कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

वरको रूखमुनि खटटटट

सिलाइ मेसिन बेलाबखत बिरामी पर्छ । पुर्जा खिया लागेर नचल्ने हुन्छन् । मेसिन निको पार्ने डाक्टर पनि आफैं हुन् । नयाँ किन्ने पैसा छैन । बनाउन लैजाने तागत छैन । मट्टीतेल खनाउँदै खिया पुच्छै गुजारा चलिरहेको छ ।
मधु शाही

बाँके — ठूलो वरको रूख । त्यसैको छायामुनि हाते मेसिन खट्ट्ट्ट खट्ट्ट्ट... बजिरहन्छ । झुत्रे ढाका टोपी, च्यातिएको पाइन्ट र थोत्रो स्वीटर लगाएका उनी हुन्, कुलबहादुर परियार । हाते मेसिन चलाएर दुई दशकदेखि उनले लुगा सिलाउँदै आएका छन् ।

वरको रूखमुनि खटटटट

कोहलपुर–११ को मूल सडकमै उनको खुला टेलरिङ चलेको छ । जहाँ उनी वरको रूखमुनि पलेटी कसेर हाते मेसिन घुमाउने गर्छन् ।

नयाँ लुगा सिलाउने बजारमा थुप्रै टेलर छन् । तिनले फाटेका पुराना लुगा सिउन मान्दैनन् । यस्ता ग्राहकका लागि कुलबहादुर उपयुक्त पात्र हुन् । ‘कस्तो अचम्म ? नयाँ लुगा सिउने रे, फाटेका/पुराना नसिउने,’ उनले भने, ‘म त्यस्तै अप्ठ्यारोमा परेकाको लुगा सिलाइदिन बसेको हुँ ।’


कुलबहादुरले खुला ट्रेलरिङ सञ्चालनबापत भाडा तिर्नु पर्दैन । त्यसैले ग्राहकसँग लिने पारिश्रमिक पनि अत्यन्त थोरै लिन्छन् । थोरै च्यातिएको लुगा सिलाएबापत मात्र १० रुपैयाँ ।


५५ वर्षीय उनले त्यत्तिकै पुरानो हाते मेसिन चलाउँदै आएका छन् । नामजस्तै कुल अर्थात् शान्त स्वभावका उनी च्यातिएको लुगा सिलाउन आउने ग्राहकसँग ठट्टा नगरी बस्न सक्दैनन् । ‘हैन, के गर्नु भाथ्यो र लुगै फाट्ने गरी,’ उनी ग्राहकसँग जिस्किन्छन्, ‘फेरि, तपाईंहरूले लुगा नच्याते मैले के सिउनु ।’


उनको अवस्था देख्दा धेरैले सडकछाप भन्ठान्छन् । किनभने, उनको पारा नै त्यस्तै छ । छेउमा दाउरा, पकाउने भाँडा र बोरा राखेका छन् । जाडो होस् कि गर्मी, कुलबहादुरको व्यापार, घरवास त्यही बरको रूखमुनि हो । उनी जस्तो देखिन्छन् त्यस्तो भने पटक्कै होइनन् ।


सुर्खेतबाट १५ वर्षअघि कोहलपुर झरेका उनले यतै गृहस्थी बसाले । छोराछोरी जन्माए, हुर्काए । हाते मेसिनकै भरमा उनले कोहलपुर ढकेरीमा ५ कट्ठा जमिन जोडे । २७ वर्षअघि १ हजार २ सय रुपैयाँमा किनेको उक्त जमिन अहिले लाखौं मूल्य बराबरको छ । कुलबहादुर खेती गरेर पनि खान सक्छन् । तर, उनको मन सिलाइमा अडिएको छ । १२ वर्षको कलिलै उमेरदेखि बाबुबाजेले सिउन सिकाए । हाते मेसिनमै उनको बानी बस्यो ।


कोहलपुरमा ९० घरमा बालिघरे सिलाउँथे । प्रतिस्पर्धा र आधुनिक सीपको विकाससँगै कुलबहादुर ढल्न सकेनन् । फेन्सी टेलरिङ खोल्न सकेनन् । फेसन डिजाइनरको दुनियाँमा भिज्न सकेनन् । त्यसैले उनी अझै पनि पुरानै हाते मेसिन र खुला सडकमा पुख्र्यौली पेसा जोगाउन बाध्य छन् ।


उनका दाइको फेन्सी टेलरिङ छ । ‘दाइ फेसन डिजाइनर बन्यो,’ उनले भने, ‘म दमाई नै रहें ।’ दमाई हुनुमा उनमा हीनताबोध छैन । उनी दु:खी छन् त जीवनभर साथ दिइरहेको बूढो मेसिनको मर्मत गर्न नसक्दा । ४० वर्षअघि ५ सय रुपैयाँमा खरिद गरेको हाते मेसिन उनी अझै चलाउँछन् । श्रीमती बितेको एक दशक हुँदा पनि थोत्रो मेसिनले साथ दिइरहेको छ । त्यसैले मानव जीवनभन्दा निर्जीव वस्तुको भर पर्नु उचित ठान्छन् । ‘उसलाई त दैवले हर्‍यो । छोराछोरी आफ्नै दुनियाँमा रमाएका छन्,’ उनले भने, ‘पक्का साथी त यही मेसिन त रहिछ नि ।’


मेसिन बेलाबखत बिरामी पर्छ । पुर्जा खिया लागेर नचल्ने हुन्छन् । मेसिन निको पार्ने डाक्टर पनि उनी आफैं हुन् । नयाँ किन्ने पैसा छैन । बनाउन लैजाने तागत छैन । मट्टीतेल खनाउँदै खिया पुच्छदै गुजारा चलाइरहेका छन् ।


बाटोमा लुगा सिलाएको देखेर छोराछोरीले हत्ते नदेखाउन अनुरोध गर्दै ‘बुबा घर जाम’ भन्छन् । तर, कुलबहादुर पटक्कै घर बस्न चाहँदैनन् । आफूले सिकेको सीप सकुन्जेल देखाइरहने उनको विचार छ । ‘ग्राहकको काम समयमै पूरा गरिएन भने बेइमानी भइन्छ,’ उनले भने, ‘मलाई त यत्ति मात्रै चिन्ता छ ।’

प्रकाशित : माघ ५, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?