१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यज्ञबाट रकम जुटाइँदै

माधव अर्याल

पाल्पा — सदरमुकामनजिकको बगनासकाली गाउँपालिकामा ९ वडा मध्ये कुनमौ पनि अहिलेसम्म प्राविधिक शिक्षालय छैनन् ।

स्थानीय चन्द्र माध्यमिक विद्यालय, चापपानीको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ लगाइएको छ । माघ २ गतेबाट सुरु महायज्ञ ८ गतेसम्म चल्नेछ ।


श्रीमद्भागवत् सप्ताह विराट ज्ञान महायज्ञ चलिरहेको विद्यालयमा ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्ने आश्वासन पाइसकेका छन् । ८ गतेसम्म करोडभन्दा बढी संकलन हुने विश्वास आयोजकको छ । ‘आश्वासन मात्र होइन, हामीले बोलेको रकम उठाउने छौं,’ महायज्ञ मूल आयोजक समितिका संयोजक यमलाल तिमिल्सेनाले भने, ‘गाउँमा प्राविधिक शिक्षा सञ्चालन गर्नमा सबैको सहयोग रहन्छ भन्नेमा विश्वस्त छौं ।’


महायज्ञबाट बगनासकाली गाउँपालिकाभित्रकै पहिलो प्राविधिक शिक्षा सञ्चालन गर्ने उनले बताए । संयोजक तिमिल्सेनाका अनुसार कक्षा ९ बाट नै सिभिल इन्जिनियररिङ (सब ओभरसियर)को कक्षा सञ्चालन गर्ने योजना छ । महायज्ञबाट बढी रकम संकलन भयो भने बहुमुखी क्याम्पसको पनि सोच रहेको उनले बताए ।


‘भागवत्को माध्यमबाट कथा श्रवण गरी ज्ञान प्राप्त गर्ने अवसर र दान पुण्य गर्ने पनि माध्यम बनाइएको हो,’ उनले भने, ‘परिवर्तित समाजका आवश्यकता, समयको माग र राज्यको नीतिअनुसार शिक्षा प्रदान गर्ने हाम्रो संकल्प हो ।’


बगनासकाली क्षेत्रलाई प्राविधिक शिक्षालयका साथै बहुमुखी कलेजको रूपमा विकास गरी दक्ष जनशक्ति उत्पादन गर्ने सोच रहेको महायज्ञ आयोजक समितिका महासचिव कृष्ण भुसालले बताए । उनले प्राचीन कला र संस्कृतिको संरक्षण तथा आध्यात्मिक, नैतिक चेतनाको जागरण गर्ने उद्देश्यसहित महायज्ञ गरिएको बताए ।


उनीहरूले ३८ वटा उपसमिति बनाएर काम गरेका छन् । महायज्ञमार्फत अपेक्षा गरिएका सबै योजना पूरा हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए । महायज्ञको पहिलो दिन ५० लाखभन्दा बढी रकम संकलन हुने आश्वासन पाएकाले खुसी लागेको महायज्ञका कोषाध्यक्ष ठानेश्वर तिमिल्सेनाले बताए ।


महायज्ञको उद्घाटन गर्न पुगेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेयले आगामी वर्षको पूर्वाधार विकास कार्यक्रमको बजेटबाट ३५ लाख रुपैयाँ दिने घोषणा गरे । उनले व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।


विद्यालयमा प्राविधिक शिक्षाका लागि बगनासकाली गाउँपालिका–९, चापपानीले ११ लाख ११ हजार १ सय ११ दिने घोषणा गरेको छ । छिमेकी ६ नम्बर वडा यम्घाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आगामी आर्थिक वर्षको बजेटबाट विनियोजन गर्ने आश्वासन दिएको छ ।


महायज्ञमा बाल व्यास नारायण न्यौपानेले संगीतमय कथा प्रवचन दिएका छन् । प्रचारप्रसार उपसमितिका संयोजक यज्ञमूर्ति तिमिल्सेनाका अनुसार शनिबारसम्म ७० लाख रुपैयाँभन्दा बढी रकम संकलनको आश्वासन पाइसकिएको छ । ००७ सालमा प्रजातन्त्र आएपछि जिल्लाकै पहिलो विद्यालयका रूपमा चन्द्र मावि स्थापना भएको हो ।


जिल्लाकै पुरानो विद्यालयका रूपमा यसलाई लिइन्छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लीला अर्यालका अनुसार भौतिक पूर्वाधारका काम सकिएकाले अब शैक्षिक कार्यक्रममा जोड दिनुपर्ने बेला भएको बताए ।


तत्कालीन नायर सिंचास निवासी फत्तबहादुर कुँवरको प्रयासमा ००८ जेठ १३ बाट विद्यालय सुरु भएको हो । ००८ देखि पठनपाठन आरम्भ गरी ०१४ सालसम्म प्राथमिक तह सञ्चालन भएको थियो । ०३१/०३२ को शैक्षिक सत्रदेखि ०५३ सालसम्म निम्न माध्यमिक तहमा पठनपाठन भयो ।


०५३/०५४ को शैक्षिक सत्रबाट माध्यमिक तह सञ्चालनमा आएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सेनाका अनुसार विद्यालयले ०५५ सालमा पहिलोपटक एसएलसी परीक्षामा विद्यार्थी सहभागिता जनाएको हो ।


०६८ सालमा उच्च माविको स्वीकृति पाई व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन भइरहेको उनले बताए । ‘सूचना प्रविधिको विकाससँगै परिवर्तित समयअनुसार समाजको मागबमोजिम प्राविधिक शिक्षा सञ्चालनको प्रयासमा छौं,’ उनले भने, ‘यसका लागि थप आर्थिक सहयोग पनि महायज्ञबाट हुने अपेक्षा छ ।’


विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू अहिले राज्य सञ्चालनका हरेक महत्त्वपूर्ण ओहोदामा पुगेर सेवा गर्दै आएकाले पनि महायज्ञमा सफलता पाइने अपेक्षा रहेको उनले बताए । कक्षा १ बाटै विद्यालयले अंग्रेजी माध्यममा शिक्षा सञ्चालन गरेको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ (सब ओभरसियर) विषयमा पठनपाठन गर्ने संकल्प पूरा गरेरै छाडने उनले बताए ।

प्रकाशित : माघ ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?