घरेलु उत्पादनमा आकर्षण

माधव अर्याल

पाल्पा — जिल्लाको पूर्वी रामपुरमा सञ्चालन भइरहेको महोत्सव तथा व्यापार मेलामा घरेलु उत्पादन र किसानका स्टलमा आगन्तुकको आकर्षण देखिएको छ । किसानले उत्पादन गरेका सामग्री र स्थानीय उत्पादनको प्रचारप्रसार हुने विश्वास छ ।

घरेलु उत्पादनमा आकर्षण

तरकारी, गेडागुडीजन्य र अचार दर्शको रोजाइ बनेका हुन् । तामा, फलामका भाँडा किनमेल गर्नेको भीड लागेको गल्धाका शेरबहादुर सोतीले बताए ।


उनका अनुसार मित्याल, झिरूवास, सहलकोट, गल्धा क्षेत्रमा उत्पादन भएका तरकारी, गेडागुडी र अचारका परिकारमा दर्शकको आकर्षण बढेको छ । दर्शकको रोजाइमा यस्ता सामग्री परेको उनले सुनाए । तामा र फलामका भाँडाको बिक्री पनि उच्च छ । मित्याल र गल्धाको च्याउ, तरकारी, झिरूवासको अम्लिसो र गेडागुडीको किनमेल बढी भइरहेको छ । ‘यहाँ ल्याएका सामग्री बिक्रीमा समस्या छैन,’ उनले भने, ‘हाम्रो प्रचार पनि भइरहेकाले हौसला बढेको छ ।’


आयोजकले यस्ता सामग्रीका लागि स्टलसमेत नि:शुल्क उपलब्ध गराएका छन् । स्थानीयलाई उत्पादन बिक्री गर्न भ्याइ–नभ्याइ छ । सहलकोटबाट बिहान ल्याएको तरकारी बेलुकी सकिन्छ । मित्यालको सिताके च्याउ, कन्ये च्याउ पनि सबैको आकर्षणमा परेका छन् । ‘बेलुकीका तरकारी लैजाने थलोजस्तो बनेको छ,’ स्थानीय दुर्गा भण्डारीले भनिन् । कृषि उत्पादन राख्न चाहनेलाई नि:शुल्क स्टल प्रदान गरेकाले थपिने क्रम बढेको छ । पिँडालु, अदुवा, बेसार, सिमी, बोडी, गहत, फापर, कोदोको पिठो बिक्री उल्लेख्य छ । तामाका भाँडाको प्रचार र बिक्री बढेको व्यवसायी दुर्गाप्रसाद पोखरेल बताउँछन् । उनका अनुसार रामपुरमा उत्पादित तामाको प्रचार राम्रै भएको छ ।


महोत्सवमा ३ सयभन्दा बढी स्टल छन् । विभिन्न खानाका परिकार, विभिन्न जातजाति र समुदायका पेसा व्यवसायको पहिचान झल्काइने गरी स्टल राखिएको छ । महोत्सवका अवसरमा पर्यटकीय क्षेत्र तालपोखरा जाने, डुंगा सयर गर्ने व्यवस्था मिलाइएको छ ।


घरेलु तथा साना उद्योग, लघु उद्यम, स्थानीय कृषि उत्पादन स्टलमा राखिएका छन् । कालीगण्डकी क्षेत्रको कृषि उत्पादनसँगै धार्मिक, ऐतिहासिक, पर्यटकीय हिसाबले महत्त्वपूर्ण र ओझेलमा परेका विभिन्न वस्तुको पहिचान महोत्सवमार्फत गराइएको उद्योग वाणिज्य संघले जनाएको छ ।


महोत्सवमा स्थानीय कृषि उत्पादनका साथै घरेलु सामग्री बिक्री वितरणमा प्राथमिकता दिइएको मेला आयोजक संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताउँछन् । उनका अनुसार महोत्सवमा स्थानीय उत्पादन र संस्कृतिले बढी प्राथमिकता पाएको छ । ‘स्थानीय उत्पादनको प्रवद्र्धनका साथै कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रचारप्रसार हो,’ उनले भने, ‘जसले गर्दा यस क्षेत्रका बासिन्दा बढीभन्दा बढी लाभान्वित हुन सकून् भन्ने नै हो ।’


माघ ८ सम्म चल्ने महोत्सवबाट हुने आम्दानीले यस क्षेत्रका बासिन्दालाई फाइदा पुग्नेगरी योजना निर्माण गरिने उनले बताए । ‘कृषि उत्पादनका साथै घरेलु सामग्री, पर्यटकीय क्षेत्रको पहिचानका लागि महोत्सव फलदायी बन्न सक्ने विश्वास लिएका छौं,’ उनले भने । महोत्सवमा दैनिक हुने सांस्कृतिक कार्यक्रममा दर्शक बढेका छन् । दैनिक ८० लाखभन्दा बढीको कारोबार भइरहेको आयोजकको भनाइ छ । सदरमुकाम तानसेनबाट ६५ किमि पूर्वको रामपुर नगरपालिकामा संघले दोस्रो महोत्सव आयोजना गरेको हो ।


मकर मेलामा पनि उस्तै

माघे संक्रान्तिको रूरू क्षेत्रमा लागेको ५ दिने मकर मेलामा पनि स्थानीय उत्पादन किनमेलमा दर्शकको घुँइचो बढेको छ । विगतका वर्षमा भन्दा यस वर्ष दर्शकको उल्लेख्य सहभागिता छ । पहिलो दिन खासै दर्शक नआए पनि दोस्रो दिनमा भने बढेका थिए । २ सयभन्दा बढी स्टल राखिएकाले किनमेल गर्नेको भीड बढेको हो ।


‘किनमेल गर्ने स्टलमा यस्तो भीड कहिल्यै देखेको थिइनँ,’ मेला भर्न गएका नारायण पोखरेलले भने, ‘अचम्मले भीड बढेको छ ।’ पाल्पा र गुल्मीतर्फ सांस्कृतिक कार्यक्रम छ भने दुवैतर्फ किनमेलका लािग यस वर्ष व्यवस्थित स्टल बनाइएको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रमा लाग्ने रिडी मेलामा हातैले बुनेका घरेलु सामग्रीको व्यापारमा पनि वृद्धि भएको छ ।


अघिल्लो वर्ष व्यापार कमी भएको बताउने व्यापारीहरू यस वर्ष खुसी भएका छन् । ‘२० वर्षदेखि लगातार आएको छ,’ राडी–पाखी तथा घाँजी बिक्री गर्ने दलजित पुनले भने, ‘यस वर्ष पहिलाभन्दा बढी व्यापार भएको छ ।’ फेन्सी सामानहरू किनमेल गर्नेको पनि भीड नै छ । डोको, डाला, काँगियो बिक्रीमा पनि विगतका वर्षमा भन्दा बढी भीड छ ।


राडी, पाखी, कम्बललगायतका उनीका सामग्रीको मूल्य बढेको छ । रुकुम, जुम्ला, मुस्ताङलगायत हिमाली भेकमा भेडाको उनबाट बुनेका सामग्री ल्याउने गर्छन् । पाल्पाको बल्ढेङगढी, बागलुङका विभिन्न स्थानबाट बाँसका सामग्री बिक्री गर्न ल्याएका छन् । राडी, पाखी, काम्ला, तथा बाँसका सुपा, डाली, सोली, ओखरको घाँजी, गुड र कन्दमूलहरूको व्यापार गर्ने थलोका रूपमा रिडी मेलालाई चिनिन्छ । हातैले बुन्ने सामग्री पुराना पुस्ताले मन पराउने गर्छन् ।


ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका सदस्य परशुराम भट्टराईले परम्परागत सामग्री बिक्री वितरण गर्ने थलोका रूपमा रिडी मेलालाई चिनिने बताए । ‘अहिले पनि त्यस्ता सामग्री किन्नेहरूको कमी छैन,’ उनले भने ।

प्रकाशित : माघ ५, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?