कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ढिक्री पकाउँदै माननीय

ठाकुरसिंह थारू

नेपालगन्ज — पाहुनाको स्वागतका लागि ढिक्री बन्दै थियो । माननीयहरूको एक टोली आइपुग्यो । उनीहरूले चामलको पिठोले विभिन्न आकारमा ढिक्री बनाउँदै गरेको नियाले र आफैं पनि ढिक्री बनाउन जुटे । थारू महिलाले ढिक्री बनाउने काइदा सिकाए । 

ढिक्री पकाउँदै माननीय

संघीय सांसदहरू तुलसा थापा, माया ज्ञवाली, बिना श्रेष्ठ, इन्दु शर्मा, बिना बुढाथोकी र विष्णु शर्मालगायत थारू महिलासँगै ढिक्री बनाउँदै रमाए । आफूले बनाउँदै गरेको ढिक्रीसँग फोटो खिचाए । केहीबेरमै ढिक्री तयार भयो ।


माघीको अवसरमा स्थानीयले त्यही ढिक्री, माछा र अचारले माननीयहरूको स्वागत गरे । ‘आफ्नो मौलिक परिकारले हामीलाई स्वागत गर्नुभएकामा धन्यवाद । थारू समुदायको संस्कृति उनीहरूको जनजीवनसँग जोडिएको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारसँग आवाज उठाउँछौं,’ माननीयको टोलीसहित मंगलबार पर्यटकीय क्षेत्र बढैयाताल गाउँपालिका–५ बढैयागाउँ आइपुगेकी संघीय सांसद तुलसा थापाले भनिन्, ‘यो ठाउँको विकासका लागि हामी विभिन्न समितिमा रहेका सांसदहरूका तर्फबाट प्रतिबद्धता जनाउँछु ।’


बर्दियाको पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि अध्ययन/अवलोकन गर्न काठमाडौंबाट १९ माननीय आएका हुन् । यसअघि उनीहरूले बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारा, डल्ला होमस्टे, बार बर्दियाको सतखुलवा होमस्टे, बाँसगढी नगरपालिकामा निर्माणाधीन केदारेश्वरनाथ धामको अध्ययन/अवलोकन गरेका थिए । ठाकुरद्वाराको अध्ययन/अवलोकलन टोलीमा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठको पनि सहभागिता थियो ।


अध्ययन/अवलोकनका लागि आएका माननीयलाई थारू समुदायका परिकार र संस्कृतिले स्वागत गरिएको थियो । डल्ला होमस्टेमा थारू संस्कृति झल्किने नाच हेरे । ‘३ दिनको अध्ययन/अवलोकनपछि थारू समुदायको संस्कृतिबारे बुझ्ने अवसर मिलेको छ । निकै लोकप्रिय परिकार ढिक्री बनाउन सिकियो,’ माननीयहरूका तर्फबाट बोल्दै थापाले भनिन्, ‘बर्दियाका थारू समुदाय वास्तवमै संस्कृतिका खानी रहेछन् । त्यससँगै प्राकृतिक रूपमा पनि उत्तिकै धनी रहेछन् । यसको प्रचारप्रसार हुन नसकेका कारण पछाडि परेको हो ।’


सांसदहरूले बर्दियाको सम्भावित पर्यटकीय क्षेत्र र थारू समुदायको संस्कृतिबारे पहिलोपल्ट साक्षात्कार गर्ने अवसर पाएको जनाए । बढैया पुगेका सबै सघीय सांसदले ढिक्रीको बयान गरे । अग्र्यानिक परिकार खान पाएकामा उनीहरूले खुसी जनाए । ‘सांस्कृतिक रूपले तपाँईहरूले गर्नुभएको सत्कारका लागि धन्यवाद । मौलिक संस्कृति जोगाउनुहोला,’ सांसद बिना बुढाथोकीले सुझाइन् ।


यस क्षेत्रकै ठूलो मानिने प्राकृतिक बढैयाताललाई पर्यटकीय क्षेत्र बनाउन स्थानीयले सुझाव दिए । उनीहरूले पर्यटकीय क्षेत्रको विकाससँगै थारू संस्कृतिको विकास सम्भव हुने बताए । ‘बढैयाताल एक सय बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यसको विकास हुन सक्यो भने थारू परिकारको बजारीकरण सम्भव छ,’ बढैयाताल संरक्षण समितिका अध्यक्ष प्रमोद चौधरीले भने, ‘माननीयहरूले सरकारसमक्ष यो कुरा पुर्‍याइदिनु पर्‍यो ।’


बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले सांसदको अध्ययन टोलीले बर्दियाको पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बर्दियाका सबै पर्यटकीय क्षेत्रबारे सांसदहरूलाई जानकारी दिएको बताए ।

प्रकाशित : माघ ४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?