प्याराग्लाइडिङको सफल उडान

पाल्पा — रामपुर नगरपालिका क्षेत्रमा सोमबार साहसिक खेल प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । यससँगै मुलुकका सय गन्तव्य स्थलमा परेको रामपुर तालपोखरा क्षेत्रका लागि महत्त्वपूर्ण अवसर साबित भएको छ । मंगलबार र बुधबार पनि यसको सफल उडान गरिएको छ । 

यसले पर्यटन विकासमा थप ऊर्जा मिल्ने रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए । ‘हामीले पहिलोपटक उडान गर्दा यसमा शंका–उपशंका गरेका थियौं,’ उनले भने, ‘परीक्षण उडान सफल भएकाले अब नियमितताका लागि पहल गर्नेछौं ।’


रामपुरमा जारी दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा प्याराग्लाइडिङ पनि समावेश गरिएको थियो । रामपुर उद्योग वाणिज्य संघ र रामपुर नगरपालिकाले प्याराग्लाइडिङको व्यवस्थापन गरेका हुन् । पोखरा र स्याङ्जाको भीरकोटबाट प्याराग्लाइडरहरू आएका थिए । उनीहरूले १६ वटा प्याराग्लाइडरबाट उडान गरेका हुन् । रामपुर उवासंघले प्लाराग्लाइडिङमा विश्वमै कीर्तिमान राख्न सफल सानोबाबु सुनुवारसमेतको टोलीलाई बोलाएको थियो ।


प्रशिक्षक सुनुवारसहितको टोलीले रामपुर नगरपालिका–७ को बाहुनडाँडादेखि किसानबारी खेलमैदानसम्म उडान भरेको थियो । यस्तै, पूर्वखोला गाउँपालिका–१ अन्तर्गतको सिलुवादेखि रामपुर नगरपालिका–५ को मटेरी ठूलोटारसम्म सफल उडान गरिएको थियो ।


मुलुकका विभिन्न स्थानमा उडान भरेका प्याराग्लाइडर मोहन सुनुवारले रामपुरमा फरक अनुभूति लिन पाएको बताए । ‘देशका धेरै स्थानमा मैले उडान भरेको छु,’ उनले भने, ‘यहाँ उडान भर्दा फरक अनुभूति लिन पाएँ ।’ उनका अनुसार यस्तो फरक प्रकारको अनुभूति अन्यत्र गर्न पाइएको थिएन । नागबेलीजस्तै बगेको कालीगण्डकी नदी र रामपुर फाँटका साथै हिमाल र पहाडको आनन्दले लोभ्याएको उनले बताए ।


परीक्षण उडानमा प्रशिक्षकहरूले दुई जना राखेका थिए । मेयर थापा आफैं पनि उडानमा सहभागी भए । कास्कीको सराङकोटमा उडान भर्ने ऋतु श्रेष्ठले यहाँ फरक खालको अनुभूति लिन पाएको बताइन् । ‘उडानका लागि सराङकोटमा उपयुक्त वातावरण छ,’ उनले भनिन्, ‘रामपुरमा उडान भर्न अप्ठ्यारो छैन ।’ उडाउने र बिसाउने स्थानको व्यवस्थापन गर्ने हो भने अत्यन्तै मनमोहक स्थल रहेको उनले सुनाइन् ।


अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सानोबाबु सुनुवारले पहिलो उडान र सफल परीक्षण भएको रामपुरलाई भुल्न नसक्ने बताए । ‘निकै रमणीय लाग्यो,’ उनले भने, ‘त्यसैले म कहिल्यै यो ठाउँ बिर्सने छैन ।’ प्याराग्लाइडिङको उडानबाट दोस्रो रामपुर महोत्सव चलेको स्थलमा पुष्पवृष्टि गर्दा दर्शक निकै खुसी भए । महोत्सव सुरुवातकै दिनमा परीक्षण उडान गर्ने घोषणा गरिएको थियो । प्राविधिक कारण पहिलो दिन उडान गर्न नसकिएको उवासंघका अध्यक्ष ढकालले बताए ।


भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न यो पनि एउटा थप आयाम भएको उनले बताए । रामपुरमा तराईको गर्मी छल्न र भारतीय पर्यटकलाई आकर्षित गर्न साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नुपर्ने स्थानीयको सुझाव छ । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउन पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान सफल भए पनि यसलाई व्यावसायिक बनाउनुपर्ने रामपुरका कृष्णकुमार अर्यालले बताए ।


आवश्यक टेन्डम (दुई जना बस्न मिल्ने) उडानको अनुमति लिएर काम सुरु गर्नुपर्ने उनको सुझाव छ । ‘तत्काल अनुमति लिएर प्याराग्लाइडिङ उडान हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया पुर्‍याउन जरुरी छ ।’ यसअघि पाल्पा एडभेन्चरले तानसेनको बतासेडाँडानजिकै वनदेवीतर्फ (सुकुम्बासी बस्ती) को डाँडाबाट व्यावसायिक उडान गर्ने अनुमति पाएको थियो ।

प्रकाशित : माघ ३, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?