कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सामूहिक लगानीमा जलविद्युत्

अमृता अनमोल

बुटवल — स्थानीयको सामूहिक लगानीमा सेती खोला जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । करिब ५ अर्ब रुपैयाँको लागतको २५ मेगावाट जलविद्युत् आयोजना आगामी ३ वर्षमा सक्ने लक्ष्य छ ।

बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न भिजन लुम्बिनी लिमिटेडका करिब १ हजार सदस्यले लगानी गरेका छन् ।


आयोजनामा सर्वसाधारणदेखि व्यवसायी संलग्न छन् । १ लाख २५ हजार तिरेर संस्थामा सदस्य भएका व्यक्तिलाई जलविद्युत्मा लगानी गर्न सक्ने नियम बनाएको अध्यक्ष जगतबहादुर पोखरेलले बताए । ‘व्यक्तिले मुनाफा कमाउने अवस्थाको अन्त्य गर्न सामूहिक लगानीमा जलविद्युत् आयोजना अगाडि बढाएका हौं,’ उनले भने, ‘छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गर्न पनि कसरत गरिरहेका छौं ।’


सहजताका लागि सुरुका दुई वर्ष ३०/३० प्रतिशत र अन्तिम वर्ष ४० प्रतिशत गरी ३ वर्षभित्रमा रकम जम्मा गर्न सक्ने बनाइएको छ । ‘यो बुटवलवासीको ड्रिम आयोजना हो,’ पोखरेलले भने, ‘सामान्य गृहिणीदेखि व्यवसायी तथा प्रशासले क्षमता अनुसारको लगानी गर्नुभएको छ ।’ आयोजनाको ३० प्रतिशत स्वपुँजी रहनेछ । ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना छ ।


जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को भराभुरी भन्ने स्थानमा छ । आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सबस्टेसनमा जोडिनेछ । आयोजनाको मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको थियो ।


त्यसमा उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदका ६ महिना प्रतियुनिट ८ रुपैया ४० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । ‘अहिले आयोजना निर्माणका लागि जग्गा किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ संस्थाका सञ्चालक तथा निर्माण संयोजक इन्जिनियर लेखनाथ पाण्डेले भने, ‘प्राविधिक काम पनि अगाडि बढेको छ ।’ आयोजनाले साउन १७ मा पोखराको माछापुच्छ्रे गाउँपालिकासँगै विद्युत् उत्पादनको सहकार्य सम्बन्धमा १४ बुँदे सहमति गरेको थियो । त्यसमा स्थानीयवासीलाई समेत सेयर दिइने उल्लेख छ ।


माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले सेती नदीलाई आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउने गरी आयोजना निर्माण सुरु हुनु स्थानीयको अहोभाग्य भएको बताए । ‘सामूहिक लगानीमा जलविद्युत् उत्पादन हुने र स्थानीय पनि सहभागी हुनुले हाम्रा लागि अवसर ल्याएको आभास भएको छ,’ उनले भने । लगानी अनुसारको प्रतिफल आउने भन्दै बुटवलका सर्वसाधारणसमेत जलविद्युत्मा लगानी गर्न उत्सुक देखिएका छन् ।


‘सामूहिक रूपमा लगानी गरेको पहिलो अभ्यास भएकाले होला सोध्न र बुझ्न आउनेको लर्को छ,’ कम्पनीका प्राविधिक इन्चार्ज रतनलाल अग्रवालले भने, ‘तर, एक हजारभन्दा धेरै व्यक्तिलाई संस्थागत सदस्य बनाउन सकिँदैन ।’ नागरिक ऊर्जा बुटवल कम्पनीले जलविद्युत्मा लगानी थालेको छ । यसले म्याग्दीको घारमा रहेको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु गरेको हो । अन्नपूर्ण गाउँपालिकामा पर्ने आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । अध्यक्ष होमबहादुर गलामीले म्याग्दी हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको आयोजनाको पूर्ण लगानी नागरिक ऊर्जा प्रालिको हुने बताए ।


गत वैशाखदेखि निर्माण सुरु भएको आयोजनामा अहिले धमाधम निर्माणको काम भएको छ । ०७७ सालसम्म निर्माण पूरा गरिसक्ने योजना रहेको छ । २ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लगानी हुने आयोजनामा स्थानीयले ५० हजारदेखि ५० लाख रुपैयाँसम्म लागानी गरेका छन् । आयोजनामा ७० प्रतिशत बैंकबाट र सेयरमार्फत ३० प्रतिशत लगानी गरिँदैछ ।


बुटवल पावर कम्पनी लिमेटेडले प्यूठानमा १६ मेगावाट जलविद्युत् उत्पादन गरेको थियो । यसबाट राम्रो आम्दानी गरेको छ । यो देखेर यहाँका व्यवसायी जलविद्युत्मा आकर्षित भएका हुन् । गुल्मीको रूरू हाइड्रो पावर कम्पनीमा पनि यहाँका व्यवसायीले व्यक्तिगत रूपमा लगानी गरेका थिए । आयोजनाबाट २ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।


त्यस्तै गुल्मीकै हुग्दीखोलाबाट साहस हाइड्रो प्रालिले पनि ५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । दुवै उत्पादन राष्ट्रिय प्रसारणमा जोडिएका छन् ।

प्रकाशित : माघ ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?