कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

१८ वर्षदेखि बडघर खाली

‘मुलुकमा शान्ति स्थापना भएको १२ वर्ष बितिसक्दा पनि कसैले चासो नदिँदा बडघर चयनको प्रक्रिया अघि बढ्न सकेको छैन ।’
कमल पन्थी

बर्दिया — जिल्लाका अधिकांश थारू बस्तीमा माघ १ अर्थात् नयाँ वर्षमा बडघरको चयन भयो । तर, सदरमुकाम गुलरिया नगरपालिका–१०, थपुवामा भने १८ वर्षदेखि बडघर, चौकीदार, गुरुवालगायतको चयन हुन सकेको छैन ।

१८ वर्षदेखि बडघर खाली

बडघरको अभावमा उनको सम्पूर्ण काम वडाध्यक्षले गर्दै आएका छन् । ६७ वर्षीय पूर्वबडघर बद्दल थारूले तत्कालीन माओवादी विद्रोहको बेलादेखि त्रासले बडघरलगायतका प्रतिनिधि चयन हुन नसकेको बताए । ‘मुलुकमा शान्ति स्थापना भएको १२ वर्ष बितिसक्दा पनि कसैले चासो नदिँदा बडघर चयनको प्रक्रिया अघि बढ्न सकेको छैन,’ पूर्वबडघर रहेका उनले भने, ‘सबै घरमा नेता हुन थाले कसैले कसैको कुरा सुन्दैनन् ।’


‘१८ वर्षअघि माघको पहिलो साता बडघर, गुरुवा, चौकीदार, पुजारीलगायत प्रतिनिधि छान्दा गाउँमा भ्याइनभ्याइ हुन्थ्यो,’ स्थानीय रामकुमार थारूले बताए । अहिले बडघरलगायत जनप्रतिनिधि राख्ने चासो कसैले नदिएको उनको गुनासो छ । पुजारी र गुरुवा नहुँदा बाहिरी गाउँबाट बोलाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।


बडघर थारु समुदायका अगुवा भएका कारण उनको महत्त्वपूर्ण भूमिका हुन्छ । बडघरले गर्ने सबै कामको जिम्मा आफूले गर्नुपरेको वडाध्यक्ष वीरेन्द्र चौधरीले बताए । बडघरलगायत थारु परम्परा अनुसार माघ महिनामा चयन गरिने प्रतिनिधि छान्न नसक्दा कामको बोझ बढेको उनले सुनाए ।


गाउँमा छनोट हुने आफ्ना प्रतिनिधिको मुख्य मानिसलाई अगुवा भन्ने गर्छन् । गेरुवा गाउँपालिका–४ का छुदराम थारूले अगुवा जोकोहीले यो जिम्मेवारी वहन गर्ने आँट गर्न नसकेको बताए । ‘समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्नेले मात्र यो पद लिने गर्छन्,’ उनले भने, ‘एक वर्षका लागि गाउँमा प्रतिनिधि चयन गर्नुपर्छ ।’


सोही गाउँका चौकीदार पदमा जीतराम थारु निर्विरोध चयन भए । उनले गाउँमा गुरुवा, धामी, कुलापानी चौधरीलगायत पदमा इच्छुक उम्मेदवारको चयन गर्न एक थलोमा भेला हुन हाक हाल्दै हिँडेका छन् । उनी चौकीदार भएबापत गाउँबाट उठेको वार्षिक १८ क्विन्टल धान पारिश्रमिक पाउने गर्छन् ।


थारू समाजमा अगुवा प्रथा निकै पुरानो परम्परा हो । अगुवाबाहेक माघीमा पूजाआजा गर्ने पुजारी, कुलोपानी चौधरी, फलाम पिट्ने, चोकीदार, सुरहवा, धामी, दुलहा–दुलही बोक्ने र विवाह भोज आदिमा काम गर्ने व्यक्ति चयन हुने गरेका छन् ।


गाउँमा हुने विवाहमा दुलहा–दुलहीको घरमा पात टिप्ने, दाउरा खोज्ने, मासु काट्ने, पानी बोक्ने र जन्ती आएकालाई खुवाउने लगायतका सबै काम सित्तैमा गर्ने गरिन्छ । तर, खाना र जाँडको व्यवस्था भने विवाह हुने घरले बेहोर्ने गरेको बारबर्दिया–४ का फूलपाती थारूले बताए । ‘बडघर चुन्ने थारू परम्परा हो,’ उनले भने, ‘आफ्ना प्रतिनिधि चुन्न नसक्नु दु:खद् कुरा हो ।’


हरेक वर्ष माघे संक्रान्ति सकिएको साता दिन नबित्दै थारू समाजमा एक वर्षका लागि स्वयंसेवक गठन हुने गरेको बारबर्दिया–४ का जंगबहादुर थारूले बताए । यसलाई खोजनी प्रथा भनिन्छ । विभिन्न जिम्मेवार पदमा निर्विरोध हुन्छन् ।


यो प्रथा परम्परादेखि चल्दै आएकाले थारू संस्कृतिको पहिचान भएको मुक्त कमैया समाजका अध्यक्ष दु:खराम थारूले बताए । ‘गाउँमा पहिले बडघर प्रथा थियो,’ उनले भने, ‘अहिले त जिल्ला अध्यक्ष, गाउँ अध्यक्ष, क्षेत्रीय अध्यक्षलगायत पदमा बस्नेलाई पनि बडघर मान्न थालिएको छ ।’

प्रकाशित : माघ ६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?