१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जग्गा दर्तामा ढिलाइ, चार वर्षमा ६ वडालाई मात्रै पुर्जा

पाल्पा — विशेष नापी कार्यालयमार्फत जग्गाको नापनक्सा र दर्ता गर्ने काममा ढिलाइ भएको छ । चार वर्षअघि सुरु डिजिटल प्रविधिको नापनक्सा अहिलेसम्म ८१ मध्ये ६ वडामा मात्र सम्पन्न भएको छ । ८ वडामा दर्ता प्रक्रिया चलिरहेको छ । बाँकी ६७ वडामा काम सुरु भएको छैन । 

०६२ माघ १८ गते तत्कालीन माओवादीले पाल्पा दरबार आक्रमण गर्दा यहाँका नापी र मालपोतसम्बन्धी सबै अभिलेख जलेका थिए । सरकारले अर्घाखाँची, अछाम, पाल्पामा विशेष नापी कार्यालय स्थापना गरेर डिजिटल प्रविधिको नाप नक्सा वितरण गर्ने योजना ल्याएको हो । सोहीअनुसार यहाँका वडामा नाप नक्सा, दर्ता र लालपुर्जा वितरणको काम भइरहेको कार्यालयले जनाएको छ ।


अहिलेसम्म तानसेन नगरपालिका–११ बन्दीपोखरा, बगनासकाली–९ चापपानी, बगनासकाली–२ पोखराथोक, माथागढी–२ रुप्से, बगनासकाली–८ बराङदी, बगनासकाली–७ खानीगाउँका बासिन्दाले मात्र डिटिजल नापनक्सासहितको लालपुर्जा पाएका छन् ।


माथागढी–४ झडेवा, रामपुर नगरपालिका–७ रामपुर, तानसेन नगरपालिका–१० तेल्घामा नापनक्सा चलिरहेको विशेष नापी कार्यालयका निमित्त प्रमुख महेश्वर कार्कीले बताए । उनका अनुसार दर्ता प्रक्रिया तानसेन नगरपालिका–८ मदनपोखरा, रामपुर नगरपालिका–५ र ६ रामपुर, माथागढी–३ कसेनी साथै माथागढीकै १ चिदीपानीमा भइरहेको छ ।


‘काम सुरु गरेको ४ वर्ष भइसक्यो,’ उनले भने, ‘तर, हामी पनि सन्तुष्ट हुने गरी काम गर्न सकिएको छैन ।’ उनका अनुसार कर्मचारी अभावका कारण यस्तो समस्या भएको हो । विशेष नापीमा ९८ जनाको दरबन्दी छ । अहिले आधा पनि कर्मचारी नभएको प्रशासनतर्फका नायब सुब्बा लेखनाथ अर्यालले बताए । उनका अनुसार कर्मचारी अभावले गर्दा काम गर्नमा ढिलाइ भएको हो ।


जिल्लामा नेतृत्व गर्ने प्रमुख नापी अधिकृत नै छैनन् । महिनांैदेखि प्रमुख नापी अधिकृत नआएकाले पनि कामले गति नलिएको उनले बताए । नापी अधिकृत दुईमध्ये एकजना मात्र छन् । निमित्तको भरमा महिनौंदेखि काम गर्नुपरेको छ । अमिनको ६० जनाको दरबन्दी छ । अहिले यहाँ १३ जना स्थायी र १५ जना करारका गरी २८ जना मात्रै कार्यरत छन् । सर्भेक्षकको २६ दरबन्दीमा ३ जना मात्र छन् । २ जनाको खरिदार दरबन्दी रिक्त छ । लेखापाल पनि छैनन् । ‘कर्मचारी दरबन्दी पूरा नहुँदा धेरै स्थानमा टोली खटाउन सकिएको छैन,’ उनले भने, ‘त्यसैले पनि ढिलाइ भइरहेको हो ।’


खटिएका कर्मचारीले पनि हाकाहाकी घूस माग्ने गरेको गुनासो अत्यधिक छ । मदनपोखरा, कसेनी, चिदिपानी, चिर्तुङधारामा यस्ता गुनासा बढी छन् । जिल्लाका नागरिकले १३ वर्षपछि बल्ल आफ्नो लालपुर्जा पाएका छन् ।


लालपुर्जा पाएकाहरू खुसी भएका छन् । १३ वर्षपछि जग्गाधनीले लालपुर्जा पाएपछि खुसी भएका छन् । १० वर्षे जनयुद्धका बेला ०६२ माघमा माओवादीले जिल्ला प्रशासन कार्यालय आक्रमण गर्दा मालपोत कार्यालयमा जग्गाधनीको लालपुर्जाका स्रेस्ता जलेपछि जग्गाधनी लालपुर्जाविहीन भएका थिए । उतिबेला जिल्लाका ध्वस्त भएका अधिकांश संरचनाहरू निर्माण भए तर पुन: नापी हुन नसक्दा जिल्लाका धेरै साबिक गाविसका जग्गाधनीले अझै लालपुर्जा पाउन सकेका छैनन् ।

प्रकाशित : माघ २, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?