउन बुटवलमा आइतबारदेखि सातौं राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ । सहभागी विज्ञले गणित दैनिक जीवनयापनको अनिवार्य विषय भएकाले त्यसलाई सरलीकृत गरी व्यवहार उपयोगी बनाउन आग्रह गरेका हुन् ।

‘ज्यामिती पढ्ने विद्यार्थीले सबैभन्दा पहिले आफ्नो घरको नक्सा बनाउन र आफ्नो टेबल नाप्न सिक्यो भने बल्ल पढाइ बुझ्छ,’ काठमाडौं विश्वविद्यालयका डिन डा. कन्हैया झाले भने, ‘तर, हामीले यो सिकाएकै छैनौं । कापीमा रेखा कोर्न मात्रै सिकाउँदा समस्या छ ।’ यसका लागि गणितको पाठ्यक्रम निर्माण र शिक्षण विधि दुवैलाई व्यावहारिक र प्रयोगात्मक बनाउनुपर्ने उनले बताए ।

राष्ट्रिय तथ्यांकअनुसार एसईईमा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण हुन्छन् । क्याम्पस तहमा पनि समस्या छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणअनुसार सन् २०१३ मा कक्षा ८ का विद्यार्थीको गणितको सिकाइ उपलब्धि ५ सय ८ थियो । अघिल्लो शैक्षिक सत्र अर्थात् सन् २०१७ मा घटेर ४ सय ९२ छ । देशका ४५ हजार विद्यार्थीमा गरेको परीक्षणमा प्रदेश १ र कर्णालीका विद्यार्थीले औसत अंक पनि ल्याएका छैनन् ।

शिक्षकले कक्षा कोठामा पर्याप्त समय नदिँदा पनि विद्यार्थीको गणित सिकाइ उपलब्धि कमजोर देखिएको विज्ञहरूले बताए । ‘धेरै विद्यालय र कक्षाकोठा परीक्षा पास गर्ने उपाय सिकाउने तालिम केन्द्रजस्तो बनेका छन्,’ नेपाल गणित समाजका सभापति चेतराज भट्टले भने, ‘यसले पनि गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धि घट्दै र शिक्षण प्रणाली कमजोर हुँदै गएको छ ।’

विद्यालय तहमा गणितको ५ दिन ४५ मिनेटका दरले मात्रै पढाइ हुन्छ । अन्य विषयको तुलनामा गणितको विषयगत उद्देश्य धेरै हुने तर समय नहुने भएकाले यसमा विद्यार्थी कमजोर देखिएका हुन् । यस्तोमा विद्यार्थी पढाइभन्दा ट्युसन र कोचिङमा बढी आकर्षित हुन्छन् । यस्तोमा कक्षा शिक्षणमा सुधार गर्न र गणितलाई बढी समय दिन विज्ञले सुझाव दिए ।

‘विद्यार्थीलाई सूत्र घोकाउन र परीक्षामा पास हुने तरिका मात्रै नसिकाउनूस्,’ स्कुल अफ म्याथमेटिक साइन्सका निर्देशक प्रकाशमुनि वज्राचार्यले भने, ‘व्यावहारिक समस्या समाधान गर्ने गरी गणित सिकाउनूस् । त्यस्तै पाठ्यक्रम पनि बनाइदिनूस् ।’ विज्ञका अनुसार गणित प्रयोगात्मक विषय हो । तर, विद्यालय तहसम्म यसलाई सैद्धान्तिक विषयका रूपमा मात्रै लिइएको छ । प्राय: विद्यालयमा गणितका शैक्षिक सामग्री हुँदैनन् । यस्तोमा धेरै शिक्षकले गणितलाई पनि प्रवचन विधि तथा पुरानै शैलीमा पठनपाठन गराएका छन् । प्राध्यापक तुलसी सापकोटाले यसले पनि गणित विषयको सिकाइ उपलब्धि बढाउन समस्या परेको बताए ।

सम्मेलनमा विद्यालयतहदेखि विश्वविद्यालयसम्मका छनोट गरिएका शिक्षक र विज्ञ छन् । सार्क मुलुकका विज्ञ तथा प्राध्यापकले गणित शिक्षणमा देखिएका समस्या पहिचान, समाधानका उपाय, पाठ्यक्रम स्तरीकरणलगायत विषयमा १ सय ७ वटा

कार्यपत्र प्रस्तुत गर्दैछन् ।

‘गणितको विश्वव्यापीकरण भइरहेको छ,’ आयोजक नेपाल गणित समाजका केन्द्रीय सदस्य जगदीश ज्ञवालीले भने, ‘यस्तो बेलामा गणित शिक्षण सिकाइलाई सरल र सहज बनाउँदै प्रयोगात्मक र अनुसन्धानमूलक बाटोमा लैजाने उपायसमेत खोजिनेछ ।’

प्रकाशित : माघ १, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?