३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खर्च जुटाउन विद्यालयमै काम

बर्दिया — मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमुना माविका विद्यार्थीले अब आर्थिक अभावले बीचमै पढाइ छोड्नु पर्दैन । विद्यालयले ‘पढ्दै, सिक्दै र कमाउँदै’ अभियानअन्तर्गत १५ वर्षका लागि व्यावहारिक कृषि शिक्षा लागू गरेको छ । त्यसका लागि २० बिघा जग्गा भाडामा लिएको छ । 

उक्त विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि प्रतिघण्टा श्रमको मूल्य तोकेर एक सातामा कम्तीमा १५ घण्टा उक्त खेतमा काम गर्नुपर्ने अभियान सुरु गरेको हो । यसरी गरिएको श्रमबापत विद्यार्थीले वैशाखबाट रकम पाउने भएका छन् । विद्यालयले एक घण्टाको ७५ रुपैयाँ पारिश्रमिक तोकेको छ । अहिलेसम्म एक सयजना विद्यार्थीले नाम लेखाइसकेका छन् ।


स्थानीय र इजरायलबाट ११ महिने तालिम हासिल गरेका दक्ष व्यक्तिबाट विद्यार्थीलाई आधुनिक कृषि प्रविधिका माध्यमबाट शिक्षा दिने तयारी गरिएको छ । कृषि तथा पशुविज्ञको रायअनुसार उन्नत बीउबिजन तथा पशुपालनतिर जाने र आर्गानिक उत्पादनमा जोड दिने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए । ‘विद्यार्थीलाई आफ्नो र घरपरिवारको खर्च टार्न सहज हुने ठानेर यो अभियान ल्याएका हौं,’ उनले भने, ‘कृषि उद्योग गर्न चाहने विद्यार्थीका लागि जग्गा र ऋण सापटी उपलब्ध गराउनेछाैं ।’


स्थानीय जग्गाधनीको २० बिघा कृषि खेतका लागि वार्षिक ८ लाख भाडा बुझाउने सम्झौता गरिएको छ । विद्यालयले जग्गाधनीको खेतनजिक रहेको एउटा घर र माछापालनका लागि छुट्टै पोखरी वार्षिक १ लाख रुपैयाँ भाडा दिने गरी सम्झौता गरेको छ । कृषि कार्यका नयाँ आधुनिक प्रविधिबाट शिक्षण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीले बताए ।


‘यहाँ उत्पादित कृषि तथा पशुजन्य वस्तुलाई बजारसम्म पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘शैक्षिक उपलब्धि न्यून हुन नदिन अतिरिक्त कक्षा पनि सञ्चालन गरिनेछ ।’ ३ वर्षअघिसम्म यहाँ अध्ययनरत विद्यार्थीमध्ये २२ प्रतिशतले कामको खोजी र अन्य कारणले विद्यालय छाड्ने गरेकामा प्राविधिक शिक्षा लागू भएपछि यो क्रम न्यून भएको विद्यालयले जनाएको छ । विद्यालय छाड्नेमा धेरैजसो छात्र थिए ।


यहाँ प्राविधिक शिक्षा लागू भएपछि विद्यार्थीको संख्या पनि बढेको छ । नर्सरीदेखि १२ सम्म १ हजार ७ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । बर्दियालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट विद्यार्थी कृषि प्रविधिलगायत यहाँ अध्ययन हुने सिभिल ओभरसियर, अमिन, इलेक्ट्रिक विषयको शिक्षणका लागि आएका छन् । विद्यालयले दुईवटा छात्रावाससमेत सञ्चालनमा ल्याएको छ ।


कक्षा १२ की सरिता चौधरी इलेक्ट्रिक विषयमा प्रशिक्षण लिन निकै उत्साहका साथ लागिपरेकी छन् । मुक्त कमैयाकी छोरी सरिताले इलेक्ट्रिक विषयमा प्रशिक्षण लिएपछि वायरिङ र बिग्रिएका इलेक्ट्रिक सामान सहजै मर्मत गर्न सक्ने भएको बताइन् । किताबी ज्ञानका साथसाथै उनीहरूले प्रयोगात्मक शिक्षाबाट धेरै कुरा सिक्न पाएको बताए । शिक्षकले विद्यालय समय बिहान १० देखि ४ बजेसम्म उनीहरूलाई कक्षा र ल्याबमा सिकाइ तरिका, विधि र प्रयोगात्मक शिक्षा दिने गरेका छन् ।


विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत ३ वर्षे इलेक्ट्रिकतर्फ ४० जना विद्यार्थी रहेका छन् भने १८ महिने अमिन र सिभिल ओभरसियरमा २ सय ६२ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये कर्णाली प्रदेशका जुम्ला, कालीकोट, दैलेख, जाजरकोटलगायत सुदूर पश्चिमका मात्रै झन्डै १ सय ६० जना विद्यार्थी प्राविधिक शिक्षामा अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक पोखरेलले बताए । यस विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । मधुवन नगरपालिकाका ९ वडामा २९ सामुदायिक र १४ निजी विद्यालय छन् ।

प्रकाशित : माघ ५, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?