१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहाड चढ्न लिस्नो, डाँडैडाँडामा पदमार्ग

प्यूठान — लिस्नेभञ्ज्याङ क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणको काम सुरु भएको छ । प्राकृतिक दृश्यावलोकनका लागि नयाँ गन्तव्य मानिएको यस स्थानमा प्यूठान नगरपालिका र जिल्ला वन डिभिजन कार्यालयले पूर्वाधार निर्माणको काम थालेका हुन् । 

प्यूठान नगरपालिका–५ जुम्रीकाँढाको ठूलोगाउँदेखि लिस्नेभञ्ज्याङसम्म मोटरसाइकल गुड्ने गरी २ मिटर चौडा सडक निर्माण भइसकेको छ । लिस्नेमा पूर्वाधार निर्माणका लागि वडाले ५ लाख रुपैयाँ खर्च गर्न लागेको वडाध्यक्ष लछुमन भण्डारीले बताए । ‘विकासका पूर्वाधार नबन्दा आकर्षक गन्तव्य पनि ओझेलमा परेको थियो । अब यसको प्रचारप्रसार र पूर्वाधार निमार्णमा लागिपरेका छाैं,’ उनले भने, ‘रोल्पा र प्यूठानको ऐतिहासिक संगमस्थल लिस्नेभञ्ज्याङ नगरपालिकाको नयाँ गन्तव्य बन्दैछ ।’


लिस्नेभञ्ज्याङ क्षेत्र हुँदै स्वर्गद्वारी–गौमुखी पदमार्ग निर्माण हुन थालेकाले थप हौसला मिलेको वडाध्यक्ष भण्डारीले बताए । ‘प्यूठान उपत्यकाकै सबैभन्दा अग्लो ऐतिहासिक लिस्ने पहाड चढ्न अत्याधुनिक लिस्नो निर्माण गर्न नापजाँचमा आएका प्राविधिकलाई सुझाव दिएका छौं,’ उनले भने, ‘पहाड चढ्न बनाइएको लिस्नो हेर्न पर्यटक आउने छन् ।’


स्वर्गद्वारी–गौमुखी पदमार्गको सबैभन्दा आकर्षक गन्तव्य लिस्नेभञ्ज्याङ झुलेनी क्षेत्रमै रहेको उनले बताए । रोल्पा र प्यूठानको सिमानामा अग्लो डाँडाको घना जंगल हँुदै पदमार्ग निर्माण गर्न थालेकाले गर्मी समयमा शीतलताका लागि निकै उपयोगी हुने स्थानीयले बताए । लिस्नेभञ्ज्याङमा स्याउ बगैंचा निर्माण गर्दै गरेका किमबहादुर जीसीले पदमार्ग निर्माणले जुम्रीकाँढाको दुर्गम बस्ती चाञ्जावासी हौसिएको सुनाए । ‘डाँडामा बस्दा निकै पछाडि परियो भन्ने लागेको थियो,’ उनले भने, ‘यही डाँडामै जिल्लाका अग्रजको नजर परेको देख्दा खुसी छौं ।’


कुखुरेगौंडा, बह्रापाती, सेल्फीढुंगा, जौलेपोखरीलगायत पर्यटकका लागि आकर्षक गन्तव्य रहेको जिल्ला वन डिभिजन कार्यालय प्यूठानका प्रमुख अम्मिकाप्रसाद पौडेलले बताए । ‘पदमार्गको प्राविधिक टोलीले नापजाँच गरिसकेको छ,’ पौडेलले भने, ‘स्वर्गद्वारी नगरपालिकास्थित बेलवासको सालाबाङदेखि प्यूठान नगरपालिका–६ र नौबहिनी–८ को झुलेनीसम्म १३ किलोमिटर रहेछ ।’


यसपालि यस क्षेत्रमा पदमार्गका साथै पर्यटकीय पूर्वाधार निर्माणको काम हुने पौडेलले बताए । ‘५० लाख रुपैयाँ यसपालि खर्च गर्ने हामीलाई अख्तियारी आएको छ,’ उनले भने, ‘स्थानीय सरकारसँग सहकार्य गरेर आकर्षक पदमार्ग बनाउने योजना बनाएका छौं ।’ स्वर्गद्वारी–गौमुखी पदमार्गमा पूर्वाधार विकाससँगै जनताको आय आर्जन वृद्धि हुने सम्भावना रहेको पौडेलले बताए । पर्यटन बोर्डमार्फत गत वर्ष निर्माण भएको गौमुखी पदमार्गसँग जोड्ने लक्ष्य रहेको उनले सुनाए । ‘यसपालि झुलेनीसम्म काम गर्छौं,’ उनले भने, ‘अर्को वर्ष प्रदेश सरकारको सहयोगमा पदमार्ग पूरा हुनेछ ।’


लिस्नेभञ्ज्याङदेखि झुलेनीसम्म पदमार्गको प्रारम्भिक सर्भे गरिएको प्यूठान नगरपालिकाका सबइन्जिनियर दिनेश केसीले बताए । ‘महत्त्वपूर्ण स्थानमा पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रस्ताव गरेका छाैं,’ उनले भने, ‘पर्यटक हिँड्ने बाटो मात्र नभएर अन्य कुरालाई पनि ध्यान दिएका छौं ।’ पदमार्ग क्षेत्रको कुखुरेगौंडादेखि झुलेनीसम्म डाँडैडाँडा सडक निर्माण गर्न सकिने केसीले बताए ।


‘लालीगुराँस, काफल, वन्यजन्तुका साथै ऐतिहासिक स्थलहरू आन्तरिक पर्यटकका लागि निकै आकर्षक हुन सक्छन्,’ उनले भने, ‘प्राकृतिक दृश्यावलोकन गर्न सकिने क्षेत्रमै पदमार्ग निर्माण गर्न नापजाँच गरेका छौं ।’

प्रकाशित : माघ ४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?