कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गाउँपालिकाद्वारा शिक्षकलाई तलब

काशीराम डाँगी

रोल्पा — पश्चिमी रोल्पास्थित गंगादेव गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई महिनावारी तलब प्रदान गरेको छ । जनप्रतिनिधिको पहलमा गाउँपालिकाकै बजेटबाट शिक्षकलाई तलब दिइएको हो । 

अघिल्ला वर्षमा निजी शिक्षकलाई तलब जुटाउन अभिभावकले नै चन्दा र शिक्षा शुल्क संकलन गर्थे । शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गरेर निजी शिक्षकलाई तलब दिने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि ४ करोड ७८ लाखभन्दा बढी बजेट चालु आर्थिक वर्षमा छुट्याएको बताए ।


उनका अनुसार विद्यालय र खेल मैदान मर्मत गर्न पनि बजेट विनियोजन गरिएको छ । निजी स्रोतका शिक्षकको तलबमा मात्रै गाउँपालिकाले मासिक १० लाख १४ हजार बजेट विनियोजन गर्दै आएको छ । उक्त गाउँपालिकामा सबै तहका गरी ३९ वटा विद्यालय छन् । यहाँ माध्यमिक ८, आधारभूत ११ र प्राथमिक २० विद्यालय छन् । बालविकास केन्द्र ९ वटा छन् ।


शिक्षा स्रोत व्यक्ति शेरबहादुर डाँगीले विद्यालय सुधार गरेर शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिका तहबाटै चासो व्यक्त गरिएकामा खुसी लागेको बताए । उनले शिक्षा क्षेत्रमा ठूलो बजेट विनियोजना गरेकाले अब परिणाम पाउन बाँकी रहेको बताए । गाउँपालिकाले निजी स्रोतमा नियुक्त भएका १ सय ९ शिक्षकलाई तलब दिँदै आएको छ ।


सबै शिक्षकलाई तलब बुझाउँदा वर्षमा १ करोड ३१ लाख ८२ हजार खर्च हुन्छ । गाउँपालिकाले नै निजी स्रोतका प्राथमिक तहका ६२ जनालाई ८ हजार, आधारभूत तहका २८ जनालाई ९ हजार र माध्यमिक तहका १९ जनालाई १४ हजारका दरले मासिक तलब बुझाउने गरेको छ । जिनाबाङस्थित सिद्धार्थ आधारभूत विद्यालयका शिक्षक प्रेमबहादुर वलीले स्थानीय तहले विद्यालयको सुधार गर्न र निजी शिक्षकलाई तलब दिन बजेट छुट्याएकाले अभिभावकलाई सहज भएको बताए । ‘शिक्षकका लागि तलब जुटाउनै टाउको दुखाइ थियो,’ उनले भने, ‘अहिले सजिलो भएको छ ।’


नमुना विद्यालय अभियानका उनी संयोजकसमेत हुन् । उनका अनुसार गाउँमा विद्यालय सुधार गर्दै शैक्षिक वृद्धि गर्न अभिभावकसँग सहयोग माग्दा पनि आर्थिक समस्याले पछि हट्ने चलन छ । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मौलिक हकका रूपमा उल्लेख गरे पनि गाउँमा चन्दा र घरपिच्छे रकम जुटाएरै विद्यालय चलाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।


नमुना विद्याललय बनाउने अभियानलाई सघाउन विदेशी र वैदेशिक रोजगारीमा गएका युवाको कमाइ चोइट्याएर लगानी गर्नुपर्ने अवस्था रहेको शिक्षक वलीले बताए । उनले विद्यालयलाई नमुना बनाउने योजनामा लगानी भएको करिब १ करोड रकम वैदेशिक रोजगारीमा पुगेकाबाट संकलन गरिएको बताए । गाउँपालिका अध्यक्ष खत्रीले सबै विद्यालयमा शिक्षक दरबन्दी मिलाउन बाँकी रहेको बताए ।


‘धेरै विद्यालयमा विषयगत शिक्षक छैनन् । थप शिक्षक राख्नुपर्दा अरू बजेट खाँचो पर्ने देखिएको छ,’ अध्यक्ष खत्रीले भने । उनले शिक्षालगायत स्वास्थ्य तथा कृषि क्षेत्रमा पनि ठूलै बजेट विनियोजन गरिएको बताए । जिल्लास्थित अधिकांश स्थानीय तह अन्तर्गतका विद्यालयमा अहिले पनि ठूलो संख्यामा निजी शिक्षक कार्यरत छन् ।

प्रकाशित : माघ १, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?