खरको छानामा आगोको डर

प्यूठान — केटाकेटी खेल्ने क्रममा आगलागी हँुदा तीन घर जले । लाखौंको क्षति भयो । खरको छानामा आगोको लप्काले छिटो भेटयो । गुहार माग्दा माग्दै आगो सल्किसकेको थियो । तत्काल गाउँले जम्मा भएकाले प्यूठान नगरपालिका–८ भेडाबारीकी ७५ वर्षीया चिमारी नेपालीको घर पूरै जल्नबाट जोगियो । 

खरको छानामा आगोको डर

२०३० सालमा बनाएको खरले छाएको घर अहिलेसम्म जस्तामा बदल्न नसक्दा आगलागी हुने जोखिम रहेको चिमारीले बताइन् । ‘श्रीमान् बितेको १० वर्ष भइसक्यो,’ आँगनमा बसेर घरतर्फ देखाउँदै उनले भनिन्, ‘उहाँको पालामा छाउन सकिएन । छोराको पालामा पनि यस्तै छ ।’


दैनिक ज्यालादारीमा घर निर्माण गर्ने काममा लागेका छोरा रेशमको कमाइले ५ जनाको परिवार जेनतेन चलेको उनले सुनाइन् । गत शुक्रबार भएको आगलागीमा जलेका काली, प्रकाश र बिर्खे नेपालीका परिवार उनकै घरमा आश्रय लिएका छन् । ‘हाम्रो घर बचेकाले आश्रय लिने ठाउँ भो,’ उनले भनिन्, ‘गर्मीको दिन भएको भए हाम्रो घर बच्ने अवस्था थिएन ।’


गाउँमा खरले छाएका धेरै घर रहेकाले आगलागी हुँदा सबैका घर जल्ने सधैं त्रास रहिरहेको उनले बताइन् । सरकारले खरका छाना हटाउने कुरा रेडियोमा सुने पनि आफ्नो गाउँमा त्यो कुरा कसैले नगरेको उनले बताइन् । नगरपालिकाको सबैभन्दा पछाडि परेको भेडाबारी बस्तीमा २०/२५ घर खरले छाएका रहेको स्थानीय लोकबहादुर सार्कीले बताए । ‘देशमा राजनीतिक व्यवस्था परिवर्तन भो,’ उनले भने, ‘हाम्रो भेडाबारीका जनताको अवस्था उस्तै छ ।’


यस दलित बस्तीमा आज कमाएको आजै खाने अवस्था रहेको सार्कीले बताए । ‘सरकारले गरिब परिचयपत्र दिएको छ,’ उनले भने, ‘गरिबलाई कुनै सेवा दिएन ।’


नगरपालिकाभित्र रहे पनि भेडाबारी बस्ती निकै दुर्गम रहेको सामाजिक अगुवा खुमबहादुर थापाले बताए । ‘धर्मावतीको भेडाबारी निकै पछाडि परेको बस्ती हो,’ उनले भने, ‘स्थानीय सरकारले यसलाई अन्यजस्तै बनाउन पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ तर त्यसो गरेको पाइँदैन ।’


भेडाबारीमा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता न्यूनतम मानवीय आवश्यकता समेत पूरा नभएको थापाले बताए । ‘भेडाबारी नगरपालिकाकै पिछडिएको बस्ती हो,’ वडाध्यक्ष लीलाबहादुर केसीले भने, ‘स्थानीयलाई अगाडि बढाउन नगर कार्यपालिकाको ध्यान पुग्नुपर्छ ।’ वडाबाट भेडाबारीलाई प्राथमिकता दिएर अगाडि बढाउन लागिपरेको केसीले बताए । ‘धेरै घर खरले छाएका छन्,’ उनले भने, ‘आगलागी हुँदा निकै डर हुन्छ । अझै दमकल जाने बाटो बनेको छैन ।’


उनले हालै अगलागी भएका भेडाबारीका तीन घरलाई जस्तापाताले छाउनका लागि २५/२५ हजार रुपैयाँ दिएको बताए । ‘तीन वर्षभित्रमा नगरका खरका छानालाई जस्तामा बदल्ने भनेका छौं,’ उनले भने, ‘घर त जस्तामा बदलिएला तर उनीहरूको जीवन बदल्न धेरै वर्ष कुर्नुपर्छ ।’


प्रकाशित : माघ २, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?