कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : आकस्मिक बाहेकका सेवा ठप्प

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत कर्मचारीहरुले बिहीबारदेखि आकस्मिक र प्रसूति बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : आकस्मिक बाहेकका सेवा ठप्प

प्रतिष्ठान सुधारका साथै पेशागत सुरक्षाको मागसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरुले बुधबार प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका थिए । उक्त ताला अहिलेसम्म जारी छ । बिहिबारदेखि ओपिडी सेवा ठप्प पारिएको संघर्ष समितिका संयोजक हिमलाल गौतमले बताए ।


८ बुँदे माग राखी पटकपटक सुधारका लागि अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनले बताए । प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहिन कर्मचारीहरुको म्याद थप नगरी हटाउन खोजेको उनले बताए ।


आन्दोलनरत कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गरेर स्वास्थ्य सेवा अवरुद्ध गर्न खोजे पनि त्यसमा रोक लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र अवरुद्ध गर्न नमिल्ने भएकाले प्रहरी तैनाथ गरी तालाबन्दी गर्न रोकेको उनले जानकारी दिए । प्रहरीले अस्पतालमा तालाबन्दी गर्न नदिए पनि कर्मचारीहरु आन्दोलनमा उत्रिएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।


अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरुले साउनदेखि र सरकारी करार कर्मचारीले कार्तिकदेख तलब नपाएको प्रतिष्ठानका रजिष्ट्रार डा. रामप्रसाद प्याकुरेलले बताए । प्रतिष्ठानमा विकास समिति अन्तर्गतका ६२ कर्मचारी कार्यरत छन् । करार समय समाप्त भएका कर्मचारीलाई थप गर्न समस्या भएको उनले बताए । अस्पतालबाट प्रतिष्ठानमा हस्तान्तरण हुने क्रममा आर्थिक अख्तियारी पाउन समय लागेकाले तलव समयमै खुवाउन समस्या भएको प्याकुरेलले बताए । तलबका लागि लामो समयदेखि पहल गरेको र अब छिट्टै आउने सम्भावना रहेको उनले जानकारी दिए ।


असोज १२ मा राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि कर्मचारी पनि प्रतिष्ठान मातहत आएका थिए । सरकारले अस्पताल विकास समिति खारेज गरेपछि असारयता कर्मचारीको म्याद थप भएको थिएन ।


अस्पताल प्रतिष्ठानमा गाभिएपछि कर्मचारी व्यवस्थापन झनै समस्या भएको छ । २०७४ असोज २९ मा प्रतिष्ठान ऐन पारित भई काम शुरु भएको थियो । विभिन्न विवाद र अन्योलले प्रतिष्ठानको काम प्रभावकारी हुन सकेको छैन । यसअघि पनि कर्मचारीले आन्दोलन गर्दा स्वास्थ्य सेवा प्रभावित भएको थियो । तलब खुवाउने सहमतिपछि आन्दोलन स्थगित भए पनि फेरि समस्या बल्झिएको छ ।

प्रकाशित : माघ ३, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?