कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पार्क बनाउँदै प्रदेश सरकार

अमृता अनमोल

बुटवल — वातावरण संरक्षण र शैक्षिक अध्ययनलाई जोडेर प्रदेश सरकारले १३ वटा पार्क निर्माणको तयारी थालेको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले कोलाहल र व्यस्त जीवनबाट फुर्सदको समय सही ठाउँमा व्यवस्थापन गराउन र पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन पार्क निर्माणलाई प्राथमिकता दिएको बताए । ‘क्षेत्र र भौगोलिक अवस्था हेरेर फरक–फरक प्रकृतिका पार्क निर्माण गर्दैछौं,’ उनले भने, ‘यी पार्क सौन्दर्य बढाउन, पर्यटन प्रवद्र्धन गर्न, शैक्षिक अध्ययन गराउन र वातावरण संरक्षण गर्न महत्त्वपूर्ण हुनेछन् ।’


चालु आवमा पर्यटन क्षेत्रका लागि मन्त्रालयले १७ करोड ३० लाख रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । त्यसमा जुलोजिकल पार्कदेखि बोटानिकल गार्डेनसम्म बनाउने योजना छ । रूपन्देही, दाङ र बाँकेमा बोटानिकल गार्डेन र पाल्पामा इको पार्क बन्नेछन् । त्यसका लागि १० लाखदेखि २ करोड रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । २ करोड लागतका ८ पार्क निर्माण हुनेछन् । मुख्यमन्त्रीको गृहजिल्ला दाङमा ७ पार्क बन्दैछन् । प्रतिपार्क २ करोड लागतका ५ पार्क छन् । रूपन्देहीमा २ र बाँकेमा एक पार्कका लागि पनि २ करोड रकम विनियोजन गरिएको छ ।


पाल्पा र रूपन्देहीको सिमानामा रामापिथेकस जुलोजिकल पार्क निर्माण गर्दैछ । उक्त क्षेत्रको पूर्वाधार विकासका लागि भन्दै थप ३० लाख रकम विनियोजन गरिएको छ । ‘यसले सिद्धबाबा क्षेत्रमा तराईको प्रचण्ड गर्मी छल्न आउने मात्रै होइन, वनस्पति, जलचर, पत्रे चट्टानलगायतको अध्ययन गर्ने पर्यटकलाई समेत तान्न सकिनेछ,’ मन्त्री गिरीले भने, ‘यसले रामापिथेकस, सिद्धबाबा मन्दिरलगायतको महत्त्व पनि अझ बढ्नेछ ।’ लुम्बिनी आउने बाह्य पर्यटकलाई पनि रोक्न सकियोस् भन्ने यो पार्कको दीर्घकालीन लक्ष्य हो ।


तिलोत्तमामा रहेको वनबाटिकामा बोटानिकल गार्डेन र पूर्वाधार विकासका लागि २ करोड बजेट छुटयाइएको छ । सामुदायिक वन क्षेत्रमा रहेको यो क्षेत्रलाई नमुना बाटिका बनाउन बोटानिकल गार्डेन बनाउने मन्त्री गिरीले बताए । बाँकेमा पनि यसै वर्ष मानसरोवरको प्रतिकात्मक स्थलसहित २ करोडको लागतमा बोटानिकल गार्डेन बन्नेछ ।


मानसरोवरको महत्त्व बढ्दै गएकाले त्यसको प्रतिकात्मक चिह्नलाई मान्यता दिइएको हो । चालु आवमा दाङको तुलसीपुर र घोराहीमा बहुउद्देश्यीय बोटानिकल गार्डेन निर्माण हुनेछ । दाङको दंगीशरणमा थारू कल्चर भिलेज तथा पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक निर्माण, बाह्रकुने दहमा बहुउद्देश्यीय पार्कका लागि बजेट छुटयाइएको छ ।


पाल्पाको मुख्य पर्यटकीय क्षेत्रमध्येको रानीमहलमा इको पार्क बन्नेछ । यसका लागि चालु आर्थिक वर्षमा २० लाख रकम विनियोजन भएको छ । पाल्पाकै सहिद चुनमाया पार्कको गुरुयोजना बनाउन १० लाख, बर्दियामा सतखलुवा तालछेउमा पार्क, पिकनिक स्पट र भ्यु–टावर निर्माणका लागि १०, दाङको बिजुवार क्षेत्रमा पार्क र पिकनिक स्पट निर्माणमा ५० लाख र श्रीकृष्ण मन्दिर धार्मिक वन क्षेत्र उद्यानका लागि २० लाख रुपैयाँ बजेट छ ।


रामापिथेकस वनस्पति उद्यानका सचिव लकुश श्रेष्ठले वन वातावरण जोगाउँदै पर्यटक प्रवद्र्धन गर्न प्रदेश सरकारले थालेको पार्क निर्माण योजना निकै महत्त्वपूर्ण भएको बताए ।

प्रकाशित : माघ ३, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?